के मुलुक सैनिक सर्वोच्चता तिर हो, कि राष्ट्रपति सक्रिय हुन्छन्?

डिसी नेपाल
२६ भदौ २०८२ ७:३३
4.3k
Shares

काठमाडौं। जेनजी युवाहरुको आन्दोलनले मुलुक अस्तव्यस्त भएको र पुरानो सत्ता बहिर्गन भएको केही दिन बितिसक्दा पनि नयाँ सरकार बन्ने प्रक्रिया अगाडि नबढ्दा मुलुकमा अन्यौल व्याप्त भएको छ।

वर्तमान संसद यथावत रहेको र वर्तमान संविधान बमोजिक नयाँ सरकार गठन गर्ने हो कि यो संविधान भन्दा बाहिर गएर नयाँ सरकार गठन गर्ने भन्ने विषयसमेत अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

जेनजी आनदोलनकारीहरुसहित हिजोका केही विपक्षीहरुसँग नेपाली सेनाले जंगी अड्डामा मै वार्ता गरेको विषयले भने मुलुक वर्तमान संविधान र संसद भन्दा बाहिर गएर अर्को सरकार बनाउने तयारीमा छ जस्तो देखिन्छ।

तर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यस बारेमा केही बोलेका छैनन् नत उनी कहाँ छन् भन्ने नै खुलेको छ। राष्ट्रपतिले संसद भंग गरेको र नयाँ सरकार बनेको घोाषणा कसले गर्ने? राष्ट्रपति पौडेले यही संविधान अन्तर्गत निर्वाचित भएकाले उनी यो सविधान भन्दा बाहरि गएर अर्को सरकार बनाउन तयार होलान्? भन्ने प्रश्न पेचिलो बनेको छ।

नयाँ सरकार गठनका विषयमा सेनाको सक्रियामा जंगी अड्डाभित्र वार्ता हुनुले अब के मुलुक सैनिक सर्वोच्चतातिर गएको हो? भन्ने प्रश्न खडा हुन्छ। यदि त्यस्तो हो भने जनतासम्म संगठन भएका कांग्रेस, एमाले र माओवादीलगायतका दललाई बाहिर राखेर नेताले सत्ता चलाउन सक्छ?वा उनीहरुको प्रतिरोधको सामना गर्न सक्छ? यो अझ गम्भीर प्रश्न हो। दलहर विस्तारै संगठित हुन थालिसकेका छन्।

यतिबेला जंगी अड्डा बाहिर आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै भीड लाग्न थालेको छ र सेनाले माइकिङ गर्दै समूहको नेताको नाम र फोन नम्बर छोडेर जान भनेको छ। यसले के संकेत गर्छ?

सेनाले बार्ताका लागि आह्वान गरेपनि जेनजीले कसको नेतृत्वमा वार्ता गर्ने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको छैन। कतिपयले राष्ट्रपति पौडेलले राजीनामा दिएको चर्चा पनि गरेका छन्। तर उनले राजीनामा दिएको वा नदिएको विषयले पनि अन्यौलता सृजना गरेको छ। यदि राष्ट्रपतिले राजीनामा नै दिएको हो भने उपराष्ट्रपति सक्रिय हुनुपर्ने हो। अहिले त्यस्तो अवस्था पनि छैन।

नेपाली सेनाले जेनजीसँगको सहमतिमा प्रतिनिधिसभा सदस्यबाहेकका व्यक्तिलाई प्रधानमन्त्री बनाउने सहमति गरे पनि संविधानतः राष्ट्रपति रामचन्द्र पौडेलले नै नियुक्त गर्नुपर्छ। सहमतिका नाममा राष्ट्रपतिले सेनामार्फत प्रस्तावित व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरेको अवस्थामा यो गैरकानुनी हुनेछ भने पौडेलले समेत यो प्रस्ताव अस्वीकार गर्नेछन्।

जेनजीको भावना र सेनाको समन्वयअनुसार प्रतिनिधिसभाका सदस्यबाहेकका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नेपालको संविधान खारेज वा संशोधन गरेको अवस्था हुनुपर्छ भने प्रतिनिधिसभा विघटन गरेको अवस्था हुनुपर्छ।

तर, यी दुवै विकल्प तत्काल सम्भव नभएका कारण जेनजी पुस्ताले ल्याएका नामलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न सल्लाह दिन नेपाली सेनालाई नैतिक र संवैधानिक संकट पर्नेछ भने यसरी आएको नामलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेर शपथग्रहण गराउन राष्ट्रपतिलाई संविधानले रोकेको छ।

यदि संविधान बाहिरको निकास खोज्न थालिएको हो भने अब कस्तो व्यवस्था हुने भन्ने पनि विवाद हुन सक्छ। अहिले आन्दोलनको नेतृत्व गरेको जेनजी मा नै कस्तो व्यवस्था हुने भन्नेमा विवाद देखिएको छ। जेनजीको एउटा समूहले वर्तमान संविधानभित्रैबाट निकास खोज्नुपर्ने भनेको छ भने अर्को समूहले नयाँ विकल्प खोज्नुपर्ने बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.