छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

डिसी नेपाल
२६ भदौ २०८२ १६:२३
1.9k
Shares

काठमाडौं । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन्। घर सँगै नजोडिए पनि आसपास नै छन्।

मंगलबार जेनजी आन्दोलनकारीहरूले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए। उनको घरमा तोडफोड र आगजनी गरे। मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरू बताउँछन्। उक्त घर जलिसक्दासम्म गर्भनर पौडेलको घर सुरक्षित थियो।

उनको घर जोगाउन छिमेकीहरूले अधिकतम प्रयास गरे। जब आन्दोलनकारी घरमा छिरे पौडेलको फोटो भेटाए अनि तोडफोडमा उत्रिए। धमाधम सामान निकालेर आगो लगाउन थालेको स्थानीयले बताए।

छिमेकीहरू भेला भएर ‘उहाँ सोझो र निष्ठावान हुनुहुन्छ। उहाँ भ्रष्ट होइन, छाडिदिनुहोस’ भन्दाभन्दै पनि आगो दन्काएको स्थानीय एक छिमेकीले भने।

उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्

उनले लेखेका छन्,‘यो चाहिँ मेरो भैसेपाटीको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी नौ वर्षकी छोरीलाई यो घर धेरै मनपर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौं। गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो।

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देविदेवताका मुर्ती, भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मनपर्ने कोठा पनि त्यहि थियो।

अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए। बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन।त्यो दिन हामि सबै ‘शरणार्थी’ भयौँ। किताब र कपडाहरु धेरै भएकोले ढिलोसम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरूले सुनाए।

धेरै साथीहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरूको बारेमा पढेँ। त्यसैले सबैलाई सूचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला? नयाँ सरकार बन्दै छ। कसैलाई मैले दु पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.