‘जेनजी’ आन्दोलनको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य : डा. कोइराला

डिसी नेपाल
२८ भदौ २०८२ ११:५७
808
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ’जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन्।

शनिबार विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्।

यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन्।

उनले एकपटक पुनः लोकतान्त्रिक इतिहासका योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्ने बताएका हुनु। विज्ञप्तिमार्फत उनले भने, ‘हामी चुक्यौं, हामीले समयको पदचाप बुझ्न सकेनौं। त्यसकै परिणाम दुई ठूला दल सत्ता बाहिरिन बाध्य भए। अब हामी युवाको चाहना र समाजको भावनालाई आत्मसात गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौं।’ नेताले नेपाली कांग्रेसका पुराना नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको संघर्ष र बलिदानलाई स्मरण गर्दै लोकतान्त्रिक समाजवादलाई पुनः सशक्त बनाउने प्रण पनि गरे।

विशेषगरी भाद्र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे उनले भावुक हुँदै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विपी विचार जलाउन सकिँदैन। कोइराला निवासको खरानीबीचबाट कांग्रेसको नवनिर्माणमा जुट्नेछौं।’

उनले दशैंपछि देशव्यापी बहस, छलफल र संगठनात्मक नविकरणको अभियान लिएर पार्टीभित्र नयाँ विचार, नेतृत्व र संगठन निर्माणमा लाग्ने घोषणा गर्दै पार्टीलाई ‘जनताको केन्द्रमा बस्ने कांग्रेस’ बनाउने संकल्प व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.