सुदूरपश्चिममा सोमबारदेखि सुपथ मूल्यका पसल सञ्चालन हुने

डिसी नेपाल
२९ भदौ २०८२ २३:१८
28
Shares

कञ्चनपुर । सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्नेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ भने साल्ट ट्रेडिङले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाका २८ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुने जानकारी दिए।

“हामीले सुपथ मूल्य पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउने छौँ,” उनले भने, “सेवाग्राहीले नजिकको सुपथ मूल्य पसलबाट सेवा लिन सक्नेछन्।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिदबिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ।

त्यसैगरी, बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र हुनेछन्। बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिदबिक्री केन्द्रबाट सञ्चालन हुनेछ। दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ। अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर र कमल बजार खरिदबिक्री केन्द्रबाट सञ्चालन हुनेछ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सुदूरपश्चिम कार्यालय प्रमुख तेजबहादुर कुँवरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने जानकारी दिए। उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो पाँच, तेल चिउरा, पीठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताए। डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.