मनसुन बर्हिगमनमा समय लाग्ने

डिसी नेपाल
२ असोज २०८२ २२:३४
236
Shares

काठमाडौं। नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन।

भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ। नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो। नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो।

मनसुन जारी रहेकाले आगामी दिन पनि वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ। यद्यपि, तुलनात्मक रुपमा मनसुन क्रमशः कमजोर हुँदै गइरहेको छ। मनसुन आज र भोलिभन्दा शनिबार कमजोर हुने महाशाखाको पूर्वानुमान छ। ठूलो वर्षाको सम्भावना नरहे पनि खण्डित रुपमा ४० मिलिमिटरसम्म वर्षा हुने जनाइएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेहो छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार असोज ३ गते देशभर साधरणतया बदली रही कोसी, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ४ गते कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी भू–भागमा साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावाकोसमेत प्रभाव रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.