महाधिवेशनपछि पनि नफर्किने गरी सबै पदाधिकारीले राजीनामा दिने जनार्दनको प्रस्ताव
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनको घोषणा प्रक्रियासँगै अध्यक्षलगायत दुईदेखि तीन दशकसम्म एउटै पदमा रहँदै आएका सबै पदाधिकारीले एकसाथ राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा लिखित धाराणा राख्दै उनले राजीनामा दिएका पदाधिकारीले आगामी महाधिवेशनको निर्वाचन प्रक्रियामा समेत भाग नलिने निर्णय गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले राष्ट्रियताको रक्षाको लागि जनताको समर्थनको कुरामा जनताको समर्थनको लागि पनि जनताले आवाज सुन्नेगरि जनतालाई अपिल गर्नसक्ने नयाँ अनुहारहरु अगाडि सार्नुपर्ने पनि मत राखेका छन्।
उनले भनेका छन्,‘अहिलेकै नेतृत्वमा गरिने अपिलहरु जनताबाट सुनिने अवस्था छैन, त्यसर्थ आ-आफ्नो कमीकमजोरीहरुप्रति आत्माआलोचित हुँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं र समग्र पूनर्गठनमा मद्दत पुर्याउँ । यसको अर्थ यो होइन कि अध्यक्ष प्रचण्डले गरेको योगदान र उहाँको टिमको भूमिकालाई नजरअन्दाज गरौं। अध्यक्ष प्रचण्डले जनयुद्धअगाडि गरेको सांगठानिक योगदान, जनयुद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्धपछिको योगदानलाई उच्च सम्मान गरौं । आज इतिहासले दिएको यही नै एउटा विकल्प हो।’ उनले माओवादी यतिवेला विघटितप्राय अवस्थामा रहेको टिप्पणी गरेका छन्।
प्रस्तावमा भनिएको छ, ‘यो परिस्थितिबाट पार्टीलाई फेरि नयाँ ढङ्गले गठन गरी हाम्रा अभिभारा र जनताका सपनाहरूलाई पूरा गर्ने जनयुद्धमा भएका त्याग र बलिदानहरूको स्मरण गर्दै सम्पूर्ण कमजोरीहरूलाई धोइ पखाली गर्ने गरी हाम्रो सोच दृष्टिकोण र भूमिकालाई आजको जनभावना आन्दोलनको माग र हाम्रा विगतका कमीहरू नदोहोरिने गरी पार्टीलाई नयाँ निर्माण गर्न जरुरी छ।’
नेतृत्व हस्तान्तरणबारे विगतमा नै माग गरेको भए पनि जेनजी आन्दोलनले ती कुरा सही साबित गरेको बताएका छन्।
प्रस्तावमा भनिएको छ, ‘अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक अवस्थाका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात् गर्नुपर्दछ। पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी पदाधिकारीबाट नभए स्थायी समितिबाट कार्यभार दिन डराउनु हुँदैन।’
उनले यसको अर्थ प्रचण्डले गरेको योगदानको नजरअन्दाज गरेको नहुने समेत उनको धारणा छ। ‘यसको अर्थ अध्यक्ष प्रचण्डले गरेको योगदान र टिमको भूमिकालाई नजरअन्दाज गर्नु होइन, अध्यक्ष प्रचण्डले जनयुद्ध अगाडि गरेका साङ्गठनिक योगदान, जनयुद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्धपछिको योगदानलाई उच्च सम्मान गरौँ,’ शर्माको भनाइ छ।

















डिसी नेपाल







Facebook Comment