मुख्यमन्त्री शाहले गरे गोदावरी नगरपालिकाको स्थलगत अनुगमन
धनगढी । दूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको स्थलगत अनुगमन गरेका छन्। आइतवार मुख्यमन्त्री शाहले क्षतिग्रस्त नगरपालिका भवनको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्याउन पहल गर्ने मुख्यमन्त्री शाहले बताएका छन्।
आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने बताएका हुन्।
मुख्यमन्त्री शाहले आन्दोलनबाट पुगेको क्षतिको मूल्याङ्कन गरी तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सङ्घ तथा प्रदेश सरकारले चासो जानुपर्ने बताए। जेन्जी आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाले ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले मुख्यमन्त्री शाहलाई आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नौ करोड ५३ लाखभन्दा बढीको भौतिक क्षति भएको जानकारी गराएका थिए। नगरपालिकाले यसपालीको बजेटबाट पुनर्निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको र स्थानीय तथा सहयोगी दाताबाट जिन्सी सामग्री र नगद सङ्कलनको काम पनि अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताए।







डिसी नेपाल







Facebook Comment