तीन सवारी ठोक्किँए, दुई जनाको मृत्यु

डिसी नेपाल
१५ असोज २०८२ १३:५३
1.5k
Shares

हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकल दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैयाहेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्किएको थियो।

दुर्घटनामा दुई वटा मोटरसाइकलमा सवार दुई परिवारका ६ जना घाइते भएका थिए। उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनाको निधन भएको थियो।

मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी छन्।

पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन्। कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन्। कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।

बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.