तीन सवारी ठोक्किँए, दुई जनाको मृत्यु
हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकल दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्किएको थियो।
दुर्घटनामा दुई वटा मोटरसाइकलमा सवार दुई परिवारका ६ जना घाइते भएका थिए। उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनाको निधन भएको थियो।
मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी छन्।
पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन्। कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन्। कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment