दशैंलाई सम्झँदा

कपिल लोहनी
१८ असोज २०८२ ७:२२
196
Shares

यसपालीको दशैंको शुरुवातभन्दा केही दिन अघि मात्र मुलुकमा विशाल राजनैतिक उथलपुथल भएर झण्डै ७६ जना युवाले शहादत प्राप्त गर्नुका साथै दर्जनौँ युवाहरू घाइते हुन पुगे भने कतिपय ज्यादै नै महत्वपूर्ण सरकारी तथा सार्वजनिक र न्याय तथा सुरक्षासँग सम्बन्धित भवनहरू र नीजि आवास, होटेल तथा सयौँ सवारी साधन समेत जलेर ध्वस्त हुन पुगे। एक प्रकारले मुलुकको अस्तित्व र जनताको सुरक्षामा नै ठूलो प्रश्न चिन्ह खडा हुन गयो।

प्रजातान्त्रिक मुलुकको संसद अगाडि सामाजिक सञ्जालको फुकुवाको स्वाभाविक माग तथा चरम भ्रष्टाचारको विरोध गर्दै स्कुले पोशाकमा उत्रेका विद्यार्थी जेनजी युवाहरू माथि अन्धाधुन्ध गोली चलाएपछि शुरू भएको आन्दोलनको भोलिपल्टसम्ममा नै मुलुक पुरै आगोको लप्कामा परिणत भएर धरासायी हुन पुग्यो।

यो सब कुरामा कस कसको संलग्नता थियो भन्ने कुरामा हामी नजाऔं, किनकी यो घटनाको जाँचबुझ गर्न एक छुट्टै उच्च स्तरीय आयोग गठन भएर काम पनि शुरु भइसकेको छ भने अर्को तर्फ धराशायी सरकारका निरंकुश प्रधानमन्त्रीले पुनः निर्लज्ज तवरले हुँकार्न शुरु गरिसकेको अवस्था छ।

उनकै निरंकुश र भ्रष्ट शासन शैलीको फलस्वरुप यो सब घटना घट्न पुगे पनि उनी र यो घटनाका दोषी कोही पनि पक्राउ नपर्नु एउटा ठूलो आश्चर्यको विषय बन्न गएको छ।

त्यतिका धेरै कलिला युवाहरूको मृत्यु हुँदा र सिंहदरवार र अन्य ऐतिहासिक तथा महत्वपूर्ण संरचना जलेर भष्म हुँदा पनि नेताहरूले यो बारेको सहानुभूतिको एक शब्द नबोल्नु र आफ्नै घर र पार्टी कार्यालयको मात्र सुर्ता गर्नुलाई पनि अनौठो रूपमा लिइएको छ।

यस्तो विषम् परिस्थितिको लगत्तै आएको नेपालीहरूको महान् चाड बडादशैंमा यसपाली अधिकांश नेपालीहरूको उत्साहमा ज्यादै कमी आएको छ। एक प्रकारले अधिकांश नेपालीहरू मानसिक ट्रमाबाट गुज्रिरहेका छन्।

तर पनि विश्वको जुनसुकै कुनामा बस्ने जुनसुकै धर्ममा विश्वास गर्ने मानिसले पनि आफ्नो धर्म र विश्वासमा बसेर जस्तो सुकै परिस्थितिमा पनि आफ्ना धार्मिक रीतिरिवाजको पालना गरि नै रहेका हुन्छन् र आउँदा दिनमा आफ्नो समुदाय र मुलुकको हित, शान्ति र समृद्धिको निम्ति इश्वरसँग प्रार्थना गरि नै रहेका हुन्छन्।

चाहे त्यो गाजाको युद्ध र नरसंहारको अवस्थामा होस् वा युक्रेनको युद्ध र ठूलो धनजनको क्षतिको अवस्था होस् वा वर्माको गृहयुद्ध वा नेपालको रक्तपातपूर्ण हालैको जनआन्दोलन नै किन नहोस्, त्यसको लगत्तै कुनै पनि धर्म विशेषको चाडवाड प¥यो भने सो चाडको माध्यमबाट नै शान्ति, सुशासन र समृद्धिको निम्ति पनि पूजा र आराधना गर्ने चलन विश्वभर नै छँदैछ।

तर नेपालमा एउटा अचम्मको परिपाटी के पनि छ भने, हामी अन्य विश्वले भन्दा जस्तोसुकै विषम् परिस्थितिलाई पनि अत्यन्त छिटो बिर्सेर नविन सामान्य अवस्था (न्यू नर्मल पना)मा फर्किन सक्दछौं। यसपालीको दशैं पर्व मनाउन पनि हामी निकै छिटो तयार भइहाल्यौँ।

राजा वीरेन्द्रको वंशनाश भएको त्यो कहाली लाग्दो जेठ महिना सकिएको केही महिना पछि आउने दशैंतिहार पर्व सो वर्ष हामी नेपालीले राष्ट्रिय शोकको कारण मनाउँदैनौं भन्ने कुरामा म विश्वस्त थिएँ, तर सो वर्षको सोह्र श्राद्ध सकिएको भोलिपल्टदेखि नै रेडियो र टेलिभिजनमा दशैंको मंगल धुन बज्न शुरु भइहाले भने खाद्य संस्थान र अन्य व्यापारीलाई भेडा-च्याङ्ग्रा, खसी-बोका, राँगा, कुखुरा र हाँसको जोहो गर्ने चटारो हुन थालेको पनि प्रत्यक्ष देखिन थालि हाल्यो।

एकजना अग्रज छिमेकीले मेरो घरमा आएर त्यतिबेला ‘कपिल बाबु, अब एउटा खसी ल्याएर सल्र्याप्प काटेर भाग लगाएर यसपालीको दशैं मनाउनु पर्छ र जुवा पनि मज्जाले खेल्नु पर्छ !’ भन्दा शुरुमा मैले ‘हाम्रा प्यारा राजा वीरेन्द्रको वंश विनास भएको केही महिना मात्र बितेको छ, यसरी यसपालीको पर्व मनाउनु हुन्छ र हामीले हजुर?’ भनेर भन्दा उहाँले ‘हुने कुरा भइसक्यो, अब आफ्नो रीतिरिवाज पनि तोड्नु हुन्छ र बाबु?’ भनेर मलाई हौस्याए पछि म बबुरो पनि उहाँको लहै लहैमा लागेर अन्य नेपाली जसै तत्काल दशैं मनाउन हौसिएको थिएँ।

यसपाली पनि हाम्रो समाजले निकै छिटो यस्तो पीडालाई बिर्सेर पर्व मनाउन आतुर भए पछि म पनि तयार त भएँ तर यसपाली मुलुकमा घटेको हत्या-हिंसा र काटमार तथा आगजनीलाई बिर्सन नसकेर धेरै नेपालीले जसरी नै मेरो परिवारले पनि ज्यादै सरल तवरले पूजाआजा सकेर नेपालमा अबका दिनमा शान्ति छाउने कामनाका साथै इश्वरसँग बरदान माग्यौं।

पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीले यसपाली सार्वजनिक टीका कार्यक्रम र मठमन्दिर जाने कामबाट टाढै रहेर राष्ट्रिय शोकको निकै हदसम्म पालना गरेको देखियो। यो निकै सह्राहनीय कार्य हो।

शिर्ष राजनैतिक नेताहरूको सार्वजनिक टीका कार्यक्रम बारे समाचार प्राप्त भएको छैन तर केही नेताका घरमा भने टीका कै बहानामा झोले र अवसरवादीहरूको भीड एकत्रित भयो नै होला।

सुरक्षाकर्मीहरूको दशैंमा हुने बडाभोजमा भने यस पटक निकै कटौती भएको कुरा सुन्नमा आएको थियो भने विभिन्न गणमा नगरी नहुने देवीको पूजाआजा र बली भने गरिएको थियो। तलेजु भवानीको मन्दिर वर्षको एक दिन महानवमीको दिनमा दर्शनार्थीहरूको निम्ति खुल्ने परम्परालाई यसपाली पनि निरन्तरता दिइएको थियो।

हामी युवा छँदा महानवमीको दिन हनुमानढोका क्षेत्रमा दशैंको चहलपहल हेर्न जाने गर्दथ्यौं। त्यहाँको कोत र विभिन्न देवीको मन्दिरमा राँगा, बोका र अन्य पशुपंक्षीको बली दिने प्रथा आजसम्म पनि छँदैछ। त्यतिबेला हामी निकै उत्साहका साथ त्यस्ता पशुबली हेर्न जाने गर्दथ्यौँ। पर्यटकहरूले त्यस्ता पशु बली हेर्ने भए पनि उनीहरूले त्यो कुरा पचाउन नसकेको उनको मुहारबाट नै प्रष्टिन्थ्यो।

एकातिर मुलुकमा यति ठूलो विपत्ति आएको बेला र अर्को तर्फ निरन्तर भारी वर्षाले गर्दा चाडवाड मनाउन आआफ्ना घर फर्कनेहरूलाई ठूलै सास्ती खेप्नु परेको थियो।

महान् चाडपर्वको पूर्व सन्ध्यामा घटेको राजनीतिक घटनाको कारण विदेशमा बस्ने थुप्रै नेपालीहरूको नेपाल आएर घरपरिवारसँग चाड मनाउने सपना चकनाचुर भएको थियो भने विदेशमा नै मनाइने दशैंको रमाइलो कार्यक्रमहरू पनि खल्लो हुन पुगेका थिए।

बिजयादशमीको टीका लगाउने दिन त मुलुकभर नै भारी वर्षा भएको अवस्था। आआफ्ना घरका टीका सकेर इष्टमित्र कहाँ आवत जावत गर्न पनि निकै कठिनाइको सामना गर्नु पर्ने अवस्था। यस्तै हिले दशैं विगतमा पनि यदाकदा हुने गर्दथ्यो। मेरो छ दशकको अनुभवमा तीन–चार पटक भारी वर्षाका कारण हिले दशैं मनाउनु परेको थियो।

घटस्थापनादेखि महानवमीसम्म हिन्दू धर्मावलम्वीहरू प्रत्येक दिन विभिन्न शक्तिपिठका साथै घर नजिकका देवीका मन्दिरमा दर्शन गर्न जाने गर्दछन् भने विजया दशमीको दिन जमरा र टीकाको साथमा दशैं मनाउने गर्दछन्।

नेपालको जनसंख्या बढ्नुको साथै जनसंख्याको आधारमा विभिन्न जातजाती र वर्णको समिकरणमा पनि व्यापक फेरबदल भएकोले दशैंतिहार र अन्य चाडपर्वमा पनि सबै थरी चलन र पूजाआजाका विधिहरू मिसिन पुगेका छन्। यसो हुनु एक प्रकारले राम्रो पनि हो।

जलवायु परिवर्तनले गर्दा हुनसक्छ, हिजोआज दशैं-तिहारको समयमा पनि निकै गर्मी महसुस हुन्छ। हामी साना छँदा दशैंको समयमा काठमाडौँमा निकै जाडो भइसकेको हुन्थ्यो।

उपत्यकाको पहाडि भागमा अवस्थित दक्षिणकाली तथा बज्रयोगिनीको मन्दिर जाँदा हामी बाक्लो ज्याकेट नै लगाएर जाने गर्दथ्यौँ। तर हिजोआज पातलो लुगा लगाउँदा पनि शरीर पसिनाले निथ्रुक्क हुने गर्दछ। उतिबेला घरघरमा फ्रिज नहुने समयमा पनि दशैंको मासु, तरकारी र मिठाइहरू धेरै दिनसम्म भान्सामा खुला राख्दा समेत बिग्रँदैनथे र तताउँदै खाँदा निकै स्वादिला हुन्थे।

हाम्रा बालापनको बेलामा नयाँ लुगा र जुत्ता लगाउन दशैं नै कुर्नुपर्ने हुन्थ्यो। हाम्री माताले जेठ महिनातिर इन्द्रचोकको हनुमान साहुको पसलबाट हामी सबै दाजुभाइ र दिदीलाई एकै प्रकारका कपडा खरिद गरेर डिल्लीबजारका डिल्लीराजको सिलाई गृहमा लगेर नाप दिनु पर्दथ्यो।

जेठमा सिलाउन दिएको कपडा भाद्रतिर मात्र तयार भएर आउँथ्यो। त्यसपछि एकफेर लगाएर ठीक भए नभएको जाँच गरेपछि त्यो लुगा हामीले लगाउन दशैं सम्मै कुर्नु पर्दथ्यो। लामो प्रतिक्षाको घडी पश्चात् दशैंमा हामी सबै दिदी, दाजुभाइ एकै प्रकारका कपडा र जुत्ता लगाएर मामाघर र अन्य नातेदार कहाँ टीका लगाउन जाने गर्दथ्यौँ।

रेडिमेड कपडाको चलन नभएको त्यो जमानामा नेपालको बजारमा निकै सिमित प्रकारका कपडाहरू मात्र पाइन्थे। पछि चीनबाट आयात गरेर नेशनल ट्रेडिङ लिमिटेडले ठूला तथा साना भुराले लगाउने विभिन्न प्रकारका रेडिमेड लुगा बजारमा ल्याए पछि मात्र कपडा सिलाएर लगाउने क्रम घट्दै गएको हो।

आजको दिनसम्म आउँदा त बजारमा विभिन्न मुलुकमा बनेका लुगाको बहार नै लाग्ने गरेको छ। तर अपसोचको कुरा के छ भने, नेपाल अभैm पनि आयातित कपडा र दैनिक आवश्यकीय सामानमा नै निर्भर गर्दछ।

त्यतिबेला दशैंमा टीका लगाउँदा पाइने दक्षिणाको ठूलो महत्व हुन्थ्यो। हामी केटाकेटीहरू त्यस्ता अधिकांश पैसा जम्मा गरेर खुत्रुक्केमा राख्ने गर्दथ्यौँ भने केही पैसाको भने चकलेट किनेर खाने र लङ्गुर बुर्जामा च्याँखे राख्ने पनि गर्दथ्यौँ।

डमरु बजाउने, चङ्गा उडाउने, मिठा मिठा घरायसी परिकार खाने, नयाँ लुगा र जुत्ता लगाउने, मामाघर तथा नातागोताको घरमा जाने, तास तथा अन्य सानातिना जुवा खेल्ने र गफिने काम नै त्यतिबेलाको दशैंका प्रमुख र रोचक कार्य हुने गर्दथे।

घरघरमा बोका, खसी र हाँस, कुखुरा ल्याएर काट्ने, पूजा गर्ने कार्यले गर्दा टोलछिमेकमा यस्ता पशुहरूको आवाज र क्रन्दन गुञ्जायमान हुन्थ्यो। तर पनि आज जस्तो हाम्रो मनमस्तिस्कमा ती निरीह पशुपंक्षी प्रति कुनै सहानुभूति रहँदैनथ्यो।

घरघरमा काटमार हुँदा हामी निकै खुशी साथ पशुपंक्षीको निर्मम बध हेरेर आनन्द लिन्थ्यौँ र तिनलाई खुइल्याएको र टुक्रा टुक्रा हुने गरी मासु काटिएको हेरेर आनन्द लिन्थ्यौ र लुछाचुँडी गरेर खाने गथ्र्यौं।

तर हिजो आज दशैंमा यसरी घरघरमा पशुपंक्षी ल्याएर काट्ने क्रममा निकै नै कमी आएको छ भने बोका-खसीको मासु (रेड मिट) खानेको संख्यामा पनि कमी आएको छ। कुखुराको मासु र माछा नै आजको सबैभन्दा बढी बिक्ने मांसाहारी खाना हुन पुगेको छ। बरु बङ्गु र राँगाको मासु जुनसुकै जातका पनि विशेष परिकार बन्न पुगेका छन्।

केही समय अघिसम्म घरघरमा दुध, दही, मही, स्क्वायस, सर्वत र अम्मलीहरूको निम्ति वियर, जाँड, रक्सी, निगार आदि दशैंतिहार र अन्य चाडवाडमा प्रमुख रूपमा उपभोग हुन्थे भने हिजोआज कोकजन्य पेय पदार्थ, चिया, कफी, बबल टी, वियर, रक्सी आदिको खपत बढेको छ।

युवाहरू माझ कफी संस्कृतिले जरो गाड्दै गएको छ। नेपालमा नै विश्व स्तरको अरेबिका कफीको उत्पादन हुनु र वरिस्टा (कफी बनाउने तालीमप्राप्त व्यक्ति) हरू ठूलो संख्यामा हुनुका साथै कफी बनाउने आधुनिक मेसिन सहितका कफीशप पनि मुलुकभर यत्रतत्र रहेकाले कफी पिउनेहरूको संख्या निकै बढेको छ। दक्षिण एशियामा नै पर्यटकहरूले भनेजस्तो कफी जताततै पिउन पाउने मुलुक नेपाल नै बन्न पुगेको छ।

हिजोआजका युवाहरू माझ दशैंतिहारमा पनि पुरातन शैलीका मासुका पकवान भन्दा मःमः, पिज्जा, चाउमिन, स्टिक पूmड, लाफिङ, डोसा, आइसक्रिम जस्ता परिकार लोकप्रिय भएका छन्। जुवातास भन्दा युवाहरू सांगितिक कार्यक्रम, नाचगान र सिनेमा तथा आपसी भेटघाटलाई नै धेरै प्राथमिकता दिने गर्दछन्।

बिजया दशमीको तेस्रो दिन यानी द्वादशीसम्ममा टीका लगाउने काम सकेर त्यसको भोलिपल्टदेखि आआफ्ना काममा फर्कन्छन् मानिसहरू। सरकारी बिदा पनि हिजोआज फूलपातीदेखि द्वादशीसम्म मात्र नै हुने गर्दछ। पहिले पहिले यस्तो बिदा कोजाग्रत पुर्णिमासम्म नै हुने गर्दथ्यो।

कोजाग्रत पुर्णिमाको दिन महालक्ष्मीको पूजा गरेर रातभर जाग्राम रहने र जुवा खेल्ने परम्परा आजसम्म पनि कायमै छ। नेपालका राष्ट्राध्यक्षले कोजाग्रत पुर्णिमाको दिन विभिन्न देवी र लक्ष्मीको मन्दिरमा दर्शन गर्ने पुरानै परम्परा छ।

नेपाल एक धार्मिक सहिष्णुता भएको मुलुक भएकोले यहाँका सबै बासिन्दाले सबै धर्मका चाडबाडलाई निकै मेलमिलापका साथ मनाउने गर्दछन्। हिन्दू, बौद्ध, मुस्लिम र क्रिश्चियन वा अन्य धर्मका प्रमुख चाडवाडमा एकसाथ घुलमिल हुनु र एक अर्कालाई वधाई दिनु हाम्रो विशेषता नै हो।

तर पछिल्लो समयमा केही संकुचित र विषाक्त विचार र सोच बोकेका घिन लाग्दा मानिसहरूले हाम्रो यो धार्मिक सहिष्णुतालाई भत्काउन अनेक प्रयास गरिरहेका छन्।

खासगरी विदेशीको लहैलहै र प्रलोभनमा लागेर आफ्ना पुर्खाको धर्म, मूल्य र मान्यतालाई लत्याएर धर्म परिवर्तन गरेका मध्येका केही असामाजिक तत्वले समाजमा घृणा तथा विकृति फैलाउने काममा आफ्नो समय, सोच र शक्तिको दुरुपयोग गरिरहेका छन्।

आफ्नो र सबै धर्मको सम्मान गर्न सक्नु नै आजको मुल आवश्यकता हो। किनकी सबै धर्मको एउटै लक्ष्य इश्वरको साधना गर्नु र अनुशासित जीवन बिताउनु हो। धर्महरू वाहन हुन् भने इश्वर गन्तव्य हो। यानी जुनसुकै धर्मरुपी सवारी साधनमा यात्रा गरे पनि पुग्ने भनिएको गन्तव्य एउटै हो।

-लेखक विकास अर्थशास्त्री एवम् एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.