जेन-जी अगुवाले चलाए केपी ओलीलाई गिरफ्तारी गर्न ‘ट्रेन्ड’
काठमाडौं। जेन-जी आन्दोलनका अगुवाहरूले सामाजिक सञ्जालमा ‘#ArrestKP’ अभियान चलाउँदै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गरेका छन्।
सोमबारदेखि फेसबुक र एक्स (ट्विटर) मा ‘एरेस्ट केपी ओली’ ह्यासट्याग ट्रेन्डिङ बनेको छ। अभियानमा सहभागी युवाहरूले सेप्टेम्बर ८ (भदौ २३-२४) का प्रदर्शनमा प्रहरी दमनका क्रममा भएको मृत्युका लागि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर गर्दै कारबाही माग गरेका छन्।
जेन-जी आन्दोलनको क्रममा दमन गर्दा सरकारको नेतृत्वमा एमाले अध्यक्ष ओली थिए भने गृह मन्त्रालयको कमाण्ड कांग्रेस नेता रमेश लेखकले सम्हालेका थिए।
भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाइएको छ।
अभियानको सुरुवात ‘हामी नेपाल’ नामक समूहका संस्थापक तथा जेन–जी नेता सुदन गुरुङले गरेका हुन्।
गुरुङले फेसबुकमा पोष्ट गरेको पोस्टरमा ओली र लेखकको तस्बिरसँगै ‘हत्यारा’ लेखिएको देखिन्छ।
उनले लेखेका छन्,“जेन-जी प्रदर्शनकारीमाथि भएको गोलीकाण्डको हिसाब दिनुपर्छ। सत्ता र शक्तिको दम्भले निर्दोष विद्यार्थीको ज्यान लिनेहरूलाई न्यायको कठघरामा उभ्याउनुपर्छ।”
गुरुङपछि जेन–जी अभियन्ता रक्षा बमले पनि सोही अभियानमा जोड दिँदै फेसबुकमा लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनैपर्छ।”
आयोगले ओली, लेखकसहित पाँच जनाको राहदानीसमेत रोक्का गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका छाड्नसमेत प्रशासनको अनुमति लिन भनिएको सार्वजनिक भएकाे छ।
जेनजीको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन्।







डिसी नेपाल








Yo Tukke Oli ,Shere, Rameshe, Arju, Pritibi Subba, Dipak Khadka, Bishnu Rijal, Bishnu Paudyal, Shankar Pohharel, Ishor Pokharel, Gagan Thapa, Mahesh Basnet ra annya thug haru lai turuntai arrest garnu ,why let them free ?