सम्झनाको फ्रेमभित्र ‘दुत्या’

सुभाष सङ्कल्प भण्डारी
६ कार्तिक २०८२ ९:३३
40
Shares

धनगढी बस्न लागेको पनि दुई दशकभन्दा बढी समय बितिसकेछ। यो भन्दा थोरै अर्थात् डेढ दशक समय जन्मभूमि गडसेरा बसियो। समयको परिमाण भन्दा पनि कालखण्डले बढी प्रभाव पार्दोरहेछ जिन्दगीको खुसीमा। अंकगणितीय हिसाबले जन्मभूमिमा थोरै समय बिताए पनि ती क्षणहरु अबिस्मरणीय छन्, लोभलाग्दा र यादगार।

जब जब धनगढीमा तिहारको चहलपहल सुरु हुन्छ, म आफ्नै बाल्यकालीन दुत्यालाई सम्झिन्छु। क्यालेन्डरमा तिहार लेखिएको मात्र पढ्थें, भन्नलाई दुत्य नै भन्थ्यौँ हामी। त्यही दुत्यका यादहरु अमिट भएर बसेका छन् मस्तिष्कको क्यानभासमा। र, त बेलाबखत उप्किन्छन् पत्र पत्र भएर। अनि पोखिन्छन् अक्षर भएर कि त फेसबुकका पेजहरुमा, कि त अनलाइन न्युजका पानाहरुमा।

तिहारको तयारी गर्दै गर्दा जब लाइट किन्न बजार पुग्छु तब दुत्यको तयारी स्वरुप झुरो फाड्दै गरेको यादहरु आँखा अगाडि झल्झली आउँछन्। त्यो किशोरवयमा खेलिएको देउसी भैलो आज पनि कानमा गुन्जिन्छ।

दशैं सक्किए लगत्तै दुत्याको माहोल सुरु हुन्थ्यो। बिद्यालय बिदा हुन्थ्यो। धान काट्ने, चुट्ने, सुकाउने, पराल बोक्ने, खेत खन्ने, डल्ला पिट्ने, गहुँ बुने लगायतका कामको चटारो गाउँमा बस्ने सबैलाई हुन्थ्यो। दुत्यसम्म लगभग खेतीकिसानीको काम सक्किसकेको हुन्थ्यो।

कहिलेकाहीँ मात्र थोरै बाँकी हुन्थ्यो। कामको चटारोकाबीच पनि चाडबाड आउनुको मजै बेग्लै हुन्थ्यो। शारीरिक थकान भएतापनि चाडबाडले न्यारै उत्साह र उमंग ल्याएको हुन्थ्यो सबैमा। हुने पनि खुशी हुन्थे, नहुने पनि खुशी। आत्मादेखि नै खुशी देखिन्थे सबैजना। अभावमा पनि रमाउने जो मौलिक शैली थियो गाउँमा।

आर्थिक हैसियत मापन गर्ने कुनै त्यस्तो सुचक थिएनन् त्यो बखत। सबै खेतीकिसानी गर्थे, सबैले गाइभैँसी पाल्थे गाउँमा। सबैका घर ढुङ्गामाटोले बनेका र कँयारले छाएका हुन्थे। सबैको भान्साबाट धुँवा पुत्पुताइरहेको हुन्थ्यो।

सबैका पैतला फुटेका देखिन्थे। कुनै पनि काजबार आउँदा सबैका घरमा निसौसे, माणा पाकेकै हुन्थे। हो, यस्तयस्तै कारणले गाउँलेहरुबीच त्यति धेरै असमानता देखिँदैन थियो।

चाडपर्व मनाउने आफ्नै मौलिक शैली र परम्परा हुन्थ्यो गाउँमा। न बिदेशी संस्कृतिको कपीपेस्ट थियो, न त पश्चिमा संस्कृतिको प्रभाव। जे थियो, अर्गानिक थियो। गाउँलेहरुबीच सरसहयोग गर्ने संस्कार र भावना अनि एकता अर्गानिक थियो। अरिमापरिमा गर्ने सहकार्यको संस्कार पुरानो थियो।

गोरसपात बाँडीचुँडी खाने परम्परा लोभलाग्दो थियो। हुनेले नहुनेलाई दिने चलन गर्बिलो थियो। यस्त यस्तै संस्कार र परम्परा अँगाल्दै आएको समाजमा जन्मिएँ र हुर्किएँ म पनि। त्यहीँको चालचलन र रीतिरिवाज मान्दै अघि बढेँ। जुन समाजमा जन्मेहुर्के, जहाँ मेरा बालापन र किशोर बयका महत्त्वपूर्ण आधारबर्सहरु बिते, आज ती पलहरु सम्झिरहेछु।

दशैं सक्किए लगत्तै हामी केटाकेटी दुत्यलाई पर्खेर बसिराखेका हुन्थ्यौं। पुर्णिमादेखि त्रयोदशीसम्मका तेह्र दिन हामीलाई धौ काट्नु हुन्थ्यो। सबैका घरमा क्यालेन्डर र पात्रो हुँदैनथ्यो। औंला भाची भाँची दिन गन्दै दुत्यलाई कुरेर बस्थ्यौं। रेडियो नेपालबाट बज्ने देउसी भैलोका संगीतले दुत्य आइसकेको महसुस गराउँथ्यो।

जब जब दुत्य नजिकिँदै जान्थ्यो, तब तब गाउँका हामी केटाकेटीको भेटघाट र ढुङ्गे बैठक बाक्लिदै जान्थे। दुत्यको सांस्कृतिक र सामाजिक महत्व हामीले बुझ्ने कुरै भएन त्यो बखत। न त कहीँँ कतै यस्ता विषयमा बहस नै हुन्थे। हामीलाई भैलो खेलेर कसरी बर्ता रुप्पे बनाउने भन्ने मात्र लोभ हुन्थ्यो। दुत्य लगत्तै सुरु हुने जाँतहरुको लागि आवश्यक खर्च जुटाउनु पनि त थियो। त्यसैले हामी देउसीभैलो खेल्ने समयतालिका र जिम्मेवारी बाँडफाँट गर्न भेट्थ्यौँ, छलफल गथ्र्यौँ।

कहिलेबाट देउसी खेल्ने? कति बजे बाट कति बजे सम्म खेल्ने? कुन कुन गाउँ जाने? कुन कुन घरमा झिक्क पैसा र चामल मिल्न सक्छ? अघिल्ला बर्षका अनुभवका आधारमा पूर्वानुमानसहित लक्ष्य निर्धारण गथ्र्यौँ। सुरक्षा चुनौतीका बारेमा बहस छेड्थ्यौं।

कुन कुन घरमा कुकुर छन्? कहाँको बाटो छोटो र सजिलो छ? उज्यालोको साधन के के छन्? कसले देउसी भट्याउने? कसले चामल छोड्ने र बोक्ने? दानदक्षिणाको हिसाबकिताब कसले राख्ने? उज्यालोको लागि झुरो र टर्चको ब्यवस्थापन कसले गर्ने? बाटो देखाउन अघि को लाग्ने? देउसीभैलो खेलेर संकलित रुपैयाँ पैसा के गर्ने? काँ खर्च गर्ने? भाग हाल्ने कि बनभोज जाने? यी र यस्तै प्रश्नहरुको गहन छलफल हुन्थ्यो। एउटा प्रजातान्त्रिक परिपाटीमा निर्णय लिइन्थ्यो र देउसी खेल्ने दिनको तिब्र प्रतीक्षामा हुन्थ्यौं।

यमपन्चकका पाँच दिनहरु मध्य पहिलो दिन त्रयोदशी, काग तिहार। हाम्रो देउसीभैँलोको यात्रा यहीँबाट सुरु हुन्थ्यो। पूर्वयोजना अनुसार आवश्यक तयारी र रणनितिका साथ देउसीभैंलो खेल्ने साथीहरुको समूह तोकिएको ठाउँमा जम्मा हुन्थ्यौं। एकजना टोलिनेता छानिएको हुन्थ्यो।

उसैको निर्देशन र सल्लाह अनुरुप टोली अघि बढ्थ्यो। युद्ध जित्न निस्किएको सिपाही जस्तो। आवश्यक हातहतियार र युद्ध रणनीति बनाएर निस्किएको सिपाही जस्तै हामीहरु पनि टोली नेताको पछि पछि हिड्थ्यौं।

अँध्यारो रात, घरको बन्धारीमा देखिने टिलपिल टिलपिल बत्ती। कुकुरको एकोहोरो भुकाइ। झुरोको मधुरो प्रकाशमा देउसीभैंलो खेल्दै अघि बढिरहेका भैलेरुहरुको खासखुस खासखुसको आवाज। सुनसान रातमा ढुङ्गामा ठोक्किँदै ओरालो झरिरहेको गाडको पानीबाट निस्किने ध्वनि।

झुरोको राँको समाएर टोलि नेता बाटो देखाउँदै अगाडि बढ्छ, त्यही प्रकाशको सहारामा पैतलालाई जमिनमा स्पर्श गराउँदै हामीहरु गन्तव्यमा लम्किरहन्छौं।

पूर्वयोजना अनुरुप नै देउसीभैलो खेल्दै हामी प्रत्येक घर घर पुग्छौं। बाटो छोट्याउन गहुँ छरेका गडामा बाटो बनाइ दिन्छौं। टुसा उम्रँदै गरेका तोरी कुल्चिँदै बाटो छोटो बनाइदिन्छौं। दुईचार गडा फट्टक हान्दै समय छोट्याइदिन्छौं। जसरी हुन्छ छोटो समयमा धेरै घर भ्याउनुपर्ने हुन्थ्यो। अझ भनाैं, दुत्यका पाँच दिनमा धेरै पैसा कमाउनु जो छ।

भन्न त भन्थ्यौं, हामी त्यसै आएका होइनौं, बलीराजाको हुकुमले गर्दा आएको। रित जनाउन, थिती बसाल्न आएको। देउसीभैंलो भट्याउँदा जे भने पनि हाम्रो एकमात्र उद्देश्य पैसा संकलन गर्नु हुन्थ्यो। त्यसको लागि न त निन लागि भन्थ्यौं, न त पटाइ भै।

न जाडी हुन्थी, न त लाग्थी भोक। भोक थियो त पैसा कमाउने। त्यसैले त राती अबेरसम्म पनि भैलो खेल्थ्यौं। टाढा टाठासम्म पुगिदिन्थ्यौँ भैली खेल्न। पुरै रात बिताइदिन्थ्यौँ भैलो खेलेर। न त डर लाग्थ्यो कुकुरको, न मान्थ्यौँ भुतको। न्यारै जोश थियो किशोरबयको। तडी थियो भोक र निद सहने।

आँट र हिम्मत थियो कुकुरसँग लड्न सक्ने, भुतसँग पनि भिड्न सक्ने। आत्मबिश्वास थियो पटाइ र जाडी खप्न सक्ने, उकाली र ओराली गर्न सक्ने। त्यसैले त अबेर रातसम्म पनि हिँडिरहेका हुन्थ्यौँ भैँलो खेल्न। किनकी पैसा कमाउनु थियो धेरै। दिउँसेडी जातमा मुमफली किन्नु थियो।

जिलेबी किन्नु थियो। अम्बा र सुन्तला किन्नु थियो। पक्की मिठाइ र पकौडा किन्नु थियो। धेरै त के पो किन्ने सपना हुन्थे र हामी केटाकेटीका? पचास रुपैयाँ गोजिमा हुने हो भने पेटभरी धित मरुन्जेल किनेर खान पुग्थ्यो। बस, त्यही पेटभरी आफूले चाहेको चिज किनेर खान पुग्ने पैसा मात्र चाहिएको त थियो।

धेरै पैसा र चामल जम्मा गर्ने लोभमा धेरै टाढा टाढासम्म पुगिसकेका हुन्थ्यौँ राति। कहिलेकाँही योजनाले फेल खान्थ्यो। कहिलेकाँही नेतृत्वले। कहिलेकाँही हाम्रो रणनीति असफल हुन्थ्यो, कहिलेकाँही हाम्रो लोभले असफल बनाउँथ्यो। बोकेको झुरो सकिन्थ्यो, आगो निभ्थ्यो। घर त फर्किनै पथ्र्यो।

अँध्यारोमा छामछुम गर्दै अन्समारले घर पुग्थ्यौं। कोहि लड्थ्यौँ, कोहि चिप्लिन्थ्यौँ। कसैलाई ठेस लाग्थ्यो त कसैलाई काँडा बिज्थ्यो। कसैलाई कुकुरदेखि डर लाग्थ्यो त कसैलाइ भुतदेखि। लक्ष्य र उद्देश्य समान भएतापनि समस्या र चुनौती भिन्न भिन्न थिए हामी बालभैँलेरुका। त्यसैमा त फेरि मजा आउँथ्यो। जिस्किन्थ्यौँ, जिस्क्याउँथ्यौ पनि। खेल्थ्यौँ र रमाउँथ्यौँ असाध्यै। कोही रिसाउँथ्यौ त कोही फकाउँथ्यौ पनि।

हामी केटाकेटी जस्तै जवान र प्रौढहरु पनि देउसी भैलो खेल्थे। जसलाई ‘बूढो भैलो’ भनिन्थ्यो। उहाँहरु संख्यामा धेरै हुनुहुन्थ्यो। बाजागाजा सहित रातभरी भैलो खेल्नुहुन्थ्यो। उज्यालोको लागि ग्यास र लालटिनहरु, टर्चहरु प्रशस्त हुन्थे। बाजागाजासहित भैँलो भट्याउँदा गाउँ नै थर्किन्थ्यो। बूढो भैलो हेर्न जयजात्कहरु रातभरी जागा बसिदिन्थे।

दुत्यको सबैभन्दा महत्वपूर्ण दिन भाइटीकाको दिन हुन्थ्यो। पर्भातै उठी गाड गएर हड धुन्थ्यौं। आमाले लाउनबाबर पकाउनुहुन्थ्यो। गाउँभरी सबैका घरमा लाउनबाबर, खजुरा पाक्थे। निसौसे र फौने माणा पाक्थे। बिहानैदेखि अलग्गै सान र मान हुन्थ्यो हाम्रो।

दशैंमा किनेका नयाँ लुगा लगाएर सजिन्थ्यौं भाइटिकाको लागि। टीकाको शुभसाँइतमा आँगनमा मट्टो माथि दन बिछ्याएर तयार हुन्थ्यौं। थालिभरी लाउनबाबर, केरा, सुन्तला राखेर दिदिहरु टीका र माला लगाउन बस्नुहुन्थ्यो। म आफूलाई खुबै भाग्यमानी सम्झन्थे।

टोक्करी फूलका मालाहरुले घाँटी भरिन्थ्यो। निर्वाचन जितेपछिको नेताको झल्को दिने माहोल बन्थ्यो केही पल। निधारभरी रातो टीका र अक्षता, घाँटिभरी टोक्करी फूलकी माला। खुब सुहाएको हुन्थ्यो। यदि त्यो बखत क्यामेरा भैदिएको भए आज ती पलहरु मेरा फोटो एल्बममा सजिएका हुन्थे।

न त क्यामेरा थिए, न त मोबाइल त्यो बखत। तथापि ती पलहरु मेरो मानसपटलको क्यानभासमा अहिले पनि ताजै छन, जिवितै छन्। तिनै बाल्यकालिन र किशोरकालिन दुत्यहरु सम्झेर अहिले पनि मन रोमान्चित हुन्छ, आनन्दित हुन्छ। कहिलेकाही सपनामै रमाउँछु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.