‘षड्यन्त्रकारीहरूलाई नछोड्ने’ मोदीको उद्घोष, लालकिल्ला तीन दिनका लागि बन्द

डिसी नेपाल
२५ कार्तिक २०८२ २२:४१
116
Shares

बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार साँझ दिल्लीमा भएको कार विस्फोटनबारे टिप्पणी गर्दै उक्त घटनामा संलग्न ‘षड्यन्त्रकारीहरूलाई नछोडिने’ बताएका छन्।

‘म यो घटनाको छानबिन गरिरहेका सबै निकायहरूसँग सम्पर्कमा थिएँ। हाम्रा निकायहरू यो षड्यन्त्रको जगमै पुग्ने छन्,’ भुटानमा उनले मंगलबार भने। मोदी दुईदिने भ्रमणका लागि मंगलबार भुटान गएका हुन्।

यद्यपि राजधानी दिल्लीको लालकिल्लानजिक भएको उक्त घटना कसरी भयो र कसले गरायो भन्ने विषयमा अहिलेसम्म सरकार वा त्यसका निकायबाट आधिकारिक टिप्पणी आइसकेको छैन।

उक्त घटनामा ८ जना ज्यान गएको अधिकारीहरूले बताएका छन् तर स्थानीय सञ्चारमाध्यमहरूले मारिनेको सङ्ख्या कम्तीमा १२ पुगेको उल्लेख गरेका छन्।

मृतकमध्ये छ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। ‘हामीले छवटा शवको पहिचान गरेका छौँ र पाँचवटा शवको पोस्टमोर्टम गरिएको छ,’ दिल्लीका प्रहरी अधिकारी राजा बान्ठियाले भने।

ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लालकिल्लामा दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न जान्छन्। उक्त स्थान तीन दिनका लागि बन्द गरिएको गरिएको भारतीय पुरातत्त्व विभागले जनाएको छ।

सोमवार रातिदेखि नै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मानिसहरूको भिडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ। भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.