पहिरो नियन्त्रण र विद्यालयको लागी बजेट व्यवस्थापन हुन्छः मुख्यमन्त्री शाह

डिसी नेपाल
६ मंसिर २०८२ १९:२८
32
Shares

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन्।

भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले आज पहिरोको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन्। साथै पहिरो नजिकै उच्च जोखममा रहेको लक्ष्मी माध्यामिक विद्यालयको लागी बजेट व्यवस्थापन गरिने बताएका हुन्।

पहिरोबाट प्रभावित स्थानीयवासीलाई राहत र सुरक्षित व्यवस्थापनको आश्वासन समेत दिएका छन्। जिल्लीको पहिरोमा पुगेर मुख्यमन्त्री शाहले भने, ‘अर्को वर्ष तपाईंहरू दुःख पाउनुहुन्न,पहिरो नियन्त्रण र विद्यालयमा बजेटको व्यवस्थापन हुन्छ।’

उनले आगामी वर्षदेखि पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने र प्रभावित विद्यालयको पुनर्निर्माण तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

पहिरोले मार्ताडी–कोल्टी सडक तथा नजिकै रहेको विद्यालयलाई जोखिममा रहेको हुँदा विद्यालयको पठनपाठन प्रभावित भएकाले तत्काल राहत तथा दीर्घकालीन समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको समेत बताएका हुन्।

मुख्यमन्त्री शाहलाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले पहिरो नियन्त्रणका स्थायी संरचना निर्माण र विद्यालय व्यवस्थापनका विषयमा सरकारबाट छिटो कदम चाल्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री शाहले आफू र प्रदेश सरकारको तर्फबाट समस्या समाधान गर्न कुनै कदम पछि नहट्ने कुरामा जोड दिए। बाजुराको लाईफ लाईनको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड बर्षेनि अबरुद्ध हुने गरेको छ।

मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली (दानचौर)मा विगत ५ वर्षदेखि ठुलो पहिरो बग्ने गरेको छ। जसका कारण मार्तडी–कोल्टी सडकखण्ड वर्षातमा पुर्ण रुपमा अवरुद्ध हुने गरेको छ। यता लक्ष्मी माध्यामिक विद्यालय पनि पहिरोको उच्च जोखिममा छ। मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.