सुन्दरताको घुम्टोभित्र लुकेको कैलाली
काठमाडौं । सुदूरपश्चिम प्राकृतिक सुन्दरताले सुशोभित छ। चाँदी झैँ टल्कने अपी र शैपाल सुदूरका सिरानी हुन्। कलकल बग्ने खोलानाला, झरझर झर्ने झरना, सुसेली हाल्दै बगिरहने सेती, महाकाली र कर्णाली, हराभरा वनजंगल, शुक्लाफाँटा राष्ट्रियनिकुञ्ज, चराको चिरविर प्रकृतिको छटाभित्र रहेका अनुपम दृश्य हुन्। फाग, चैत, धमारी, हुड्के, छलिया, देउडा, लक्ठौहा, मग्रहवा यहाँका सांस्कृतिक वैभव हुन्। खप्तड, चारबण्ड–अठार खण्ड, टिकापुर पार्क यहाँका पर्यकीय मनोरम गन्तव्य हुन्। हिमश्रृंखला, चुरे पर्वत, भावर क्षेत्र, तराईं गरेर यहाँ विविधतायुक्त हावापानी छ। शैलेश्वरी, बडिमालिका, त्रिपुरासुन्दरी, निङ्गलासैनी, उग्रतारा, केदार यहाँका धार्मिक धरोहर हुन्।
पर्यटकका लागि सुदूरका यी वैभवता ‘भर्जिन’ छन्। तर, पर्यटकीय सम्पदाले भरिपूर्ण हुँदा पनि सुदूर ओझेलमा छ। काठमाडौं, पोखरा, लुम्बिनी, जोमसोम, लुक्ला अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने भए पनि सुदूरपश्चिम पर्न सकेको छैन। पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्न नसकेको बेला बखतमा चर्चा हुने गर्छ। बाह्य पर्यटक ल्याउन र टिकाउन प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउन सकेको छैन। बाटोको असुविधा, बसोबासको उचित व्यवस्था नहुनु पनि पर्यटक आकर्षणका बाधक तत्व हुन्।
जिल्लागत रुपमै पर्यटकीय वैभवको चर्चा गर्दा कैलाली निकै सुन्दर छ। लहलह धान र गहुँ झुल्ने कैलाली कृषिप्रधान जिल्ला हो। पहाड, भावर, चुरे पर्वतीय श्रृंखला र तराईंको समथर भू–भाग यहाँका विशेषता हुन्। नेपालकै लामो कर्णाली नदी र त्यसमाथिको चिसापानी स्थित एक खम्बे पुल पश्चिमसँग जोड्ने सुदूरपश्चिम प्रवेशको मूल गेट हो। पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ। कर्णालीको निलो पानी, त्यहाँ बहिरने शीतल, पवन र प्रकृतिसँग रमाउँदै लिइने माछाको स्वाद अलौकिक हुन्छ। कर्णालीमा र्याफ्टिङको आनन्द पनि लिन सकिन्छ।
अर्को पर्यटकीय गन्तव्य हो, टीकापुरपार्क। कैलालीस्थित टिकापुर नगरपालिका निकै प्रख्यात छ। पाँच वर्ग विगाहमा फैलिएको टिकापुर पार्क त्यहाँको प्रख्यातिको कारक हो। स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप टिकापुरको रेखाङ्कन गरिएको छ। काठमाडौं–टीकापुरको दूरी ६९० किलोमिटर छ। पार्कमा ८४ प्रकारका गुलाबका फूल पाइन्छन्। नेपालकै दुर्लभ कालो जातको गुलाब टीकापुर पार्कमा मात्रै पाइन्छ। टीकापुर पार्क अवलोकनका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।
विक्रम संवत् २०२४ सालमा तत्कालिन राजा महेन्द्र शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा सिकार खेल्न जाँदा बाघको आक्रमणमा परेका थिए। त्यसपछि उनको होस गुम्यो। लगत्तै टीकापुर (हालको पार्क) मा वैद्य, वातावरणविद् र चिकित्सकले त्यस ठाउँको वातावरणबारे अध्ययन गर्दै राजालाई आराम अर्न सुझाएका थिए। त्यसपछि त्यहाँ महेन्द्र आरोग्य गृह बनाइएको थियो। महेन्द्रले उक्त आरोग्य गृहमा २७ दिन बिताएका थिए। राजा वीरेन्द्रले आफ्ना बुबाले आरोग्यता प्राप्त गरेको स्थानलाई ऐतिहासिक स्थलका रूपमा परिणत गरी टीकापुर पार्क निर्माण गर्न वि.सं २०२८ मा निर्देशन दिएका थिए। राजा वीरेन्द्रको निर्देशन पश्चात् घना जंगललाई कटानी गरी पार्क स्थापना गरिएको थियो।
कैलालीको अर्को पर्यटकीय गन्तव्य– राजकाँडा हो। जो सूर्योदयको दृश्यावलोकनका लागि निकै प्रख्यात छ। चिसापानीबाट ६ किलोमिटर र लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका–७ मा पर्छ राजकाँडा। त्यहाँबाट अपि र शैपाल हिमालको मनमोहक दृश्यको अवलोकनसमेत गर्न सकिन्छ।
पार्कमा चिरविर सुनिने चराको आवाज, चिसापानीबाट कर्णालीको छालसँगै सुसेली हाल्दै बहने पवनले पनि टिकापुर पार्कको शोभालाई सुशोभित तुल्याएको छ। टीकापुर पार्कमा पिकनिकका लागि भीड लाग्ने गर्दछ। टीकापुर विकास समितिले पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका थुप्रै पूर्वाधारहरू निर्माण गरेको छ। ती पनि पर्यटकका आकर्षणका केन्द्र हुन्।
कैलालीको अर्को पर्यटकीय गन्तव्य– राजकाँडा हो। जो सूर्योदयको दृश्यावलोकनका लागि निकै प्रख्यात छ। चिसापानीबाट ६ किलोमिटर र लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका–७ मा पर्छ राजकाँडा। त्यहाँबाट अपि र शैपाल हिमालको मनमोहक दृश्यको अवलोकनसमेत गर्न सकिन्छ। त्यहाँ मोटरेवल बाटोको पहुँच छ। हाइकिङ् गर्न चाहनेहरूका लागि पनि त्यो गन्तव्य निकै उपयुक्त स्थान हो। उकालो पैदलयात्रा गरेर राजकाँडाको चुचुरो चुम्दा बेग्लै आनन्द अनुभूति हुनेगर्छ। यहाँ पुग्ने कतिपय पर्यटक टेन्टमा त कतिपय (होमस्टे) घरबासमा बस्ने गर्दछन्। राजकाँडामा हिमालका चुचुरोसँगै हात्ती, ढुङ्गा, रानीकुवा, धुलीकोट दरबार, गुफा छन्।
अब चर्चा गरौं घोडाघोडी तालको। विश्वरामसार सूचीमा सूचीकृत घोडाघोडी ताल पनि कैलालीकै प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्य हो। ताल दुई हजार पाँच सय ६३ हेक्टरमा फैलिएको छ। यसको आकार हातको पञ्जा झै छ। घोडाघोडीका १९ उपताल छन्। करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धान लगायतका जीवजन्तु यहाँ पाइन्छन्। घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर छ। पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएकाले यहाँ पुग्न कुनै गाह्रो छैन। तालसँगै धार्मिक क्षेत्र छ। शिव–पार्वतीको मन्दिर, महुन्याल देउताको मन्दीरले यहाँको धार्मिक बैभवता थपेको छ। धेरैले घोडाघोडी पुगेर विवाह, व्रतबन्ध जस्ता शुभ कार्यसमेत गर्ने गरेका छन्। डुंगा र घोडामा सवार भएरसमेत त्यहाँको मनोरञ्जन लिन सकिन्छ। घोडाघोडी ताल नजिक सुख्खड गाउँमा आधुनिक होटल र माघी गाउँमा होमस्टे सञ्चालन छ। पर्यटक आफूले चाहेको ठाउँमा बस्न सक्छन्। उनीहरू माघी होमस्टेमा थारु संस्कृति र खानपानको आनन्द लिन सक्छन्।
यस्तै गर्वा दरबार पनि कैलालीको ऐतिहासिक दरबार हो। चुरे गाउँपालिकाको खैरालास्थित विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको गर्वा दरबार सुदूरपश्चिममै एकमात्र राणाकालीन दरबार हो। यो जीर्ण अवस्थामा छ। प्राकृतिक रूपमा तराई र लेकको विशेषता एउटै गाविसमा पाइने खैरालामा आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त गन्तव्य हो। चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने गर्वा दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ। दरबार खड्क शम्सेर जबराले निर्माण गरेका हुन्। खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकको रोजाइमा परेको बताइन्छ। मास पिसेर त्यसबाट चिनाई गरिएको गर्र्वा दरबारमा ८३ झ्याल र ५३ ढोकाहरू छन्। १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ। दरबारभित्र भुईतले सुरुङ बनाइएको छ। कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने राणाकालिन दरबारको प्रवद्र्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीयले बताउँदै आएका छन्।
भादा होमस्टे कैलालीको प्रमुख पर्यटकीय गन्तव्य हो। थारू जीवनशैली र संस्कृति त्यहाँको प्रमुख आकर्षण मानिन्छ। धनगढी उप–महानगरपालिका–१६ स्थित भादा होमस्टेमा थारू समुदायका जन–जीवनलगायत विशेष खानेकुराका परिकारले पर्यटकको मन लोभ्याउने गर्छ। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर दूरी तय गर्नुपर्छ। काठ र खरका भित्ता, माथि टायलले छाएका घर, चिटिक्क माटोले नै पोतेको आगनले पनि पर्यटकको मन तान्ने गर्छ। स्थानीयले पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँच प्रदर्शन गर्दै आएका छन्। मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुँवाको रक्सी, चामलको रक्सी र झोललगायत परिकारका स्वादले पर्यटकलाई खुसी तुल्याउँदै आएका छन्।
खानीडाँडा कैलालीको प्रमुख पर्यटकीय गन्तव्य हो। गोदावरीबाट २२ किलोमिटरमाथि पर्छ खाँनीडाडा। यो प्राकृतिक रूपमा निकै मनोरम स्थल छ। चिसो मौसममा गर्मी र गर्मी मौसममा चिसोको आनन्द लिन मानिस खानीडाँडा पुग्ने गर्छन्। पहाडका रमणीय दृश्यले त्यहाँ पुग्ने जो कोहीको मन तान्ने गर्छ।
यस्तै गोदावरीधाम कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र हो। सुदूरपश्चिमको प्रस्तावित राजधानी अत्तरियादेखि ७ किलोमिटर उत्तरतर्फ पर्छ गोदावरी। त्यहाँ नेपालकै ठूलो ५२ फिट अग्लो हनुमानको मूर्ति छ। गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गर्छ। सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार हो यो क्षेत्र। यस क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीरूपमा लिने गरिन्छ। वृद्ध गौतमीका नामलेसमेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्दपुराणमा उल्लेख छ। गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ। त्यसक्षेत्र भएर बग्ने गोदावरी तटमा दिवंगत व्यक्तिको अन्तिम संस्कार गर्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वाससमेत रहको छ।
खानीडाँडा कैलालीको प्रमुख पर्यटकीय गन्तव्य हो। गोदावरीबाट २२ किलोमिटरमाथि पर्छ खाँनीडाडा। यो प्राकृतिक रूपमा निकै मनोरम स्थल छ। चिसो मौसममा गर्मी र गर्मी मौसममा चिसोको आनन्द लिन मानिस खानीडाँडा पुग्ने गर्छन्। पहाडका रमणीय दृश्यले त्यहाँ पुग्ने जो कोहीको मन तान्ने गर्छ। चुरे शृंखलाको सबैभन्दा उच्च भागमा खानीडाँडा अवस्थित छ। त्यहाँबाट कात्तिक महिनामा सैपाल हिमाललाई नियाल्न सकिन्छ। यो लोकल कुखुरा र अग्र्यानिक खानाका लागि निकै प्रख्यात छ। यहाँका होटल तथा कटेज शुक्र र शनिबार भरि–भराउ हुने गर्छन्। खानीडाँडामा व्यवस्थित पिकनिकस्थल निर्माण गरिएको छ । त्यहाँ पिकनिक मनाउन जानेहरूको पनि बाक्लै उपस्थिति रहने गरेको छ। खानीडाँडाको वातावरणमा रमाउन सीमा क्षेत्रमा पर्ने भारतीय सहरबाट पनि पर्यटकहरू आउने गरेका छन्।
यस्तै कैलालीस्थित ग्वासी समैजी देवताको मन्दिर स्थल पनि धार्मिक आस्थाको बैभव क्षेत्र हो। देवताको मूलस्थान गोदावरी नगरपालिका–१२ कुमिझाल क्षेत्रमा छ। ग्वासी र समैजीको थान मछेली खोला वारीपारी छन्। शिलामा देवी–देवताको बास रहेको छ। मछेलीका पश्चिमतर्फ समैजीको स्थानमा अत्रीगोत्रीय ओझा पुजारी र पूर्वपट्टि रहेको ग्वासीको स्थानमा भारद्वाज गोत्रीय भट्ट पुजारी छन्। दुबै स्थानमा देवी÷देवताको संयुक्तरुपमा पूजा लगाइन्छ। समैजी देवता र ग्वासी देवीको दाजु तथा बहिनी रहेको धार्मिक विश्वास छ। स्कन्दपुराण मानसखण्डमा उल्लेख गरिएअनुसार यो पवित्र फलाद्रीपर्वत क्षेत्रमा ‘स्वर्णा’ ‘रौप्या’ र ‘कालिन्दी’ नामक भगवतीको निवास क्षेत्र हो। यी भगवती यस क्षेत्रमा धेरै अघिदेखि निवास गरिरहेकी मानिन्छन्। ग्वासी समैजीको क्षेत्र शिवगंगा नदीदेखि पश्चिम, कञ्चनपुरको दोमिल्ला पहरियादेखि पूर्व, मोहना नदीदेखि उत्तर र मौरी मस्सेदेखि दक्षिण रहेको छ।
धनगढी उप–महानगरपालिकाको मुख्य बजारसँग जोडिएको जाखोरतालले पनि पर्यटक तान्ने गरेको छ। जाखोरताल चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्ने गरेको हो । देवहरिया वनस्पति उद्यानमा रहेको तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले मोहकता थपिरहेको हुन्छ। देवरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोरतालमा हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा, साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छीहरू देखिने गरेका छन् । चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोरताल पुग्ने गरेका छन् । तर, संरक्षणको अभावमा ताल जोखिममा पनि छ। ताल जलकुम्भीले छोपिने र सम्बन्धित निकायले समयमै हटाउन ध्यान नदिँदा ताल पुरिँदै गएको छ।
कैलाली विशाल छिमेकी मुलुक भारतसँग जोडिएको जिल्ला हो। नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध छ। धार्मिक सहिष्णुता छ। तिकुनिया र गौरिफन्टा जस्ता चलायमान नाका छन्। भारतमा मात्रै कैलालीका धार्मिक र पर्यटकीय क्षेत्रको चर्चा गर्दा ठूलो संख्यामा पर्यटक भित्य्राउन सकिन्छ।
यस्तै धनगढीको उत्तरबेहडीस्थित शिवपुरीधाम पनि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। १०८ फिट उचाइको शिवलिङ्ग, वरपर १०८ तुलसीमठ, १०८ केजीको घण्ट, १०८ घण्ट र १०८ धाम सुशोभित छ। पूजा–आजाका साथै अग्लो शिवलिङ्ग दर्शनका लागि धाममा धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। शिवपुरीधाममा नेपाल आमाको मन्दिर, दुर्गा मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायण मन्दिर, गणेश मन्दिर, ५ वटा बाटिका, शिवकुण्ड, गणेशकुण्ड, दुर्गाकुण्ड, विष्णुकुण्ड, सूर्यनारायणकुण्ड, उग्रतारा मन्दिर, पुरानो शिवमन्दिर छन्। त्यहाँ थारु समुदायको थनुवा मन्दिरसमेत रहेको छ। धार्मिक वनसहितको धाम ठूलो आकर्षणका रुपमा रहेको छ। त्यहाँ विवाह, व्रतबन्ध जस्ता कर्म पनि हुँदै आएका छन्। साउने सोमबारको ब्रत बस्ने हजारौँ श्रद्धालु भक्तजनको धाममा भीड लाग्ने गर्छ। धाममा शिवरात्रि, नयाँ वर्ष, गौरापर्व तथा होली पर्वमा भक्तजनको ठूलो घुइँचोे लाग्ने गर्छ।
माथि चर्चा गरिएका धार्मिक तथा पर्यटकीय वैभवसँगै ३ हजार २३५ वर्ग किलोमिटरमा फैलिएको कैलालीमा अन्य थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्यहरू छन्। यहाँका अधिकांश पालिकाहरूका नाम नै धार्मिक तथा पर्यटकीय स्थलबाट नामाङ्कित छन्। टीकापुर नगरपालिका, बर्दगोरीया गाउँपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका, गोदावरी नगरपालिका यसका उदाहरण हुन्। गोदावरीमा गोदावरी धामसँगै हाटखोली, लामीताल, वनदेवी मन्दिर, बुढीताल, भल्का, पिक्निकस्थल, मछेली नदी पनि आकर्षक पर्यटकीय स्थल हुन्। गौरीगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिर पर्यटकीय स्थलका रुपमा छन्।
भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिका भएर बहने नदीमा डल्फिन पाइने गरेका छन्। जसको संरक्षण र प्रचार–प्रसार गर्न सके पर्यटक आगमनको राम्रो सम्भावना छ। बर्दगोरियामा रहेको बर्दगोरिया धाम पनि ओझेलमा छ। त्यसको प्रचार–प्रसारका लागि महोत्सव आयोजना हुँदै आएको भए पनि पर्यटकको ध्यान तान्न सकेको छैन। कर्णाली नदीमा साहसी पर्यटकहरूका लागि ¥याफ्टिङको राम्रो सम्भावना छ। कैलारी गाउँपालिकाले वनदेवी मन्दिर, कालीमाई मन्दिर, कोइलही ताल, सामरचौरा थारु गाउँ र शिव मन्दिर पर्यटक आकर्षणका केन्द्र बन्न सक्छन्।
जोशीपुर गाउँपालिको लभ्ली पार्क, थारु फुडल्याण्ड, पुरानो शैलीको जोशीपुर बजार पर्यटकको रोजाई बन्न सक्छन्। यस्तै धनगढीको दशरथ चन्द पार्क कुनै समय युवा–युवतीको पहिलो रोजाइमा पर्ने गथ्र्यो। तर, हाल उक्त पार्क ओझेलमा छ। धनगढी–१ मा रहेको शान्ति बालउद्यान बाल–बालिका तथा ज्येष्ठ नागरिकमैत्री रहेको छ। उद्यानमा फूलवारी, पिरामिड, योगधाम, शान्तिको प्रतीक परीको मूर्ति, चिप्लेटी, पिङलगायत पूर्वाधार छन्। यो बाल र वृद्ध पर्यटकको हब बन्न सक्छ। यस्तै लक्ष्मीनारायण मन्दिर, नैनादेवी मन्दिर, पशुपति मन्दिर, बेङ्कटेश्वर मन्दिर, बनदेवी मन्दिर पनि यहाँका धार्मिक पर्यटकीय हब बन्न सक्छन्।
मुलुक संघीय संरचनामा छ। तीनै तहका सरकार छन्। तर, पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उनीहरूको ध्यान पुगेको देखिँदैन। आर्थिक समृद्धिको मेरुदण्ड पर्यटन क्षेत्र पनि हो। कैलाली सहित सुदूरपश्चिममा यो क्षेत्र ओझेलमा परेको छ। उत्साह र उमङगका साथ जनताका इच्छा, आकाक्षा एवम् चाहानालाई तीनै तहको नेतृत्वले सम्बोधन गरेको खण्डमा पर्यटनसँगै सबै क्षेत्रले काँचुली फेर्ने थियो। सरकारले भौगोलिक अवस्था, विकासको गति, सामाजिक सांस्कृतिक अवस्थाको वास्तविक मूल्याङ्कन गरेर काम गर्नुपर्छ।
कैलालीको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारले विगतको झैँ अरूकै मुखताक्ने काम नगरी आफ्नै बलबुतामा मुहार फेर्न सक्ने, जनताको जीविकोपार्जनलाई सहज बनाउन सक्ने, दीर्घकालीन लाभ लिन सक्ने र दिगो विकासको लक्ष्यमा समाहित हुन प्रष्ट खाका कोरी सोही अनुरुप अगाडि बढ्न सक्नुपर्छ।
पर्यटकलाई आकर्षित गर्न सरकारी तथा निजी क्षेत्रले पनि प्रभावकारी कार्यक्रम ल्याएका छैनन्। प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकलाई आवतजावतका लागि यातायातको सुविधा नहुनु, सबै जिल्लामा विमानस्थल सञ्चालन नहुनु, सञ्चालन भएका स्थानमा पनि महँगो हवाई भाडा, रोयल्टी महँगो हुनु, पर्यटकलाई उद्धारको व्यवस्था नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको छैन।
कैलाली विशाल छिमेकी मुलुक भारतसँग जोडिएको जिल्ला हो। नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध छ। धार्मिक सहिष्णुता छ। तिकुनिया र गौरिफन्टा जस्ता चलायमान नाका छन्। भारतमा मात्रै कैलालीका धार्मिक र पर्यटकीय क्षेत्रको चर्चा गर्दा ठूलो संख्यामा पर्यटक भित्य्राउन सकिन्छ। अध्यागमन कार्यालय कैलालीकै तथ्यांकले पनि कैलालीका नाका भएर विभिन्न मुलुकबाट आउने पर्यटकको संख्या ठूलो रहे पनि उनीहरूको रोजाइमा यहाँका पर्यटकीय स्थलहरू भने पर्न सकेका छैनन्। सुदूरपश्चिम भएर काठमाडौं, पोखरालगायत देशका अन्य ठाउँ घुम्न जाने पर्यटकको संख्यामा धेरै छ। पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा कैलाली पर्न नसकेको हो। यदि कैलाली हुँदै सुदूरपश्चिममा बाह्य पर्यटकहरु टिकाउने हो भने प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने हुन्छ। पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि पर्चा, पम्प्लेट र विभिन्न होडिङ बोर्ड लगाउनुपर्ने हुन्छ।
पर्यटन क्षेत्रको विकासका लागि निजीक्षेत्रको लगानी बढाउन आवश्यक छ। कैलाली जिल्ला भरिका होटेल सञ्चालकलाई पर्यटकको स्वागतमा र उनीहरूसँग गर्नुपर्ने व्यवहारबारे प्रशिक्षित गर्नु आवश्यक छ। खाना र बासमा आवश्यक प्याकेज ल्याउनुपर्ने हुन्छ। कैलालीमा होटेल व्यवसायीहरूले ठूलो लगानी गरेका छन्। पर्यटन विकास गर्ने उद्देश्यले तीनतारेदेखि मध्यम खाले होटेलसम्म सञ्चालन भइरहेका छन्। ती होटलहरू स्थानीय थारु, राना थारु, पहाडी समुदायका खानाका परिकार समावेश गर्नुपर्छ। जसले उनीहरूको मन तान्न सकोस्। कैलाली सुदूरपश्चिमको सुविधासम्पन्न जिल्ला हो। कैलालीमा आएका पर्यटकलाई सुदूरपश्चिममा अन्य जिल्लामा पनि लैजान सक्नु पर्दछ। यसो गर्न सक्यौं भने मात्र यहाँको धार्मिक र पर्यटकीय क्षेत्रको विकास सम्भव छ।
















Facebook Comment