हवाई यात्राका कुरा (पहिलो भाग)
गत भाद्र २३ गतेको कुरा। म हङकङ विमानस्थलबाट काठमाडौँको निम्ति तयार रहेको विमानतर्फ जाने ढोकामा लाममा बसिरहेको थिएँ। त्यहीबेला काठमाडौँमा सोही दिन भएको जेनजी आन्दोलनमा गोली लागेर धेरै युवाहरूको मृत्यु भएको र धेरै मानिसहरू घाइते अवस्थामा अस्पतालहरूमा लगिएको कुरा सुनिन थाल्यो।
निकै दुःख लाग्यो त्यो समाचार सुने पछि। अनि हामी सबै यात्रुहरू विमानमा पसेर आआफ्ना सिटमा बस्यौँ। भित्र विमानमा पनि केही सरकार समर्थक र विपक्षी मानिसहरू बीच सो घटनाको बारेमा वहस चल्न थाल्यो।
विमानले के आकाश चुमेको मात्र थियो, ती दुई पक्षका करिव आधा दर्जन मानिसहरू एकापसमा पौँठेजोरी नै खोज्ने हिसाबले भिड्न तयार हुन थाले भने उनीहरूको ठूलो ठूलो आवाजले सबैको सातो जाला जस्तो भयो। तर एकैछिनमा विमानका परिचारिकाहरू र उनका प्रमुख आएर सबैलाई शान्त तुल्याए।
रक्सीको कारण अन्तर्राष्ट्रिय उडानबाट विभिन्न मुलुकमा जानुपर्ने यात्रुहरू ठूला ठूला विमानस्थलहरूका ट्रान्जिट लाउन्जहरूमा अलपत्र परिरहेको पनि भेटिन्छन्। कैयन् नेपाली तथा भारतीयहरूलाई यस्तो अवस्थामा देखे पछि तिनका बोर्डिङ पास हेरेर जहाज कुर्ने ढोकासम्म सामान सहित पनि लगिदिएको छु। यात्रा गर्न नजान्नेलाई मद्दत गरिदिने मानिसहरू धेरै भेटिन्छन् तर यसरी मादक पदार्थ धोक्दै गति छाडेर बसेकालाई मद्दत गर्ने मानिस ज्यादै कम हुन्छन्।
यस्ता धेरै घटनाहरू दक्षिण एशिया वा विकासोन्मुख मुलुकका विमान यात्रुहरूले घटाइ नै रहन्छन्। नेपालबाट विदेशमा मजदूरी गर्न पहिलो चोटी जाने अधिकांश यात्रुहरूले विमानको नियम तथा विमानमा पालना गर्नु पर्ने आधारभुत कुराहरू जानेका हुँदैनन् र उनिहरूलाई विदेश पठाउने वैदेशिक रोजगार संस्था वा अन्य कुनै निकायले सामान्य तालिम पनि नदिई पठाएका हुन्छन्।
त्यसैले उनिहरूलाई सिटको पेटी बाँध्न मुस्किल पर्छ र जहाजमा खुवाइने खानाको पैसा टिकटमा नै काटिसकेको हुन्छ भन्ने कुरा थाहा नपाएर कतिले विमानमा दिएको खाना पनि नखाइ भोकै बस्दछन्। समग्रमा यस्ता यावत अनभिग्यताले गर्दा नेपाली कामदारहरूको दुख आफ्नै मुलुकको विमानस्थलबाट नै शुरु हुन्छ।
जहाजको शौचालयमा शौच गर्न नजानेर फोहर गर्ने काम त हाम्रो जस्तो मुलुकका अधिकांश यात्रुले गर्दछन्। शौचालयको बाहिर लामो लाम नै लागेर बस्ने पनि धेरै हुन्छन् भने शौचालयको ढोकामा पुगेर भित्र मानिस भए नभएको जनाउ दिने बत्ती नै नहेरी ढोका घच्घच्याउन थाल्छन् भने कतिपयले शौचालयको ढोकालाई भित्रबाट चुकुल लगाउन पनि जान्दैनन्।
त्यस्तै केही पेग रक्सी पिउनको निम्ति गति छाड्ने र ठूला ठूला स्वरमा कराउने अनि बारम्बार सिटको माथि भएको घण्टीको स्विच थिचेर परिचारिकाहरूलाई हैरान पनि पार्दछन्। चार पाँच घण्टाको यात्रामा पनि विमान निकै फोहर बनाउँछन्।
टर्बुलेन्सको कारण विमानका सबै यात्रुलाई सिटको पेटी बाँधेर बस्ने अनुरोध तथा सोही अनुरुपका सन्देश सहितको बत्ती सिटको माथिको भित्तामा बलिरहँदा पनि बेल्ट नबाँध्ने र विमानमा हिँड्ने तथा शौचालय जान खोज्ने महानुभावहरू हामी कहाँ मात्र नभइ विकसित मुलुकमा पनि हुँदा रहेछन्।
त्यस्तै विमानमा पस्दा वा विमानबाट बाहिर निस्कँदा अनावश्यक भिड गर्ने र राम्ररी विमान रोकिन नपाउँदा नै सिट माथिको सामान कक्ष खोलेर सामान झिक्न हतार गर्ने मानिसहरू विकासोन्मुख मुलुकमा धेरै हुने भए पनि विकसित मुलुकमा पनि कम हुँदैनन्।
नेपाल र दक्षिण एशिया, दक्षिणपुर्वी एशिया तथा अफ्रिकी र अन्य कम विकसित मुलुकमा उडान भर्नको निम्ति विमानसेवा कम्पनीहरूले अलिक पुराना विमान र ती देशका यात्रुहरूको मनोविज्ञान बुझेका अनुभवी कर्मचारी पठाउँदा रहेछन्।
विमानमा कुनै पनि प्रकारको अप्रिय विवाद सिर्जना भयो भने सोको सहज निराकरण गर्न सक्ने र शौचालयदेखि विमानका विभिन्न भागहरूको सफाई उडान अवधिभर पटक पटक गरेर विमानलाई सफा राख्ने काम पनि उनिहरूले गर्दछन्। आखिर नयाँ तथा कोरा यात्रुहरूलाई विमान यात्रा बारे व्यावहारिक ज्ञान दिनु पनि उनिहरूको कर्तव्य नै हो।
हवाई उडान गर्दा यात्रुहरूले कुनै विवाद सिर्जना गरे वा झगडामा उत्रिए भने उडानमा खतरा पनि उत्पन्न हुन सक्दछ। त्यसैले ती मुलुकको नागरिक उड्डयन प्रणालीमा कडा नियम लागु गरिएको हुन्छ र नचाहिँदा विवाद खडा गर्नेहरू कडा कानुनका भागिदार पनि हुन पुग्छन्। तर पनि साधारण बखेडा मच्चाउने र हल्ला गर्ने काम भने चलि नै रहेको हुन्छ। किनकी हल्ला गर्ने र ठूलो स्वरले बोल्ने बानी हाम्रो जस्तो मुलुकका बासिन्दाको रगतमा नै डौडिरहेको हुन्छ।
हालै जापानको यात्रा गरेर फर्केका मेरा एक दिग्गज मित्रले ‘बुद्धका उपदेश र विचारलाई त जापानीहरूले पो अवलम्बन गरेका रहेछन्’ भन्थे। उनको भनाई अनुसार जापानका सार्वजनिक यातायातका साधन, विमान, सडक, बजार या कतै पनि घुम्दा सबै जापानीहरू शान्त देखिएका, निकै सानो स्वरले बोलेका र एकले अर्कोलाई निकै मान सम्मान गरिरहेका देखिन्थे रे। जापानीहरूको जस्तो यो अनुशासित चालचलन अन्य विदेशी मुलुकमा पनि भेटिँदैन रे।
यस्तो आदत उनिहरूमा जन्मजात आएको हो वा उनिहरूको सरकार र समाजले नै यस्तो संस्कार सिकाउने गर्दछ, यो खोजको विषय नै छ र हामीहरूले पनि यस्तो संस्कार सिक्नु जरुरी छ। तर यो त्यति सजिलो काम भने होइन। ‘नानीदेखि लागेको बानी’ भन्ने त हाम्रो कहावत नै छ त।
हाम्रो जस्तो सानो मुलुकमा दुर्गम तथा उच्च पहाडी क्षेत्रमा सेवा प्रदान गर्ने साना हवाइजहाज हुन्छन् भने अन्तर शहर यानी ट्रङ्क रुटमा सेवा प्रदान गर्ने जहाजहरू धेरैजसो ४० देखि १०० सिटका हुन्छन्।
नेपालमा ट्रंक रुटमा एटिआर, ड्यास एट र साना जेट समेतले सेवा प्रदान गर्दछन्। तर भारत र चीन जस्ता विशाल छिमेकी मुलुकहरूमा न्यारो बडी र वाइड बडी जेटले नै अधिकांश आन्तरिक उडान गर्ने गर्दछन्।
नेपालका विकट स्थानहरूमा चल्ने साना जहाजहरूलाई मौषमले निकै प्रभाव पार्ने गर्दछ। राम्रो मौषम भएको बेलामा यात्रुहरूले विमानको झ्यालबाट ज्यादै राम्रा दृश्यहरू हेर्न पाउँछन् भने मौषम बिग्रिएको बेला यात्रा निकै डरमर्दो पनि हुन जान्छ र कैयन् पटक त विमान दुर्घटनामा परेर यात्रु तथा चालक दलको नै इहलिला समाप्त हुन जान्छ। विश्वमा यस्ता दुर्घटना धेरै पटक भएका छन्।
करिव डेढ दशक अघि मलेसियन एयरलाइन्सको एक ठूलो विमान रहस्यमय तवरले आकाशबाटै हराएर आजसम्म भेटिएको छैन। त्यस्तै आतङ्ककारीहरूको चपेटामा परेर पनि धेरै विमानहरू दुर्घटनाग्रस्त भएका छन्। केही भाग्यमानीहरू भने विमान दुर्घटनामा पनि बच्न सफल भएका छन् भने अझै एकाध यात्रु त विमान दुर्घटनाबाट पटक पटक बचेका छन्।
हेलिकप्टर चढेर यात्रा गर्दा पनि निकै रमाइलो अनुभव हुन्छ। विमानस्थल नभएका ठाउँमा समेत उडान र अवतरण गर्न सक्ने भएकाले हेलिकप्टर झनै विकट ठाउँहरूमा पुग्न सक्छ। दैवी प्रकोपको बेलामा त यो वाहनले उद्धारकार्यमा ठूलो भूमिका खेल्दछ। मौषम प्रतिकुल हुँदा र हाम्रो जस्तो पहाडी इलाकामा राम्ररी उडाउने ढंग नपुग्दा र विमानसेवाको लापर्वाहीको कारण पनि धेरै दुर्घटनाहरू हुने गर्दछन्।
डा. हर्क गुरुङ लगायत विश्वका नै उम्दा भूगर्वविद्हरूको ठूलै टोली ताप्लेजुङको घुन्सा भन्ने ठाउँमा करिव दुई दशक अघि हेलिकप्टर दुर्घटनामा परेर विलिन हुन पुगेको थियो। एकजना मन्त्रीको हठका कारण खराब मौषममा पनि उडाउन कर लागेकोले त्यो दुर्घटना भएको कुरा पनि सुन्नमा आएको थियो। धेरैजसा विमान दुर्घटना मौषमको खरावीको कारण नै हुने गर्दछन्।
विभिन्न शहरहरूमा यानी ट्रंक रुटमा चल्ने विमानहरू भने विकट स्थानमा चल्ने विमान भन्दा बढी सुरक्षित हुन्छन्। तर विगतमा चालकको गल्ती र पुराना विमानको कारण पनि यदाकदा भयानक दुर्घटना हुन गएका छन्। डकोटादेखि फोक्कर र एभ्रो तथा एटिआर, बीचक्राफ्ट र सिआरजे जेट समेत यस्ता रुटमा चल्दा दुर्घटनाग्रस्त भएका रेकर्डहरू भेटिन्छन्। तर पनि हवाई यात्रा अन्य यातायातका साधन भन्दा सुरक्षित मानिन्छ।
विमानमा बस्ने वित्तिकै सबैजसा यात्रुहरू आँखा चिम्लेर हात जोड्दै मनमनै प्रार्थना गर्न लागेको दृश्य देखिन्छ भने वायु, बादल तथा अन्य कारण हवाइजहाज हल्लिन थाल्यो भने पनि धेरैजसा यात्रुहरू तर्सिएर आफ्नो सिट पक्रेर प्रार्थना गर्न लागेको देखिन्छ।
यस्तो देख्दा एकातिर हाँसो उठ्छ भने अर्को तर्फ आफ्नो हालत पनि त्यस्तै भइरहेको हुन्छ। कहिलेकाहीँ त विमानका परिचारिकाहरू पनि यस्तो अवस्थामा अमिलो मुख लगाएर आत्तिएका जस्ता देखिएका हुन्छन्, तर पनि सबैलाई सम्हाल्ने काममा नै व्यस्त देखिन्छन्।
विमान अवतरण गर्न लाग्दा टायर पड्कने वा ल्यान्डिङ गियर नै नखुल्ने समस्याले पनि विमान चालकहरू तथा यात्रुहरूलाई निकै पिरोलेको हुन्छ। तर पक्का चालकको परीक्षा पनि यस्तै आकस्मिकताको बेलामा हुने गर्दछ। यस्ता अवस्थामा चालकहरूको विशेष अनुभव र सतर्कता तथा भाग्यले पनि निकै काम गरेको हुन्छ।
काठमाडौंको जस्तो व्यस्त र एउटा मात्र धावनमार्ग भएको विमानस्थलमा उडान र अवतरण गर्न पनि त्यति सहज हुँदैन। उडानको समयमा एयर ट्राफिक व्यस्त हुँदा विमानभित्रै यात्रुहरू निकै बेर बस्न वाध्य हुने गर्दछन्। कैयन् पटक त कुनै भीआइपी भन्ने जन्तुलाई कुरेर बस्दा पनि विमान कम्पनीले एयर ट्राफिकको कारण विमान नउडेको झुठो सन्देश दिने गर्दछन्। एकाध पटक आफैंलाई पनि त्यस्तै परिस्थितिको सामना गर्नु परेको छ।
हिजोआज भ्रष्टाचारले गन्हाएका नेताहरू चढेको जहाज गन्तव्यमा पुग्दा त्यहाँका जनताले अवतरण गर्न नदिने प्रथा शुरु भएकोले पनि अन्य यात्रुहरूको यात्रामा असुविधा हुन थालेको छ भने वायुसेवा प्रदायकहरू पनि त्यस्ता नेताहरूलाई बरु उडाउन नपरे हुन्थ्यो भनेर असमञ्जसमा पर्न थालेका छन्।
विमान अवतरण गर्ने बेलामा पनि काठमाडौँको विमानस्थलबाट उड्ने र त्यहाँ अवतरण गर्ने विमानहरूको संख्या धेरै भएर आकाशमा नै विमानहरू होल्डमा बसेका हुने भएकोले अवतरण गर्न ठीक परेका विमानहरू हेटौँडा वा नजिकैको भारतीय सिमानातिर चक्कर लगाइ रहन वाध्य हुने गर्दछन्। त्यतिबेला पनि भय र गहिरो कौतुहल मिश्रित सोचका कारण यात्रुहरूको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको हुन्छ।
धेरै जसा विमानसेवाका हवाई कर्मचारीहरू निकै नम्र स्वभावका हुन्छन्। तर देशी वा विदेशी कतिपय विमानसेवाका कर्मचारी भने निकै खरा किसिमका हुन्छन् र तेस्रो विश्वका यात्रुलाई हेयको दृष्टिले पनि हेर्ने गर्दछन्। कसैले विमानमा यात्रा गर्न जानेन भन्दैमा त्यस्तो व्यवहार गर्नुको साटो उसलाई सिकाउनु आफ्नो कर्तव्य हो भन्ने कुरा नै नबुझे झैं गर्दछन्।
अधिकांश दक्षिण एसियाली राष्ट्रका सरकारी वायुसेवाका कर्मचारी तथा विमान परिचारिकाहरू यात्रुसँग निकै खरो तवरले बोल्ने गर्दछन्। यता मात्र नभइ मजदूर र कर्मचारी युनियन ज्यादै बलियो भएका फ्रान्स र क्यानाडा जस्ता विकसित मुलुकका वायुसेवा र सबैजसा सेवाग्राही संस्थाका कर्मचारी त्यतिकै खरा र कम मद्दतगार प्रकृतिका हुँदा रहेछन्।
राजनीतिक कारणले गर्दा बेला बेलामा विमान अपहरण हुने गर्दछ। नेपालको आन्तरिक उडानको एक विमान पनि वि.सं. २०३० सालमा विराटनगरबाट उड्ने वित्तिकै अपहरण गरेर सिमापारी भारतको फारवेशगञ्जमा अवतरण गरिएको थियो।
राष्ट्र बैंकको ३० लाख रुपैयाँ लुटे पश्चात् सो विमानलाई सबै यात्रु सहित छोडिएको थियो। तर विश्वका विभिन्न मुलुकमा हुने धेरैजसा विमानमा भने कतिपय यात्रु, चालक दलका सदस्य तथा अपहरणकारी कै पनि हत्या हुने गरेको छ। बच्ने यात्रुहरूले पनि अपहरण अवधिभर मानसिक र भौतिक यातना भोग्नु पर्ने हुन्छ।
नेपालमा २०३० सालमा विमान अपहरण हुनुभन्दा पहिलेसम्म विमानस्थलको सुरक्षा निकै फितलो हुने गर्दथ्यो। म सानो छँदा मेरा पिताजीका गाडी चालकसँग उहाँलाई आन्तरिक टर्मिनलमा लिन जाँदा कैयन् पटक म विमानको ह्याङ्गरमा गएर त्यहाँ मर्मतको निम्ति राखिएको शाही नेपाल वायुसेवा निगमको बोइङ ७२७ जेट विमानभित्र विना रोकटोक छिरेर घुमेको छु।
त्यस्तै त्यतिबेलासम्म काठमाडौंको विमानस्थल त्यति व्यस्त नहुने भएकोले विदेशबाट आउने आफन्तलाई लिन जाँदा पनि हामी भन्सारको चेक प्वाइन्टसम्म पनि जाने गर्दथ्यौँ। एक किसिमले सोच्दा सो अपहरण काण्डले बल्ल नेपालका विमानस्थलहरूलाई पक्का व्यावसायिक विमानस्थल बन्न मद्दत गर्यो। यस्ता नराम्रा घटनाहरूबाट पाठ सिकेर समेत जुनसुकै क्षेत्रमा पनि सुधार ल्याउन सकिन्छ।
कुनै समय काठमाडौँ विमानस्थलमा विमान अवतरण गर्ने र उड्ने बेलामा धावनमार्गबाट कुकुर तथा गाइबाख्रा धपाउनु पर्दथ्यो। त्यतिबेलासम्म सो विमानस्थललाई चिनिने नामै ‘गौचर विमानस्थल थियो’। तर हिजोआज भने आकाशमा उड्ने गिद्द, चिल र अन्य चराहरूलाई धावनमार्ग वरीपरीबाट हटाए पुग्छ र साथै विमानस्थल नजिक जनावरका हाडखोड तथा फोहरमैला फ्याँक्न पाइँदैन।
विदेशका विमानस्थलमा विमानहरू उडेको र उत्रेको हेर्ने स्थलहरू बनाइएका हुन्छन्। त्यस्ता ठाउँमा गाडी पार्क गरेर विमानप्रेमीहरू दिनरात विमानको अवलोकन गर्ने र फोटो तथा भीडीयो खिँच्ने गर्दछन्। त्यस्ता मानिसहरूलाई विश्वमा निर्माण हुने विभिन्न प्रकारका विमानहरू बारे राम्रो ज्ञान हुने गर्दछ। यो पनि एक प्रकारको शौक तथा नशा नै हो।
हाम्रा स्वर्गीय राजा वीरेन्द्र हेलिकप्टर उडाउन माहिर थिए। त्यस्तै थाइल्याण्डका राजा र ब्रुनाईका सुल्तान पनि जेट विमान उडाउन जानेका अनुभवी र शौकिन चालक हुन्। भारतका पुर्व प्रधानमन्त्री राजिव गान्धी एक व्यावसायिक जेट विमान चालक थिए भने उनका भाइ सञ्जय गान्धी, जसको निधन विमान दुर्घटनामा नै भयो, उनी एक शौकिन विमान चालक थिए। कैयन् मुलुकका सम्भ्रान्त व्यक्ति तथा उद्यमीहरू विमान उडाउने शौक राख्दछन् भने धेरैको आफ्नै नीजि विमान हुने गर्दछ।
क्रमश….
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment