कविता : जीवनका चिसा गीतहरु

डिसी नेपाल
२७ मंसिर २०८२ ७:५४
4
Shares

कविता लेख्नै जानिन मैले
कसरी लेखौं कविता?
भावना उर्लन्छन् बाढी सरी
शब्दको बाढी आउँछ त्यसै गरी
मैले भावना व्यस्थित गर्नै पर्छ
भावना व्यवस्थित गरौं कसरी?
कविताहरु अकविता हुन्छन् किन?
मैले शब्द चयन गर्न नसके पछि।

एउटा दिनले लत्याएर जान्छ मलाई
म मुर्दा हाँसो हाँस्न विवश छु
म सँग नमिठा सपनाहरु मात्रै छन्
मिठो सपना देख्नलाई
भएको एउटा रात पनि भागी जान्छ म सँग रिसाएर।

नसम्झौ भन्छु अत्यास लाग्दा विगतहरु
म इतिहासको गर्तमा डुबुल्की मार्दै
मैले वर्तमान सँग ख्याल ठट्टा गर्नु हुँदैन
मलाई एउटा तातो र रातो सूर्य चाहिन्छ
म सूर्यको खोजिमा किन भौंतारी रहेछु?
सूर्य उज्यालोको प्रतीक हो।
म उज्यालो खोजी रहन्छु।

मान्छे क्रान्तिका कुरा गर्दै
क्रान्तिको आह्वान गर्छन्
म अनिर्णित बन्नु हुँदैन
आकाश जस्तो विशाल छाती बोकेर
मान्छेहरु कहाँ जान हिँडेका हुन्?
मैले तिनीहरुसँगै समाहित हुनुपर्छ
तिनीहरुको उद्देश्य के हो?
कहाँ टुङ्ग्याइन्छन यात्राहरु?
तिनीहरुसँग राता झण्डाहरु पनि छन्
पक्तिवद्ध मौन जुलुस जस्तै
चुपचाप, चुपचाप लम्किरहेछन तिनीहरु
कालो पट्टि जस्तो के बाँधेका हुन तिनीहरुले?
हातमा प्लेकार्डहरु पनि रहेछन्
पुत्ला जस्तो के बोकेका हुन कुन्नि?
एकोहोरो शंख फुक्छन् घरी घरी तिनीहरु।
आमाहरु रोइरहेको देखेर
तिनका सन्तानहरु पीडाले छट्पटिन्छन्
आमाका काखहरु रित्तै पारेर
किन होमिन्छन मुक्ति युद्धमा तिनीहरु?
मर्नु त नियमित प्रकृया नै हो
यदि मर्नै पर्छ भने
मर बा आमाको अनुहार हँसाउने गरी।

तिमीले शाहदत प्राप्त गर्दा
लाखौ मान्छेहरुले उन्मुक्ति पाउनु पर्ने हो
दासत्वबाट मान्छेहरु कसरी फुत्कने?
उत्पीडनको पीडा पनि त त्यस्तै छ
रोएर बस्ने कति दिन?
दासत्वको जालो च्यातेर
उत्पीडनबाट मुक्ति पाउन
न्यायको लडाइ लड्नु पर्ने।

भो अब नगाउ जीवनका चिसा गीतहरु
अवरुद्ध नपार तिम्रो यात्रा
तिमी त संसार हाक्ने मान्छे
तिमीलाई आत्मसमर्पण गर्ने छुट हुँदैन।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.