वासिङटन डिसी क्षेत्र वरपरका गुरुङ समुदायले ल्होछार मनाउँदै
काठमाडौं । तमु धीं भर्जिनियाले हरेक वर्ष जस्तै यस वर्ष पनि वासिङ्टन डिसी महानगरमा धुमधामले तमु ल्होछार २०२५ मनाउने भएको छ। वासिङटन डिसी क्षेत्र वरपर बस्नुहुने गुरुङहरूको एकदमै सक्रिय र लामो इतिहास बोकेको पवित्र संस्था तमु धीं भर्जिनियाले एकदम भव्य तरिकाले तमु ल्होछार मनाउने धुमधाम तयारी गरिएको तमु ल्होछार मूल आयोजक समितिका संयोजक बिन्ती कुमार गुरुङले जानकारी दिए।
आगामी पुष १५ गतेका दिन मनाईने तमु (गुरुङ ) जातिको यस विशेष पर्वमा १२ वटा बर्गहरु मध्ये यस वर्ष सर्प बर्ग (स-प्रिल्हो)लाई बिदाई गर्दै नयाँ वर्ग त ल्हो (घोडा बर्ग)लाई स्वागत गरिने छ।
आफ्नै मौलिक पहिचान सहितको गुरुङ भेषभुषामा सजिएर, मौलिक गीत संगीतमै नाच्दै, गाउँदै, रमाइलो गर्दै, मिठो स्वादिष्ट परिकारहरू खाई एक आपसमा शुभकामना आदनप्रदान गर्दै धुमधामले मनाइने यो राष्ट्रिय पर्व आजभोली नेपालमा मात्र नभई संसारको कुना कुनामा जहाँ जहाँ रोजगार र बसाइसराइको सिलसिलामा गुरुङहरू पुगेका छन्, ती सबै ठाउँमा उनीहरूले मात्र नभई गैर गुरुङ समुदायले पनि गुरुङ पहिरनमा सजिएर एक-आपसमा मितव्ययी एवं पारस्परिक सदभावका साथ यो पर्व मनाइरहेको पाइन्छ।
तमु ल्होछार कार्यक्रमका लागि समाजका आजीवन सदस्य, सचेतक तथा प्रवक्ता बिन्ती कुमार गुरुङको संयोजकत्वमा ६१ सदस्यीय ल्होछार मूल आयोजक समिति २०२५ गठन गरिएको सचिव थमन गुरुङले जानकारी दिए।
ल्होछार कार्यक्रमको टिकट दर प्रतिव्यक्ति ४५ डलर तोकिएको छ भने १० वर्ष मूनिका बालबच्चाहरुलाई निशूल्क प्रवेश रहनेछ। यसर्थ तमु धीं भर्जिनिया परिवारसँग गहिरो आस्था, विश्वास राख्नुहुने र समाजलाई असाध्यै माया गर्नुहुने सम्पूर्ण तमु तथा गैर तमु नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरू, जो वासिङटन डिसी महानगर वरपर बस्नुहुन्छ, यहाँहरू सबैलाई सो दिनको उक्त ल्होछार कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रमलाई एकदम भव्य र सभ्य तवरले सम्पन्न गराउनको लागि मिठो साथ, समर्थन र सहयोगको लागि तमु धीं भर्जिनिया परिवारले सबैलाई कार्यक्रममा उपस्थित हुनका लागि अपिल गरेको छ।
४००, सेन्टर स्ट्रेट, भियाना, भर्जिनिया २२१८० मा डिसेम्बर ३० तारिख, मंगलबारका दिन हुने कार्यक्रम बेलुका ५ बजेदेखि मध्यरात १२ बजेसम्म चल्ने समाजका अध्यक्ष नन्द कुमार गुरुङले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment