विश्व ध्यान दिवस : जीवन विज्ञान प्रतिष्ठानका संस्थापक शर्मा र नेपालले राष्ट्र संघमा सम्बोधन गर्ने
न्यूयोर्क। दोस्रो विश्व ध्यान दिवसका अवसरमा यही डिसेम्बर १९ मा जीवन विज्ञान फाउन्डेसन नेपालका संस्थापक गुरुद्वय एल.पी. भानु शर्मा र रमेश नेपालले संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा नेपालका तर्फबाट सम्बोधन गर्ने भएका छन्।
गुरुद्वयले संसारभरिका देशहरुबाट सहभागी प्रतिनिधिहरुबीच समसामयिक जीवनका आवश्यकताअनुरुप हुने गरी वैज्ञानिक एवं प्रयोगसिद्ध रुपमा पुनर्परिभाषित गरिएको शताब्दीऔँ पुरानो हिमाली आध्यात्मिक चिन्तन तथा व्यवहारपरक प्रयोगको अनुभव प्रस्तुत गर्नेछन्।
यस कार्यक्रमले ध्यान, योग र मानसिक सजगताका माध्यमबाट विश्वव्यापी कल्याण, शान्ति र सचेत नेतृत्वमा पार्ने रूपान्तरणकारी प्रभावलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघले गत वर्ष औपचारिक रूपमा विश्व ध्यान दिवस सन् २०२४ मा घोषणा गरेको र गत वर्षदेखि प्रत्येक वर्ष डिसेम्बर २१ उक्त दिवस संसारभरि मनाइँदै आएको छ। यस दिवसको मूल उद्देश्य विश्वभरका हरेक व्यक्तिमा मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्नु हो।
जीवन विज्ञानका माध्यमबाट नेपाल र नेपालबाहिरका करीब ८० मुलुकमा समुदायस्तरीय कार्यक्रम, मार्गदर्शित ध्यान सत्र तथा व्यक्तिगत अभ्यासमार्फत् एक करोडभन्दा बढी मानिसहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन्। उच्च तनाव र तीव्र गतिको आधुनिक जीवनशैलीमा आन्तरिक शान्ति र मानसिक स्पष्टताको महत्वलाई जोड दिँदै गत वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्ने ६ मुलुकहरुमा नेपाल पनि एक हो।
डिसेम्बर १९ को कार्यक्रम
बिहान १० देखि ११ बजेसम्म हुने पहिलो सत्रमा नेपालबाट जीवन विज्ञानका संस्थापक गुरुदेव भानु शर्मा र भारतबाट ‘आर्ट अफ लिभिङ’ का संस्थापक गुरुदेव श्री श्री रवि शंकरले अन्तर्राष्ट्रिय प्रतिनिधि, संयुक्त राष्ट्रसंघका कर्मचारी तथा विभिन्न देशका स्थानीय प्रतिनिधिबीच एक समारोहमा उनीहरुको अनुभवमा आधारित आध्यात्मिक अन्तर्दृष्टि प्रस्तुत गर्नेछन्।
गुरुदेव भानु शर्माले ध्यान र सजगतालाई मानसिक तथा भावनात्मक स्वास्थ्यका व्यावहारिक उपकरणका रूपमा प्रस्तुत गर्दै तनाव न्यूनीकरण, भावनात्मक सन्तुलन र संज्ञानात्मक क्षमतामा तिनले पार्ने वैज्ञानिक रूपले प्रमाणित प्रभावबारे प्रकाश पार्नेछन्। उक्त अवसरमा सहभागीहरूले समसामयिक चुनौतीहरूका बीच विश्वव्यापी सद्भाव र लचिलोपन निर्माणमा यी अभ्यासहरूको भूमिका पनि बुझ्ने अवसर पाउनेछन्।
दिउँसो १ बजेदेखि ३ बजेसम्मको दोस्रो सत्रमा गुरुदेव भानु शर्मा र गुरुदेव रमेश नेपालले ‘योग’ शीर्षकअन्तर्गत योग, श्वासप्रश्वास प्रविधि र ध्यानका सिद्धान्त तथा अभ्यास समेटिएको संयुक्त कार्यक्रम प्रस्तुत गर्नेछन्।
पहिलो एक घण्टा योगासन, प्राणायाम र ध्यानका व्यावहारिक विधिहरू सिकाइनेछ। यस सत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारी, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछन्।
यस सत्रमार्फत् जीवन विज्ञानका अभ्यासहरूले मानसिक शान्ति, ऊर्जाशीलता एवं सकारात्मकता अभिवृद्धि गर्नुका साथै व्यक्तिगत र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने वैज्ञानिक आधार प्रस्तुत गरिनेछ।
गुरुदेव भानु शर्माले शान्त र सुखी जीवन निर्माणका लागि समन्वित वातावरणको महत्वबारे अन्तर्दृष्टि प्रस्तुत गर्दै विश्वका लागि आध्यात्मिक मार्गदर्शन दिन सक्ने शान्त राष्ट्रका रूपमा नेपाललाई प्रस्तुत गर्नेछन्। गुरुदेव रमेश नेपालले सरल तर प्रभावकारी ध्यान विधिहरू सिकाउँदै तिनले व्यक्तिगत जीवनमा तत्काल पार्ने सकारात्मक प्रभावबारे प्रस्तुति दिनेछन्।
नेपालको आध्यात्मिक विरासत
शान्त हिमाली राष्ट्र नेपाल- भगवान बुद्धको जन्मभूमि तथा तराई, पहाड र हिमालसम्म फैलिएको १० हजार वर्षभन्दा पुरानो समृद्ध आध्यात्मिक परम्पराले समृद्ध मुलुक हो जुन ध्यान, करुणा र आन्तरिक जागरणको आश्रयस्थलका रूपमा सहस्राब्दीदेखि परिचित छ।
शान्ति, गहिरो आत्मचिन्तन र अहिंसामूलक मानव विकासका जीवित परम्पराहरूले सचेत जीवनशैलीबारेको विश्वव्यापी बुझाइलाई निरन्तर आकार दिँदै आएको मुलुक नेपाल अहिले संसारभरिबाट अध्यात्म साधना गर्न सुटुक्क जाने साधकका लागि साधनासिद्धि प्राप्त गर्न सकिने एक रहस्यमयी भूमिका रुपमा प्रख्यात छ।
संयुक्त राष्ट्रसंघमा भएको नेपालको यस प्रतिनिधित्वले स्वास्थ्य, ध्यान र चेतना शिक्षाको उदीयमान विश्व केन्द्रका रूपमा नेपालको भूमिकालाई थप सुदृढ गर्दछ ।
जीवन विज्ञान फाउन्डेसन
साधकहरूको आश्रयस्थलका रूपमा परिचित जीवन विज्ञान फाउन्डेसन सन् २०११ मा काठमाडौंमा स्थापना भएको हो। यस संस्थाले ध्यान, योग, मनोविज्ञान र ऊर्जा विज्ञानलाई व्यावहारिक तथा अनुभवजन्य विधिहरूमा एकीकृत गर्दै विभिन्न संस्कृतिमा सहज रूपमा प्रयोग गर्न सकिने अभ्यासहरू विकास गरेको छ।
यसको मार्गदर्शनबाट विभिन्न कार्यक्रमका साथ संलग्न भई प्रत्यक्ष रुपमा विश्वभर एक करोडभन्दा बढी मानिसहरूले सचेतना, आन्तरिक सन्तुलन, सचेत निर्णय क्षमता र समग्र जीवनशैली विकासमा लाभ लिएका छन्।
८० भन्दा बढी देशमा २,५०० भन्दा बढी प्रशिक्षक तयार गरिसकेको यस फाउन्डेसनका डिजिटल कार्यक्रमहरूसमेतबाट ५ करोडभन्दा बढी मानिस लाभान्वित भएका छन्, जसले कालजयी हिमाली अभ्यासहरूलाई आधुनिक जीवनका आवश्यकताअनुसार सफलतापूर्वक अनुकूलन गर्न सकिने प्रमाणित गर्दछ।
हाल जीवन विज्ञानले विराट चक्र विज्ञान, स्वजागरण कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान कार्यक्रमहरू र विभिन्न सामुदायिक रूपान्तरण पहलहरू मार्फत आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ। जीवन विज्ञानका नेपालबाहिर अमेरिका बेलायत र कतार र क्यानडामा शाखा कार्यालय रहेका छन् ।
काठमाडौँको चाबहिलबाट केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको जीवन विज्ञानले हाल धादिङ्को थाक्रे गाउँपालिकामा ७४ रोपनी क्षेत्र रहेको निजी जमिनमा अत्याधुनिक सुविधासहितको ध्यानकेन्द्र आगन्तुक आवास गृह आयुर्वेद औषधालय तथा गौशालासहितको व्यवस्था गर्दै निर्माण कार्य प्रारम्भ गरिसकेको छ भने यसलाई जीवन विज्ञानले अन्तर्राष्ट्रिय आध्यात्मिक अनुसन्धान केन्द्रमा रुपान्तरण गरी विश्वका आध्यात्मिक साधकलाई पुस्तौँपुस्तासम्म आकर्षण गर्ने लक्ष्यका साथ काम गरिरहेको जीवन विज्ञान प्रतिष्ठानले जनाएको छ।
नेपालको आध्यात्मिक सम्पदा र विश्व योगदान
डिसेम्बर १९ मा हुने यस अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको सहभागिताले ध्यान र सजगताका क्षेत्रमा नेपालको विशिष्ट आध्यात्मिक सम्पदा र विश्व योगदानलाई प्रतिबिम्बित गर्दछ। ध्यान र साधनाको दीर्घ इतिहास तथा शताब्दीयौँदेखि आन्तरिक ज्ञान अभ्यास र प्रसार गर्दै आएका ऋषिमुनिहरूका कारण नेपाल आध्यात्मिकता र समग्र कल्याणको क्षेत्रमा विशिष्ट अधिकार सम्पन्न राष्ट्रका रूपमा स्थापित छ ।
गुरुदेव भानु शर्माको सत्रमार्फत् नेपालले ध्यानबाट प्रत्येक व्यक्तिलाई कसरी आन्तरिक शक्ति, करुणा र सन्तुलित जीवन विकास गर्न सहयोग गर्छ भन्ने तथ्य विश्वसामु प्रस्तुत गर्दै विश्वभरका व्यक्ति र समुदायलाई शान्ति, सद्भाव र लचिलोपन निर्माणका उपकरण प्रदान गरिने अपेक्षा गरिएको छ।
‘स्वजागरण आयोजना बारे
जीवन विज्ञान प्रतिष्ठानबाट केही वर्षयता सुरु गरिएको स्वजागरण आयोजना ‘अवेकनिङ प्रोजेक्ट’ मानव क्षमताको जागरण र विश्वव्यापी शान्ति निर्माण सुदृढ गर्न विज्ञानमा आधारित, अनुभवजन्य ढाँचा प्रदान गर्ने अत्यन्त प्रभावकारी पहल हो ।
संयुक्त राष्ट्रसंघमा आयोजना हुने विश्व ध्यान दिवसका सत्रहरूमा यस परियोजनालाई विशेष रूपमा प्रस्तुत गरिनेछ, जहाँ ध्यान र सचेत जीवनशैलीले आन्तरिक शक्ति, करुणा र लचिलोपन विकास गरी शान्त मन, करुणामय समाज र सचेत सभ्यताको दिशामा विश्वलाई मार्गदर्शन गर्न सक्छ भन्ने सन्देश नेपालले प्रस्तुत गर्नेछ ।
गुरुदेवद्वको संलग्नतामा अन्य कार्यक्रम
डिसेम्बर २० मा न्युयोर्कमा नेपाली समुदायबीच गुरुदेवद्वय सत्सङ्गमा सरिक हुनेछन्। डिसेम्बर २१ मा नेपाली दूताबास वासिङ्टन डी सी मा ध्यान तथा स्वजागरणबारे गुरुदेवद्वय अन्तर्दृष्टि प्रस्तुत गर्नुहुँदै अभ्यास गराउनेछन्।
अमेरिकी मूलका सहभागी तथा नेपाली मूलका युवासहितको कार्यक्रम दूताबासमा आयोजना हुनेछ। सोही दिन भर्जिनयामा भानु गुरुदेवको शुभजन्मोत्सव समारोह आयोजना गरिनेछ। भर्जिनिया र मेरिल्यान्डमा अन्य सत्सङ्ग कार्यक्रममा सरिक हुनुभई गुरुदेवद्वय जनवरी २ दिख ८ सम्म टेक्सासको डालसमा आयोजना गरिएको चक्र विज्ञान कार्यक्रमका लागि टेक्सास जानेछन्।
टेक्सासमा रहँदा गुरुदेवद्वयले डालस अस्टिन तथा सान आन्तनियो सहितका सहरमा विभिन्न मितिमा सरिक भई नेपाली तथा गैरनेपाली मूलका सहभागीमाझ सत्सङ्ग प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। गुरुदेवद्वका साथ अमेरिका भ्रमणमा जीवन विज्ञान गुरुकूलका संरक्षक गुरुमा देवी शर्मा हुनेछन्। उनीहरु जनवरी ९ मा नेपाल फर्किने कार्यक्रम रहेको छ।







डिसी नेपाल








Facebook Comment