कविता :माया हरायो
मानव सभ्यताको बस्तीमा
कंक्रिटको जंगल उठ्यो
प्रकृतिको माया हरायो।
धुवाँको आवरणमा
चन्द्रमाले पनि
आफ्नो मुहार लुकायो
-भवन विशाल
-झुटो मुस्कान
-हजारौं एक्लो मान्छे
यहाँ सपना त पलायो
तर जीवनको सौन्दर्य हरायो।
आफ्नै बस्तीहरु पनि
अपरिचित देखिन थालेपछि
न तिमीले छोड्यौ
न मैले तिमीलाई
तर माया आफैं हरायो ।
हाम्रा हातहरू जुधे
तर स्पर्श हरायो
शब्दहरूका अर्थ हराए
बडेमानको शहरमा
माया भन्ने अक्षर हरायो ।
तिमी हराएदेखि
म अधूरो मात्र होइन
अपरिचित पनि छु
तिमी हराएको प्रत्येक पल
तिमीलाई खोज्ने गर्छु
जसरी पानीले
समुद्रलाई खोज्दछ ।
तिमी हराएको शहरमा
म मनका गल्लीहरूमा
माया खोजिरहेछु
भित्र-भित्रै मायाको
आश्रय स्थल ।
जहाँ तिमी
विराजमान हुन चाहन्थ्यौ
हराउन चाहन्थ्यौ
डुब्न चाहन्थ्यौ मायामा ।
प्रतिक्रिया
















Facebook Comment