प्रा. डा. बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
काठमाडौं। प्राध्यापक डाक्टर बाबुराम शर्मा पोखरेलका दुई कृतिहरू हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन्। डा. पोखरेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो।
प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा प्राडा जीवेन्द्रदेव गिरी र प्रा नीलमणि ढुङ्गाना, प्रा केदार न्यौपाने र डा दिनेशचन्द्र पोखरेलले संयुक्त रूपमा पुस्तक शनिबार भएको विशेष कार्यक्रममा सार्वजनिक गरे। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा पोखरेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्व प्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोखरेलले पुस्तक प्रकाशन गरेका हुन्।
डा पोखरेलले पीएचडी गर्दाको विषयलाई संस्कृतमा लेखेको उक्त अनुसन्धानलाई प्रा नीलमणि ढुङ्गानाले नेपाली भाषामासमेत अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो। पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेको र त्यसको उपपुराणमा ५० खण्ड रहेकोमध्ये एक खण्ड हिमवतखण्ड रहेको ढुङ्गानाले बताए। कार्यक्रममा प्राडा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोखरेल रहेको उल्लेख गर्दै हिमवतखण्डमा मूलरूपमा नेपाल खण्ड पाइने उल्लेख गरे।
प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवन जगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्धत मिल्ने भन्दै प्राडा पोखरेल पुराण इतिहासको स्तम्भ भएको बताए। साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनले बताए। वक्ताहरू प्राडा गिरी, प्रा न्यौपानेले यो पुस्तकले प्राचिन विषयको अध्ययन गर्न चाहनेहरूका लागि यो पुस्तक निकै नै महत्वपूर्ण रहेको बताए।
पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोखरेलका पुत्र डा पोखरेलले पिताको अर्को पुस्तक अर्को वर्ष प्रकाशित गर्ने बताए। उनले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिए।







डिसी नेपाल








Facebook Comment