पूर्वमन्त्री खड्का रास्वपा प्रवेश
काठमाडाैं। पूर्वमन्त्री पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले खड्कालाई पार्टी प्रवेश गराएका हुन्।
कास्कीबाट सुरुमा नेपाल विद्यार्थी संघको राजनीति गरेका खड्का अध्ययनको क्रममा बेलायत बसे।
अध्ययन पूरा गरेर नेपाल फर्किएपछि तत्कालीन माओेवादीले चलाएको जातीय पहिचानसहितको संघीयताको विपक्षमा खड्काले आफूलाई उभ्याए। जातीय राज्य विरुद्ध क्षत्री समाज नै गठन गरेका उनले ०७० सालको दोस्रो संविधानसभामा अखण्ड नेपाल पार्टी गठन गरेर चुनावमा होमिए।
सो पार्टीले समानुपातिकतर्फ एक सिटमा जित हासिल गर्यो। सोही बेला खड्का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसमेत बने।
अध्ययनशील मानिने खड्का भाषण कलामा माहिर मानिन्छन्। संविधान जारी भइसकेपछि उनले आफूले नेतृत्व गरेको अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा बिलय गराए। त्यसपछि उनी गृह जिल्ला कास्कीबाट कांग्रेसको राजनीतिमा सक्रिय भए।
उनी ०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट गण्डकी प्रदेशको समानुपातिक सांसद बन्न सफल भए। त्यो बेला केन्द्रदेखि सातवटै प्रदेशमा नेकपाको एकल सरकार थियो।
गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार थियो। तर नेकपा विभाजन भएपछि अल्पमतमा परेपछि पृथ्वीसुब्बाले मुख्यमन्त्री पदबाट राजीनामा दिए। त्यसपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भयो। सो सरकारको सुत्राधार खड्कालाई नै मानिन्छ। उनी सो सरकारमा मन्त्री थिए।

चुनावको मुखमा गठन भएको सरकार भएका कारण उनले आफ्नो निर्वाचन क्षेत्रमा राम्रै बजेट पारेको आरोप पार्टीभित्रैबाट लाग्न थाल्यो। उनीमाथि आफ्नै सरकारलाई असहयोग गरेको, पार्टीका उम्मेदवार विन्दु थापालाई हराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पोखरेलले थापालाइ मन्त्री पदबाट बर्खात गरिदिए।
नेपाली कांग्रेस कास्कीले त्योबेला नै कारबाहीका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरेको थियो। गत असार २५ गते खड्कालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरी १ वर्षका लागि निस्कासन गरिएको थियो।
कतिपयले बिन्दु थापा कांग्रेस नेतृ आरजू देउवासँग निटक भएका कारण आरजूलाई खुशी बनाएर बिन्दुले आफ्नो प्रतिस्पर्धी रहेका खड्को राजनीति सिद्य्याउन भूमिका खेलेको टिप्पणी गर्दछन्। बौद्धिक नेताको छवि बनाएका खड्का खड्कालाई कांग्रेसले अन्याय गरेपछि उनले रास्वपा रोजेको टिप्पणी हुने गरेको छ।
त्यस यता निष्क्रिय रहेका खड्काले वैकल्पिक शक्तिबाट देश निर्माण सम्भव भएकाले रास्वपा रोजेको बताए। परम्परागत शक्तिबाट अब देशको विकास र समृद्धि सम्भव नभएको उनको भनाइ छ।
आफूलाई नेपाली कांग्रेसले अन्यायपूर्ण ढंगले कारबाही गरेर राजनीतिबाटै बाहिर निकाल्न खोजेपछि बाध्य भएर नयाँ विकल्प रोजेको उनले बताए।
शनिबार रास्वपा प्रवेश गरेका खड्कालाई ठूलो संख्यामा स्थानीयले साथ दिएका छन्। खड्का निवासबाट कार्यक्रम स्थल जाँदा करिव तीन हजार समर्थकले साथ दिएका थिए।
खड्का रास्वपा प्रवेश गरेसँगै नेपाली कांग्रेसलाई कास्कीका ठूलो झड्का लागेको छ। बौद्धिक, कार्यकर्तामा भिस्नसक्ने खुबी भएका खड्का निर्वाचनको मुखमा रास्वपा प्रवेश गर्दा कांग्रेसलाई भने त्यसले क्षति पुग्ने निश्चित छ।
खड्कालाई पार्टीमा स्वागत गर्न रास्वपाको केन्द्रीय नेताहरु पोखरामा पुगेका थिए। उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायतका केन्द्रीय नेता पोखरा पुगेका थिए।







डिसी नेपाल








Facebook Comment