औद्योगिक अनुभवमार्फत संसदमा योगदान दिन समानुपातिकमा समावेशः विदुषी राणा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) बाट समानुपातिक सूचीमा नाम परेकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसदमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताएकी छन्।
गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ शाहले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गरेका थिए । तर राणाले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्ने र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभई औद्योगिक अनुभवमार्फत राष्ट्र र समाजको हितमा काम गर्ने उद्देश्य रहेको उल्लेख गरेकी छन्।
राणाले लेखेकी छन,“मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ । ५५ वर्षभन्दा बढी इतिहास बोकेको गोल्ड स्टार जुत्ता उद्योगसँग म एक दशकभन्दा लामो समयदेखि आबद्ध छु । यस उद्योगमार्फत आज ३,०००–४,००० महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् र त्यसको तीन–चार गुणा बढी परिवार अप्रत्यक्ष रूपमा आय र जीवनसँग जोडिएका छन् ।”
उनले औद्योगिक क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरू निरन्तर उठाउँदै आएको पनि उल्लेख गरेकी छन् । नगर प्रमुख बालेन्द्र शाहले उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गरेपछि राणाले जिम्मेवारी स्वीकार गरेकी हुन् ।
विदुषी राणाले २०७२ को संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार, उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता अपरिहार्य रहेको विश्वास व्यक्त गरिन् । उनले भविष्यमा आवश्यक परे जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताउँदै आफ्नो प्राथमिकता पद वा अधिकारमा नभई मुद्दा र यसको निरन्तरतामा रहेको स्पष्ट पारेकी छन् ।
स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणका मुद्दा संसदमा अघि बढाउनु आफ्नो मुख्य उद्येश्य रहेको राणाको दाबी छ ।







डिसी नेपाल








Facebook Comment