गमगढीबजारमा खानेपानीको अभाव नहुने, ८ करोड २३ लाखको आयोजनाको काम धमाधम
मुगु। सदरमुकाम गमगढी बजारमा लामो समयदेखि खानेपानीको चरम समस्या झेल्दै आएका गमगढीबासीका लागि राहतको संकेत देखिएको छ।
गमगढी बजारमा खानेपानी सुधार विस्तार आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेसँगै आउँदो दिनमा सहज हुनेमा स्थानीय आशावादी छन्।
गमगढीमा हाल ५ सय ८६ घरधुरी छन्। गमगढी खानेपानी उपभोक्ता समितिका अनुसार २ लाख ५० हजार घनमिटर क्षमताका रिजर्भ ट्यांकीबाट हाल ४ सय ५० घरधुरीले मात्रै नियमित पानी उपभोग गर्दै आएका छन्।
बिहान बेलुका यि टयाङ्कीबाट २ करोड ५० लाख लिटर पानी बितरण भइरहेको भएपनी आवश्यक्ता अनुसारको पानी पुराउन नसक्दा पानीको समस्या झेल्नु परेको हो।
गमगढी बजारमा खानेपानीको अभाव समाधान गर्नका लागि संघीय खानेपानी आयोजना सुर्खेतमार्फत ८ करोड २३ लाख ६९ हजार ९ सय ६७ रुपैयाँ लागतमा गमगढी खानेपानी सुधार विस्तार आयोजना सञ्चालनमा ल्याइएको छ।
आयोजना अन्तर्गत १४ किलोमिटर टाढाबाट पानीको मुहान ल्याई १ लाख ४५ हजारको चारवटा नयाँ रिजर्भ ट्यांकी निर्माण गरिँदैछ। आरयु मैनाली केटीएस जेभीले निर्माणको जिम्मा लिएको आयोजनामा मुख्य पाइपलाइन बिछ्याउने काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।
विशेषगरी फागुनदेखि जेठ–असारसम्मको अवधी गमगढीबासीले चरम खानेपानी संकट झेल्दै आएका छन्। धारामा पानी नआउँदा आधा घण्टा टाढा रहेको कार्कीबाडा र चैनखोलाका ढुंगेधाराबाट पानी बोकेर ल्याउन बाध्य छन।
सो अवधीमा हप्तामा दुई तिन दिनसम्म धारामा पानी नआउने गरेको स्थानीयको गुनासो रहेको मुगु जिल्ला छाउल्या टिमकम अध्यक्ष बिर्ख बहादुर मल्लले बताए।
बजारमा आकाश र जमिनमा लथालिङ्ख रुपमा पाइपहरु रहँदा बजारमा सवारी साधन गुडाउन पनि समस्या हुनुका साथै बजारको स्वरुप पनि विग्रिएको स्थानीयको भनाइ छ।
हाल बिहान–बेलुका करिब ३ करोड लाख ९५ लाख लिटर पानी आवश्यक पर्ने भए पनि हाल २ करोड ५० हजार लिटर मात्रै पानी वितरण हुँदै आएको छ। नयाँ आयोजनाले गमगढी बजार क्षेत्रका उपभोक्ताको समस्या पूरा हुने गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोरखबहादुर मल्लले जानकारी दिए।
आयोजनाअन्तर्गत छायाँनाथ रारा नगरपालिका–७ स्थित झ्यारी खोलाको मुख्य मुहानबाट ४ सय मिटर १ सय २५ एमएम, बाँकी १ सय १० एमएमका पाइप प्रयोगगरी पानी ल्याइँदैछ।
कालीका–मालिका मन्दिर नजिक ४५ हजार, ठिनीमा २५ हजार र डिमुखाडामा २५ हजार घनमिटर क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माण हुँदैछन्। साथै कार्कीबाडा मुहानबाट ५० एमएमको पाइपमार्फत पुरानो खानेपानी कार्यालय परिसरमा ५० हजार घनमिटर क्षमताको ट्यांकी निर्माण गरिने संघीय खानेपानी आयोजना सुर्खेतका सब–इन्जिनियर खगेन्द्र भण्डारीले बताए।
आयोजना २०८४ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कम्पनीले आउँदो असार महिनाभित्रै काम सक्ने लक्ष्य लिएको छ।
निर्माणको जिम्मा लिएको आरयु मैनाली केटीएस जेभीका आधिकारिक प्रतिनिधि केशव चौलागाईंले निर्धारित समयभन्दा अघि नै आयोजना सम्पन्न गर्ने प्रयास भइरहेको बताए।







डिसी नेपाल








Facebook Comment