धनुषा मस्जिद तोडफोड घटना : सरोकारवलासंग छलफल सम्पन्न
जनकपुर। धनुषाको कमला नगरपालिका वडा नं. ६ मा गत शनिबार १९ गत्ते भएको मस्जिदमा तोडफोड एवम मुस्लिम धर्मको धार्मिक ग्रन्थमा आगजनी घटनामा आज सरोकारवलाहरुसंग छलफल भएको छ।
जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गरेका छन्। छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लुइटेलले कमला नगरपालिकाका घटेको घटनामा संलग्नहरु कानुन बमोजिम सजाय हुने जानकारी दिए।
उनले सामाजिक सद्भाव, धार्मिक सहिष्ण्णुता, एकताको भावनामा कहिँ कसैबाट कानुन उलंघन हुने, द्वव्श फैलाउने, एक अर्काप्रति आक्षेप लगाउने जस्ता कार्यहरु गर्न नहुने बताए। यस्ता क्रियाकलाप गर्ने जुनसुकै पक्षका व्यक्तिलाई कानुनी दायरामा लिएर मुलुकी फौजदारी संहीयता बमोजिम कारवाही हुने उनले प्रष्ट पारे।
प्रजिअ लुइटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोसित समुदायलाई आग्रह गरे। उनले अहिलेसम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरुको खोजी कार्य भइरहेको जानकारी दिए।
छलफलमा सहभागी धनुषाका एसपी रुगम बहादुर कुवरले यस्ता घटनालाई दिर्घकालिन रुपमा रोक लगाउन सरकारले सामाजिक सञ्जाललाई गम्भिर भएर अनुगमन र नियन्त्रण गर्नु पर्ने धारणा राखे। उनले सामाजिक सञ्जाललाई नियमन गर्न नसक्नुको कारण नै कमला नगरपालिकाको घटना घटनुको मुख्य कारण रहेको बताए।
गत शनिबार धनुषाको कमला नगरपालिका ६ का मुस्लिम समुदायका केही युवाहरुले टिकटकमा हिन्दू समुदायलाई लक्ष्ति गर्दै भिडियो बनाएर पोस्ट गरेका थिए। सोही आक्रोसमा हिन्दू समुदायका केही युवाहरुले सोही वडामा रहेको मस्जिदमा तोडफोड गर्नुका साथै धार्मिक ग्रन्थ कुरानलगायतका किताबहरु जलाई दिएका थिए। सो पश्चात उक्त क्षेत्रमा तनाव सृजना भएको थियो। धनुषा प्रहरीले टिकटकमा भिडियो बनाएर अपलोड गर्ने दुई जना र मस्जिदमा तोडफोड गर्ने एकजनालाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।







डिसी नेपाल








Facebook Comment