कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

डिसी नेपाल
२२ पुष २०८२ १८:३८
52
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन्।

मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन्।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन्।

नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार एमाले र कांग्रेसबाट चारचार जना मन्त्री र एकएक जना राज्यमन्त्री सहभागी गराइएको छ। सत्तासाझेदार दलहरूबीच भएको भागबण्डाअनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

नयाँ मन्त्रिपरिषद्अनुसार प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्।

यस्तै, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। रामप्रसाद महतो सामाजिक विकास मन्त्री बनेका छन् भने मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय सम्हालेका छन्। इसाईल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन्।

राज्यमन्त्रीतर्फ शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् भने उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन्।

शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सरकारको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको जानकारी गराए। उनले प्रदेश सरकारलाई जनउत्तरदायी, नतिजामुखी र स्थिर बनाउने लक्ष्यका साथ नयाँ टिमलाई जिम्मेवारी दिइएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.