सरकारको तटस्थता र पारदर्शितामाथि कांग्रेस नेता महरको प्रश्न

डिसी नेपाल
२३ पुष २०८२ १६:१४
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले सरकारको तटस्थता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै खबरदारी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले निष्पक्ष निर्वाचनको वातावरण र सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गरेका हुन्। उनले लोकतन्त्रमा निष्पक्ष निर्वाचनका लागि सरकारको भूमिका तटस्थ हुनुपर्नेमा जोड दिएका छन्।

नेता महरले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको राजनीतिक दलसँगको आबद्धता जनताबाट लुकेको विषय नभएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, निष्पक्ष निर्वाचनका लागि सरकारको तटस्थता आवश्यक हुन्छ। अहिलेको सरकारमा बस्नेहरूको राजनीतिक दलहरूसँगको आबद्धता जनताले देखेकै छन्।

यस्तै, सरकारका केही मन्त्रीहरू विभिन्न विवाद र काण्डमा मुछिएको विषय समाचारमा आइरहेको भन्दै महरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। मन्त्रीहरूको संलग्नता विवादित भइरहँदा सरकारको पारदर्शितामाथि उनले प्रश्न तेस्र्याएका छन्।

महरले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, सरकारका केही मन्त्रीहरू काण्डहरूमा संलग्न भएको समाचार पनि पढ्न पाएकै छौँ। अनि सरकारका प्रधानमन्त्रीले यो सरकारलाई कसरी पारदर्शी नागरिक सरकार भन्नुहुन्छ?

पछिल्लो समय सरकारका काम कारबाही र मन्त्रीहरूका विवादास्पद अभिव्यक्ति तथा कार्यशैली बाहिर आइरहँदा कांग्रेस नेता महरको यो खबरदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.