कांग्रेसमा हुनसक्ने विवादबारे निर्वाचन आयोगमा पूर्वतयारी सुरु, अध्ययन हुँदैछन् यी दस्तावेज

डिसी नेपाल
२७ पुष २०८२ १२:२२
768
Shares

काठमाडौं । संस्थापन पक्षको असहमतिका बीच आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएपछि भोलिका दिनमा हुन सक्ने विवादबारे निर्णय गर्नका लागि निर्वाचन आयोगले पूर्वतयारी सुरु गरेको छ ।

विशेष महाधिवेशनपछि नयाँ कार्यसमिति बन्न सक्ने र उसले वैधानिकताका लागि निर्वाचन आयोगमा आवेदन गर्न सक्ने अवस्थामा आयोगले पूर्वतयारी थालेको हो । विधान महाधिवेशनपछि चुनिने नयाँ कार्यसमितिले आफूलाई वैधानिक नेतृत्व दाबी गर्न सक्ने र अहिलेको नेतृत्वले विधान महाधिवेशनलाई नै अवैधानिक भन्दै आफैलाई आधिकारिक दाबी गर्न सक्ने सम्भावनाबारे आयोगले अध्ययन थालेको हो ।

आयोगले अहिले नेपाली कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन, यससँग सम्बन्धित निकायमावलीहरू र विगतका नजिर अध्ययन गरिरहेको स्रोतले जानकारी दिएको छ । आयोगले यसअघि पनि राजनैतिक दलमा विवाद हुँदा कस्ता खाले विवाद भएका थिए, कस्ता दाबी गरिएका थिए र ती विषयमा विगतमा आयोगले र अदालतले समेत कस्तो निर्णय गरेको थियो भन्ने बारे अध्ययन गरिरहेको छ ।

प्रचलित कानुनअनुसार कांग्रेस वा अन्य जुनसुकै राजनैतिक दलले नियमित वा विशेष महाधिवेशनबाट गरेका कुनै पनि निर्णय निर्वाचन आयोगमा अभिलेख र अद्यावधिक गर्नुपर्छ । त्यसलाई वैधानिकता दिएर अभिलेखमा राखेर अद्यावधिक गर्ने कि नगर्ने भन्ने निर्णय आयोगले गर्ने हो । आयोगको निर्णयमा चित्त नबुझे यो विषय अदालतसम्म पनि पुग्न सक्छ तर पहिलो निर्णय आयोगबाटै हुन्छ ।

कांग्रेसको विशेष महाधिवेशनले संशोधन गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा केन्द्रीय कार्यसमिति हो । महाधिवेशनले नयाँ नेतृ्तव चयन गर्ने सम्भावना छ । यसबाहेक नीति र विधानमा समेत संशोधन हुन सक्ने अनुमान छ । यी कुराहरू संशोधन भए अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउनुपर्छ । यी कुराहरूलाई अद्यावधिक गर्दा टेक्ने आधार भनेकै सम्बम्धित पार्टीको विधान, संविधानमा रहेको राजनैतिक दल सम्बन्धि व्यवस्था, राजनैतिक दल सम्बन्धी ऐन र नियमावली हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.