देउवासँगको अन्तिम वार्ता विफल, निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व छानिने
काठमाडौं। नेपाली कांग्रेसमा संस्थापनको हेपाहा प्रवृत्ति बढेसँगै सहमतिमा जाने वार्ता विफल भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले बिहान आफ्नै निवासमा बोलाएको भए पनि सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो।
महामन्त्रीद्वयले कांग्रेसलाई एकढिक्का गराएर लैजानुपर्छ भन्दै अन्तिम समयसम्म पनि सहमतिका लागि पर्खने रणनीति लिएअनुसार आज बिहान वार्ता भएको हो।
यद्यपि त्यो वार्तामा आफूहरू अपमानित हुनुपरेको महसुस गर्दै फर्कनु परेको छ। वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि महामन्त्रीद्वय अब विशेष महाधिवेशन प्रतिनिधिहरूको निर्णयका आधारमा अगाडि बढ्ने भन्दै फर्केका छन्।
वार्तामा देउवाका पक्षबाट डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजाल लगायतका नेताहरू सहभागी थिए।
योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ। सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो । त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो।
निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए। उनले भने, ‘समय थप गरिएको छ अब निरन्तर प्रक्रिया अगाडि बढ्छ।’
अत्यधिक रुपमा महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा आउने क्रम जारी रहेको छ। उनीहरू अब निर्वाचनमा सहभागी भएरै छिनोफोनो गर्ने भनी आक्रोश व्यक्त गरिरहेका छन्।
लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले भने, ‘त्यसै फर्कने कुरै भएन। महामन्त्रीहरूले आह्वान गरे। ६० प्रतिशत भन्दा बढीले नयाँ नेतृत्व खोजेर आएका छन् । अब नेतृत्व परिवर्तन गरेरै जाने हो। यथास्थितिमा छाड्यो भने त कांग्रेस सकिन्छ।’
दुई दिनका लागि आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनको समय लम्बिएर आजसम्म पुगेको छ । आजै टुंगोमा पुर्र्याएर जिल्ला जिल्लामा फर्कन महाधिवेशन प्रतिनिधिहरू आतुर देखिएका छन्।
एक महाधिवेशन प्रतिनिधिले भने, ‘देउवासँग वार्ता गर्नुको अर्थ थिएन । तैपनि गगन-विश्वले प्रयास गरे । केही बात छैन । अब हामीले नयाँ नेतृत्व चयन गर्छौं । असन्तुष्ट पक्षले जहाँ जानुपर्छ जाओस्। कांग्रेस कुनै व्यक्तिको पेबा हैन।’







डिसी नेपाल








Facebook Comment