कांग्रेस उम्मेदवारलाई दिइने टिकटमा हस्ताक्षर गर्ने अधिकार त्याग्न देउवा तयार
काठमाडौं । विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँगको वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस उम्मेदवारलाई दिइने टिकटमा हस्ताक्षर गर्ने आफ्नो अधिकार त्याग्न तयार रहेको बताएका छन् ।
बुधबार बिहान भएको छलफलमा देउवाले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने भनिसकेकोले ३ महिना पर्खिन आग्रह गरेका थिए । महामन्त्रीहरूले देउवालाई निष्क्रिय हुन पनि आग्रह गरेका थिए तर देउवाले कुनै जवाफ दिएनन् ।
देउवाले राष्ट्रिय सभामा कांग्रेस उम्मेदवारले आफ्नो हस्ताक्षरबाट उम्मेदवारी दर्ता गरिसकेको र समानुपातिक बन्द सूची पनि आफ्नो हस्ताक्षरबाट गइसकेकोले त्यो फिर्ता गर्न नमिले पनि बाँकी रहेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवारलाई दिइने टिकटमा आफ्नो सट्टा अरू कसैलाई हस्ताक्षर गर्ने अधिकार सुम्पन तयार रहेको बताएका थिए । स्रोतका अनुसार देउवाले भनेका थिए ‘ कानुनअसार बनाउन मिल्छ भने म तयार छु । निर्वाचन आयोग र कानुनका जानकारहरूसँग निर्क्यौल गरौँ ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment