काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानू बाँस्तोला
काठमाडौं। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन्।
उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन्।
‘म कहिल्यै पदका पछि लागिन। किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइएपनि म प्रत्यक्षतर्फ नै उभिएँ। म जनताबाट अनुमोदित हुन चाहन्छु। मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन्। जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु। सत्तामा बसेर काम गरेको छैन र कतै पदको लाभ लिएको पनि छैन। फ्रेस भएकाले मलाई मतदाताले खोज्नुभएको छ,’ उनले अगाडि भनिन्,‘म राजनीतिमा परिपक्व युवा हुँ। सँधै जनतासँगै जोडिएर काम गरेकाले मतदाताले विश्वास गर्नुहुनेछ।’
आफूले जनताका आवाज लिएर हिँडिरहेको र साना भन्दा साना समस्याहरुको समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेदवार खोजेको उनको भनाइ थियो।
‘जनताले खोजेको भनेको समृद्धि र विकास हो। म विगतमा पनि विकास निर्माणका लागि धेरै काम गरेको छु। मेरो फोन २४ घन्टा उठ्छ र घरको ढोका जनताका लागि सधैं खुला छ। म आफ्नै व्यवसाय गरेर राजनीति गरेको व्यक्ति पनि भएकाले कुनै प्रलोभन छैन्,’ उनले अगाडि भनिन्,‘जनताले यतिबेला खोजेको शुसासन हो र भ्रष्टाचारमुक्त समाज निर्माण हो। त्यसका लागि म अब्बल उम्मेदवार हुँ।’
आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताका फरक फरक समस्या र अपेक्षा रहेकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो।
‘मेरो क्षेत्रमा काठमाडौं महानगरको चारवटा वडा, चन्द्रागिरिको पाँचवटा र नागार्जुनका पाँचवटा गरी १४ वटा वडाहरु पर्ने भएकाले न्यूरोडको ओटुका मतदाताको सोच, अपेक्षा, विकास र भावना अनि भीमढुंगाका मतदाताको भावना र विकासको अपेक्षा फरक फरक भएकाले सोही अनुसार काम गर्नुपर्नेछ। त्यसैले सबै क्षेत्रका मतदाताको भावना मजाले बुझेर काम गर्न सक्छु,’ उनले भनिन्,‘यस क्षेत्रको विविधतालाई सम्बोधन गर्न सक्ने व्यक्तिको खोजी पनि भइरहेको छ।’
राजनीतिमा लागेदेखि आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष जोडिएर काम गरेकाले र विभिन्न संघसंस्थामा बसेर काम गरेकाले आम मतदाताले नजिकबाट चिन्नुभएकाले यस पटक विश्वास गर्नुहुन्छ भन्ने विश्वास लिएको सुनाइन्।







डिसी नेपाल








Facebook Comment