नेपाल आमालाई चिट्ठी

सुजन देवकोटा 'युगपुरुष'
१५ माघ २०८२ १३:१६
32
Shares

नेपाल आमा,
नेपाली जनता,
मेचीदेखि महाकाली हुँदै
हिमालबाट तराईसम्म,
नेपाल,

भ्रष्टाचार गर्ने राष्ट्रसेवक,
सिंहदरबार र अदालतलगायत संरचना जलाउने देशभक्त,
खोलानाला बेच्ने राष्ट्रप्रेमी,
युवा विदेश पठाउने विद्वान,
जनता भड्काउने समाजसेवी,
भ्रम फैलाउने सञ्चारकर्मी,
सेवामा स्वार्थ खोज्ने अवसरवादी,
नातावाद खोज्ने देशप्रेमी राजनीतिज्ञ
सबै मिलेर फेरि एक पटक चुनावको खिचडी पकाएर फरक स्वाद लिन खोज्दै छन् भन्ने खबर सुनियो।

आमा,
नेपालमा चुनाव आयो रे!

धुमधामसँग आयो चुनाव। सबै युवाहरू आउनुपर्छ अरे, फेसबुकले भनेको। समाचार सबै युवाहरूको मात्र छ। नेपाली राजनीति हेरेर नबुझेका कैयौँ प्रश्न सोध्नु छ। नेपालको संविधानले बोल्न पाउने अधिकार अनुसार मैले प्रश्न सोध्न पाउँछु नि है?

युवामात्र राजनीतिमा आउनुको औचित्य के होला? के नेपालले बुढापाका राजनीतिज्ञहरूलाई पाखा लगाउनै पर्ने हो? युवाहरू सबै कुरामा अब्बल नै छन् त? कूटनीतिक विचारधारा युवामा पूर्ण रूपमा होला?

उमेर ढल्केका नेताहरूले आजसम्म गरेको काम पूर्ण रूपमा गलत नै थियो? विद्वान, डाक्टर, इन्जिनियर, पाइलट, गायक, पत्रकार, समाजसेवी आदिसँग देश विकासका लागि चाहिने आधारभूत तत्व पूर्ण रूपमा होला? अब नयाँ युवाहरू नेपाललाई आएर सिक्दै राजनीति गर्ने एक थलो बनाउन मात्र उपयुक्त होला?

नेतृत्व सुधारको जरुरत हुँदै गर्दा फड्को नै मार्नुपर्ने कारण बन्यो, तर यो सबै कुरालाई समयको माग मात्र भन्न मिल्छ कि कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजना?

बुढापाकालाई पाखा लगाउनुपर्ने कुनै बिशेष आधार केही होला त? भ्रष्टाचार नियन्त्रण नयाँ पुस्ता मन्त्री भएर गर्न सक्छन् होला? यदि सक्छन् भन्ने धारणा राख्नुहुन्छ भने राजनीतिक नियुक्तिबाट आएका कर्मचारीले सुनिदेलान् युवा नेताको कुरा?

नेपालले आजसम्म लिएको परराष्ट्र नीतिमाथि नयाँ आएका जोसिला युवाको खरो आवाजले भारत र चीनसँगको सम्बन्ध के होला? नयाँ युवाले कूटनीतिक विचार सिक्न जरुरत होला कि नहोला? २०४६ को जनआन्दोलनपछि सबै आन्दोलनमा परिवर्तन खोजियो, तर हाम्रो चेतनाको परिवर्तन खै?

कति नयाँ अनुहार आए २०४६ सालबाट? के-के शीर्षकमा आन्दोलन, कति सहिद? दरबार हत्याकाण्डदेखि राजसंस्थाको अन्त्य हुँदै ६२/६३ को गणतन्त्रको परिणाम के? दुई तिहाइ सरकार आजसम्म कतिपटक बने? त्यहाँबाट के सिक्ने? तराईको भूभागमा भएको प्रदेश भागबन्डादेखि जातीय राज्य हुँदै प्रदेशको नामकरण गर्दैमा गणतन्त्र शासन कालका १० वर्ष स्वाहा भएको जिम्मा कसले लिने?

प्रदेशको जन्म र नामकरणमा १० वर्ष सक्किँदा त्यसको माग गर्ने जनता के हामी नै होइनौँ र? तपाईंहरूलाई थाहा छ, नेताले घुस खाने नियम? संसदबाट संविधानको धारा परिवर्तन गरेर बिचौलियाबाट कमिसन खाने कुन शासनमा पर्छ? के बिचौलिया अन्त्य आजै सम्भव होला?

७५३ स्थानीय तह र ६७४३ वडामा कति राजनीतिक दल र तिनका संगठन होलान्? जनगणना अनुसार के २० वर्षदेखि ४५ वर्षसम्मको पुरुष जनसंख्या र यो संरचनामा भएका नेता करिब बराबरजस्तै त छैनन्? नेपाल आमा, तिमीलाई थाहा छ? हालै हुन लागेको १६५ जना सांसदका लागि ३४४८ जनाको उम्मेदवारी—के थाहा जनतालाई नेता कति छन्? अनि सम्झिनुहोस्-नेता कति र जनता कति? को जनताको नेता?

नयाँ युवा भन्नेहरू कहाँबाट आए? अब आउने पुस्ताले कानुनबारे जानकारी राख्न सक्लान्? राष्ट्रप्रमुख राष्ट्रपति र सरकार प्रमुख प्रधानमन्त्री भएर सञ्चालन गरिने नेपालको संसदीय संरचनाको अध्ययन होला युवा सँग? के हो नयाँ दल र पार्टी भनेको? पुराना कसलाई भन्ने?

नयाँ अनुहार आवश्यकता कि विचार? आवश्यकता कि अब्बल कूटनीतिक विचारधारा? के पार्टीको संरचना बलियो बनाउनु देशको विकास मानिन्छ? संसदमा दुई तिहाइ बहुमतलाई बलियो मान्ने हो भने आजसम्मका दुई तिहाइका सरकार सधैँ असफल किन भए?

जनताको भोटले बन्ने सरकारमा आफ्नो मन परेकोलाई भोट हाल्न नपाउने किन? गठबन्धनको लगनगाँठो कहाँ बाँधिन्छ र फुस्किन्छ भन्ने कुरा न बाँध्नेलाई थाहा छ, न फुकाउनेले जान्दछ यही व्यवस्थालाई गणतन्त्र भनिन्छ हो?

कम्युनिस्टको मार्क्सवादी कसौटीमा प्वाल परेपछि, प्रजातान्त्रिक पार्टीको समाजवादी तप्केको बिँड फुक्लिएपछि, जेन-जिको हतियार बनाएर नयाँ युग खोज्नेहरूप्रति मेरो कुनै गुनासो छैन।

आदि इत्यादि प्रश्न आफैँमा अनुत्तरित भनौँ वा समय, काल र परिस्थिति अनुसार फरक-फरक परिभाषा हुन्छ भनौँ सबै जनताको इजलासमा सुम्पिँदै फैसलाको अपेक्षा गर्दछु।

नेपालमा बहस हुने आधारभूत वैचारिक धारहरूमा समान अवसरको समाजवाद, वर्गविहीन र शोषणरहित साम्यवादको भाषण कता छ? व्यक्तिगत स्वतन्त्रता, कानुनको शासन र खुला बजार अर्थतन्त्र भनेर चिनिने उदारवादमाथि पूँजीवादीको गिद्धे नजर भेटिने उदाहरण हो नेपाल।

राष्ट्रवादले उग्र भएका नव राजनीतिज्ञ युवा जमातद्वारा लोकतान्त्रिक गणतन्त्र नेपालमा लगाइएको आगोको झिल्कोले राष्ट्रिय सम्पत्तिको क्षति उपहार दिँदै छन्।

जनता मारेर जनताकै
घरमा भोट माग्न
जाने साहसी नेता
अरूको चुनाव चिह्नमा
भोट हाल्न लगाउने
मिलनसार नेता
वचन जनताको नाममा
स्वार्थ आफ्नो नाममा
गर्ने
यस्तो त्यागी नेता
फेसबुकमा स्टाटस
पोस्ट्याउने
लोकप्रिय नेता
बोलेर सबैमा भ्रम
छर्न सक्ने युगनेता
देश बेच्ने राष्ट्रनेता
भयो, म जान्दिन
आमा!
चुनावी दशैंमा
बलिप्रथाको चलन,
टिकट वितरणमा
आफन्तवादको गणित!
नगदी बाटोखर्चसँग
भोट हाल्ने वचन पक्की,
गणतन्त्र
लोकतन्त्र
प्रजातन्त्र
साम्राज्यवाद
साम्यवाद
समाजवाद
अधिनायकवाद
राष्ट्रवाद
के के हो, के–के!
कठै यो दुनियाँ!
राजनीति के थाहा गोठमा
भेडा चराउन गएका भोटे दाइलाई,
घोडाको सिङ बनाएर क्षितिज
हेरेका बा लाई
काली बाख्रीले
चर्न जाँदा दुःख
दिएको गुनासो गर्दै
अगेनामा अहुल्टो
ठोस्दै गरेकी मेरी आमालाई
के थाहा राजनीति?

सरकारी क्याम्पसमा
भर्ना गरेर फाइनान्समा
पैसा उठाउने
काम गर्दै गरेकी वार्षिक
जाँच दिन मात्र जाने
बिचरी मेरी
बहिनीलाई के थाहा
कलेजको विद्यार्थी राजनीति?

आमा, यो कविता तिमीलाई मात्र
अलिकति पठाइएको छ
क्षणिक ताली र वाहवाही
माथि मौलाएको भ्रमको खेती?
नीति कि नारा?
योजना कि उत्तेजना?
भीड कि विचार?
क्षणिक भ्रमको
कमजोरीले स्थायी परिणाम
जय नेपाल! जय नेपाल!! जय नेपाल!!!

संविधानमा सिंहदरबारमा जबर्जस्ती पस्न खोज्नेलाई गोली चलाउने भनेर विधान लेख्नेहरूले जेन्जि बाबुनानी माथि चलेको गोलीलाई अपराधी गतिविधि भनिदिँदा चसक्क मन दुख्छ। आफैँले लेखेका कुराहरू आफैँ बुझ्न सकिँदैन भने किन लेख्नु होला? राजनीति नै सामाजिक सञ्जालमा, विकास सामाजिक सञ्जालको स्टाटसमा भएको देखेर छक्क परेको छु।

जसले प्रतिपक्षीको बारेमा टाठो बोल्न सक्छ, उहीलाई राजनेता मानेको देख्दा उदेक लागेर आउँछ। राजनीतिक पार्टीको विश्लेषण गरेर नथाक्ने प्रोफेसरहरूले देश विकासको मोडलमा एक लाइन बोल्न नसक्दा औपचारिक शिक्षाको औचित्यमाथि प्रश्न गर्न मन लाग्छ।

आमा, भनिदिनुस् न सत्ताको कुर्सीमा के छ? नयाँ पु स्ताको उद्देश्यलाई सम्बोधन गर्न बनेको आधुनिक सरकारको प्रधानमन्त्री बाहेक सबै नयाँ दलका टिकट धारीहरू चुनावमा होमिएको देख्दा मस्तिष्कको अन्तरकरणबाट केही सोच्न सक्दिनँ र एकोहोरो टोलाइरहन्छु।

राजनीति गर्ने व्यक्तिले यो पार्टी फेरेपछि नयाँ भइन्छ हो? होइन भने यो नयाँ दल र पार्टी कसरी भयो? के प्रचण्डको पाँचकुने तारा झन्डे नेपाली कम्युनिस्ट पार्टीलाई नयाँ भन्न मिल्छ कि मिल्दैन?

करोडौँ जनताका लागि लाखौँ अनुत्तरित प्रश्नका थैलाहरू मानसपटलमा खोल्दै बन्द गर्दै गरेको छु, किनकि यी प्रश्नका उत्तर न फेसबुकको एल्गोरिदमले एकोहोरो बनाएको जनतासँग छन्, न कुनै राजनीति गर्ने नेताले दिन चाहन्छन्।

पुराना पार्टीहरू राम्रा छैनन् भन्दै फाइदा उठाउन अवसर खोज्नेहरूको भिड भएको छ। आमा जनतालाई यति सामान्य कुराहरू बुझ्ने सद्बुद्धि देऊ न।
पुराना पार्टीसँग प्रतिस्पर्धाको जरुरत छैन।

यहाँ देशले विकासको नयाँ खाका कोर्न सक्ने विद्वान र जोसिला युवाहरू खोजेको छ। चुनाव गर्ने अन्तरिम सरकारसम्म सम्हाल्न नसक्ने युवाहरू फेरि चुनाव भन्दै जनतामाझ देखिँदा कठै बिचरा।
लाज हुँदैन हो?

गलत बुझेको रहेछु भने माफ पाऊँ।

नयाँ तथा पुराना युवा राजनीतिज्ञहरूसँग मेरो कुनै रिस, वा दुश्मनी छैन, तर प्रश्न भने अवश्य छ।

युवाहरूमा भू-राजनीतिक चेतना कत्तिको छ?

संसारका विकसित देशहरूको नजर किन नेपालमाथि छ?

यस विषयमा अब राजनीतिमा आउने युवाहरूको चेतना कत्तिको होला?

अब सांसद भएर सिंहदरबार प्रवेश गर्ने दौडमा लागेका व्यक्तिहरूलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अर्थ थाहा होला नि?
सञ्चारमाध्यमहरूले यस्ता विषयमा किन प्रश्न गर्दैनन्?

सांसदको काम देशको शान्ति सुरक्षा र जनताको हकहितका लागि उपयुक्त कानुन बनाउने हो।
त्यसका लागि सम्बन्धित विषयमा चेतना हुनुपर्ने हो।

मेरो प्रश्न जनताको इजलासमा सुम्पिँदै फैसलाको आशा गर्दछु
जेन जी युवाहरूको असन्तुष्टि भन्दै केही मागहरू सहित भएको शान्तिपूर्ण आन्दोलनमा तालिमप्राप्त आगजनीकर्ताले गरेको व्यवहारको हिसाब किताबको जिम्मा कसले तिर्छ, आमा?

राष्ट्रसेवक सईको भन्दा फरक गोली लागेर हत्या भएका युवाहरूलाई सहिद घोषणा गर्ने, र जलेका संरचनाहरू सबैलाई सामान्य ठानी अनुसन्धान नगर्ने निर्णय भएको होला सायद।

आजभोलि यस विषय पछि परेको देखिन्छ।

आन्दोलनको बेलामा बेपत्ता भएर लुकेका जिम्मेवार नेताज्यूहरू अहिले चुनावको बेला हिमाली जुकाले कुनै जीवजन्तुको गन्ध पाएपछि रुखबाट जिउ हल्लाउन थालेजस्तो गरी फेरि गाउँ, सहर, चौतारा र चोकमा सुशासनका भाषणसँगै आ-आफ्ना चिनारीका झण्डाहरू हल्लाउन थालेछन्।

फेरि भन्न मन छ ए पशुपतिनाथ, अब त जनतालाई बुद्धि देऊ न।

संसारमा भएका कुनै पनि प्रचलित शासनव्यवस्थालाई नराम्रो भन्न मिल्ने अवस्था छैन। गणतान्त्रिक चिनदेखि प्रजातन्त्रमा नर्वे र स्वीडेन लगायत, राजाको हातमा शासनसत्ता भएका अरबी मुलुकहरू सम्म आफैमा समृद्ध छन्।

व्यवस्था परिवर्तनलाई मात्र विकासको आधार मानेर सत्तामा खेल्ने प्रयास गर्नेहरूलाई मेरो खुला बहसको लागि चुनौती छ। विकास जनताको गाउँघरमा चाहिएको हो, नेताको कुर्सीमा होइन।

निष्कर्षमा

आमा, वैकल्पिक राजनीतिक शक्ति होइन, वैकल्पिक विकासका योजना चाहिएको हो। जोसिलो शक्ति छ भन्ने भिडलाई होइन, उपयुक्त योजना चिन्न सक्ने जनता चाहिएको छ। पुराना राजनीतिकर्मीबाट दिक्क भएको अभिव्यक्ति जनताबाट आउनु आफैँमा विरोधाभास छ, किनकि सबै शक्तिशाली बनेका हाम्रै भोटले हो।

वास्तवमा हामी आफ्नै विचारबाट दिक्क भएका हौँ। भोट हाल्ने, नहाल्ने वा बुझ्न पाउने अधिकार हामीमा छ। हामीले जसरी देशलाई बुझ्छौँ, त्यस्तै नेता चयन गर्छौँ। गल्तीको प्रमुख स्रोत हाम्रो गलत बुझाइ हो, जसको परिणाम गलत नेताहरू नेतृत्वमा पुगे।

हामीलाई कस्तो सरकार चाहिएको हो भन्ने योजना हामीमा नै छैन। जनताको आवश्यकता के हो भन्ने जनताले नै नजाने भने नेताले कसरी बुझ्छन्? जबसम्म प्रस्ट बोली, चर्को आवाज र कसैले गरेको मागलाई नबुझी सही हो भन्दै पछि लागिरहन्छौँ, तबसम्म देश घुमिरहन्छ, हामी घुमिरहन्छौँ।

जय नेपाल! जय देश!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.