कविता : यहाँ को बाँच्यो? यहाँ को मर्‍यो?

विद्यानन्द बेदर्दी
१६ माघ २०८२ १२:१६
56
Shares

यहाँ
कफिनमा सुतेकाहरू उठेर हिँडिरहेका छन्,
र कुर्सीमा बसेकाहरू
चिहानको निद्रामा छन्।
नेता बाँचेका छन्,
तर देशको धड्कन सुन्न सक्दैनन्।
शहीद मरेका छन्,
तर गल्ली–गल्लीमा
अझै प्रश्न बनेर हिँडिरहेका छन्।

शहीदको रगत-
सिँढी बनाइन्छ,
सिँढीबाट कुर्सी चढ्छ,
कुर्सीबाट ऐना हेर्दै भन्छ-
“हामी राष्ट्रसेवक हौँ!”
र शहीद दिवसमा,
चढाइन्छ एक मुठी फूल,
बगाइन्छ एक थोपा आँसु,
वर्षभरिको पाप ढाक्न
मञ्चन गरिन्छ
यही एक दिने नाटक।

यहाँ दोषीहरू
माला लगाएर सम्मानित छन्,
र इमानदारहरू
भोकको रोग लगाएर देशभक्त।
तर सुन, देश!
शहीद मरेर सकिएका छैनन्,
हामी मौन बसेर सकिँदैछौँ।

आजै प्रण गरौं-
अब शहीदलाई
भित्तामा झुण्ड्याएर पूजा मात्र होइन,
छातीमा बोकेर प्रश्न गर्नेछौँ।
किनकि
यहाँ मर्नु ठूलो कुरा होइन,
यहाँ जिउँदै सत्य हुनु
सबैभन्दा ठूलो बलिदान हो!

कवि : विद्यानन्द बेदर्दी
अग्नीशाईर कृष्ण-सवरण गाउँपालिका-४, सप्तरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.