साफ महिला च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित
कास्की। पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल १–० गोलले भारतसँग पराजित भएको छ। पोखरा रङ्गशाालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन। घरेलु टोली नेपाललाई निराश बनाएको भारत आफ्नो पहिलो खेलमा तीन अङ्क जोड्न सफल भएको छ। नेपालले अब भुटानसँग सोमबार दोस्रो खेल खेल्नेछ।
यसअघि आजै सम्पन्न पहिलो खेलमा बङगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराउन सफल भएको छ। बगलादेशले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो। बङ्गलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरिन्। मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरेकी हुन्।
प्रतियोगितामा चार टोलीले भाग लिएका छन्। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ। जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन्। प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।







डिसी नेपाल








Facebook Comment