लघुकथा: न्वारन

नारायणनाथ योगी
१८ माघ २०८२ १२:५८
12
Shares

हिउँदे बिहानको सिरेटोसँगै आँगनमा ओर्लिएको कलिलो घामले लिपपोत गरिएको चोखो वेदीलाई सुम्सुम्याउँदै गर्दा, एउटा अबोध प्राण आफ्नै श्वासको लयमा मग्न भएर ब्रह्माण्डीय शून्यताको आनन्द लिइरहेको थियो।

आज एघारौँ दिन, अर्थात् त्यो निराकार चेतनालाई एउटा निश्चित ‘संज्ञा’ को पिँजडामा हुल्ने न्वारनको साइत। बाबुले काँसको थालीमा फिँजारिएको चामलको सेतो पत्रमा एउटा नाम कोरे- एउटा यस्तो शब्द, जसले भर्खरै धर्तीमा पाइला टेकेको यात्रीलाई एउटा अदृश्य साङ्लोमा बाँधिदियो।

त्यो चामलका दानाहरूमा कोरिएको अक्षर एउटा रित्तो डुङ्गामा लादिएको यस्तो भारी थियो, जसले अब जीवनभर उसलाई आफ्नो मौलिक शून्यता बिर्साएर एउटा कृत्रिम चिनारीको बोझ बोकाइरहनेछ। एउटा जलविन्दुलाई ‘सागर’ नाम दिएर उसको विशालताको भ्रम छरिए झैँ, त्यो नवजात शिशु आजैबाट एउटा सीमित भूगोल, वंश र इतिहासको उत्तराधिकारी घोषित भयो।

त्यो नयाँ नामको पहिलो स्पर्श कानमा ठोक्किँदा ऊ रोएन, बरु एउटा अपरिचित गाम्भीर्यका साथ टुलुटुलु हेरिरह्यो, मानौँ ऊ आफ्नो ‘नामहीन’ अतीत र ‘नामधारी’ भविष्यको दोसाँधमा उभिएर मौन विद्रोह गरिरहेको छ।

इटहरी सुनसरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.