‘राष्ट्रिय आर्थिक गणनाका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

डिसी नेपाल
१९ माघ २०८२ २१:५२
24
Shares

काठमाडौं । सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा अन्तरक्रिया गरिएको थियो।

उद्योगी व्यवसायीहरुसँग गरिएको अन्तक्र्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए। नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो।

अन्तक्र्रियामा महासङ्घका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताउँदै नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे। उनले निजी क्षेत्रको सक्रिय सहभागिता बिना गणना सफल हुन नसक्ने बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि महासङ्घ तयार रहेको बताए।

तथ्याङ्क कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्याङ्क सङ्कलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताए।

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणना आगामी वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गर्न लागेको हो। कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक डा वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना २०८२ को आवश्यकता, उद्देश्य र यसको महत्वबारे प्रस्तुतिकरण गरेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.