चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्र सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
बैठकमा संयोजक दाहालले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा र निर्वाचन परिचालन समितिका सचिवालय सदस्यले निर्वाचन तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे जानकारी गराएको पार्टी सचिवालयले जनाएको छ।
बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको छ। जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने र निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गरेको पनि सचिवालयले जनाएको छ।
निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउन अग्नि सापकोटाको नेतृत्वमा जगन्नाथ खतिवडा, गोविन्द आचार्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको र उक्त समितिले अन्य पक्षसँग परामर्श गरी प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरिएको जनाइएको छ।







डिसी नेपाल








Facebook Comment