कविता : मेरो नेता

प्रकाशचन्द्र खतिवडा
२४ माघ २०८२ ७:३२
120
Shares

कोरा सपना बाँड्दै
कागजी घोडा दौडाएर
झोले झण्डेका साथ
चुनावी मोर्चामा निस्किएको छ मेरो नेता।

मेरो नेता
अभिनेताले जस्तो अभिनय गर्छ
नकली हाँसो हाँस्छ
नकली रुवाइ रुन्छ
देश विकासको खाका पस्कन्छ
अद्वितीय भाषण गर्छ
गरिबी उन्मुलनको नारा उचालेर
सुकुम्बासीलाई लालपुर्जा दिलाउने कुरा गर्छ
किसानलाई सस्तो व्याज दरमा ऋण उपलब्ध गराउने भन्दै
मजदुरको ज्याला बढाउने भन्छ।
म पत्याउँदिन
नेताका कुरा
झुटको खेती गर्छन् नेताहरु
आश्वासनको दियो बल्दै बलेन
फर्जी आश्वासन बाँड्छन किन?
हाम्रो समेत टाउको गनेर
ए.डी.बी र विश्व बैंक गुहार्दै
भित्र्याइएको विकासे बजेटमा
कार्यकर्ताले रइँदालो मच्चाउँदा समेत
मौन बस्छन् भ्रष्टहरु
कागज मिलाउँछन्
र योजना फरफारक गराउँछन् नेताहरु।

मलाई भोट बैंक ठानी
मेरो नेता आशीर्वाद माग्छ
म श्राप दिन्छु
र प्रश्न गर्छु
तिम्रो जन्म किन अभिशाप हुन्छ?
नेतासँग दिन लायक जवाफ छैन
भाषण जस्तो सजिलो छैन जीवन
उ शिर निहुँराइ बस्छ
म प्रश्नका बाण हान्छु।

मेरो नेता फूलको माला पहिरुँ भन्छ
अविर जात्रा गरुँ भन्छ
दिउँसै चुनाव जितेको सपना देखी
मन्त्रीको आश्वासन बाँड्न भ्याउँछ
चुनावमा रकमको खोलो बगाउँदै
अरवौंको मार्ग चित्र प्रस्तुत गरी
जनतालाई भुलभुलैयामा झुलाउँछ।
उ मालिक हो
म उसको दास
मैले सधैं शिर निहुराउनु पर्छ
पाउ धोइ दिनु पर्छ
सामन्तको विम्व हो मेरो नेता
आफूलाई राजा ठानी
जनतालाई रैती ठान्दै
जनप्रिय नेता हुँ भन्छ।
राजा र प्रजा
मुखिया र रैती
मान्य छैन मलाई
म स्वतन्त्रता खोज्छु
मेरो स्वतन्त्रता माथि धावा बोल्दै
मलाई कैदी बनाएर
मेरो नेता
प्रजातज्त्रको दुहाइ दिन्छ
म इन्कलावको झण्डा उठाउँछु।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *