निबन्ध

सम्बन्धहरूको ज्वारभाटा

ज्ञानेन्द्र विवश
२४ माघ २०८२ ७:४७
16
Shares

शान्त र सुमधुर सम्बन्धहरूको ज्वारभाटा भन्नु सौन्दर्यको ‘शुभागमन’ हो। मानवीय सम्बन्धको सुहाग हो। अनुभव र अनुभूतिहरूको मीठो मिलन हो। जीवनको सौन्दर्य हो। सम्बन्धको स्पष्ट दृष्टिकोण पनि हो। जहाँ कटूता हुँदैन। जहाँ बैमनस्य रहँदैन।

जहाँ छलछाम र रिसरागको कुनै औचित्य हुँदैन। जहाँ सम्बन्धहरूको ज्वारभाटाहरू प्रेमिल बोली र व्यवहारले हार्दिकता प्रकट गरिरहेका हुन्छन्। जहाँ सम्बन्धहरूको ज्वारभाटाले कुनै उथलपुथल गरिरहेको हुँदैन। त्यहाँ सम्बन्धहरूको ज्वारभाटा सौन्दर्यको विम्ब बनेर स्थापित भइरहेका हुन्छन्।

सम्बन्धहरूको ज्वारभाटाले जीवित मनहरूलाई सन्निकट र समुन्द्र पारिसम्म पनि पु¥याउँछ। कुनै सम्बन्ध गहिरो प्रेममा प्रकट भइरहेको हुन्छ। कुनै सम्बन्ध द्वन्द्वको घाउले पिरोलिरहेर दुखिरहेको हुन्छ। कुनै सम्बन्धहरूको ज्वारभाटाले सकारात्मक प्रभाव पार्छ। कुनै सम्बन्धहरूले भताभङ्ग ध्वस्तै पार्छ।

यसरी सम्बन्धमा उत्पन्न ज्वारभाटाका दन्कुटी आगोले शान्त र सुन्दर मन जलाउन थाल्छ। जहाँ जलाउन उद्दत रहन्छ त्यहाँ शान्ति कायम रहिरहन सक्दैन रहेछ। तर जहाँ ज्वारभाटाले हार्दिक मनको सुकोमल भावना व्यक्त गर्छ, त्यहाँ मायाका मिठासहरू यत्रतत्र मग्मगाएर फैलिरहेका हुन्छन्।

प्रकृतिको विशाल क्यानभासमा समुद्र र चन्द्रमाको जुन लुकामारी चल्छ, ठिक त्यस्तै एउटा निरन्तर प्रक्रिया मानवीय संवेदनाभित्र पनि घटित भइरहन्छ। समुद्रमा आउने ज्वारभाटा पानीको उतार-चढाव मात्र होइन, त्यो त एउटा साश्वत आकर्षण र विकर्षणको लय हो। जीवनको यो लामो गोरेटोमा हिँड्दै गर्दा मैले महसुस गरेको छु– सम्बन्धहरू पनि त आखिर एउटा मानस– समुद्रका ज्वारभाटाहरू नै रहेछन्।

अन्ततः त्यसमा आकर्षणको ज्वार र सामिप्यताको उन्माद कायमै रहन्छ। जब जीवनमा कुनै नयाँ सम्बन्धको उदय हुन्छ, त्यो पूर्णिमाको चन्द्रमा जस्तै चमकदार र शीतल लागेर आउँछ। प्रकृतिको नियम नै छ- चन्द्रमाको गुरुत्वाकर्षणले समुद्रको छाती उराल्छ। सम्बन्धको प्रारम्भिक चरणमा पनि त्यही ‘ज्वार’ आउँछ। उत्साहको छालले मनका किनारहरू भिज्छन्, भित्र एउटा मीठो हलचल मच्चिन्छ।

यस्तो लाग्छ, यो सामिप्यताको छालले सधैँ यसरी नै सिमानाहरू चुमिरहोस्। यो कलात्मक आकर्षणमा मानिस आफूलाई भुलेर अर्कोमा समाहित हुन खोज्छ। जसरी ज्वार आउँदा समुद्रले आफ्नो मर्यादा बिर्सिएर जमिनतिर लम्किन्छ, प्रेम र सम्बन्धको उन्मादमा हामी पनि आफ्ना अहम् र सीमाहरू भुलेर समर्पणको गहिराइमा डुब्छौँ।

तर, प्रकृतिमा कुनै पनि कुरा स्थिर रहँदैन। ज्वार आएपछि भाटा अनिवार्य छ। बिस्तारै चन्द्रमा टाढिन्छ, पानी ओर्लिन्छ र किनारमा बाँकी रहन्छन्– केवल भिजेका बालुवा, केही शंखेकिरा र एउटा अद्भूत शून्यता।

सम्बन्धहरूमा जब मतभेद, समयको अन्तराल वा नियतिका व्यवधानहरू आउँछन्, तब ‘भाटा’ सुरु हुन्छ। यो चरण निकै कष्टकर र दार्शनिक हुन्छ। छालहरू पछि हट्दा समुद्रको पिँधका कुरुप ढुङ्गाहरू र फोहोरहरू पनि देखिन थाल्छन्।

सम्बन्धको वास्तविकता पनि त्यहीँ प्रस्ट हुन्छ। तर, यही भाटाले नै सिकाउँछ कि दुरी पनि सम्बन्धको एउटा पाटो हो। टाढिनु भनेको समाप्त हुनु होइन, बरु फेरि नयाँ वेगका साथ फर्किनका लागि शक्ति सञ्चय गर्नु हो।

जीवनको कला भनेकै यो ज्वार र भाटाबीचको सन्तुलन बुझ्नु हो। यदि समुद्रमा ज्वार मात्रै भइरहने हो भने तटीय जीवन जलमग्न हुनेछ; यदि भाटा मात्रै हुने हो भने समुद्रको अस्तित्व नै सङ्कुचित हुनेछ। सम्बन्धहरूमा पनि कहिलेकाहीँ निकै नजिक हुनु (ज्वार) र कहिलेकाहीँ एकान्तमा हराउनु (भाटा) दुवै आवश्यक छन्।

प्रकृतिले हामीलाई सिकाउँछ- रित्तिनुको अर्थ सधैँ रित्तो हुनु होइन। जसरी भाटापछि समुद्र फेरि भरिन्छ, त्यसरी नै एउटा सम्बन्धको रिक्तताले अर्को नयाँ चेतना वा नयाँ सम्बन्धका लागि ठाउँ खाली गरिदिन्छ।

सम्बन्धहरूको यो ज्वारभाटा एउटा निरन्तर संगीत हो। कहिले यो मिलनको तीव्र स्वरमा गुञ्जन्छ, त कहिले विछोडको मन्द रागमा। म आफ्नो जीवनको किनारमा उभिएर यी आउने र जाने छालहरूलाई नियालिरहेको छु। न त म ज्वारमा मात्तिन्छु, न त भाटामा अत्तालिन्छु।

किनकि मलाई थाहा छ, जबसम्म यो हृदयको समुद्रमा भावनाको चन्द्रमा जीवित छ, तबसम्म सम्बन्धहरूको यो नृत्य कहिल्यै रोकिने छैन। अन्त्यमा, सम्बन्धहरू त ती छाल हुन् जसले हामीलाई पत्थरबाट पखालेर चिल्लो र सुन्दर शालिग्राम बनाउने प्रयास गरिरहन्छन्।

सम्बन्धहरू पनि समुद्रझैँ हुन्-कहिले शान्त, निलो र गहिरा, कहिले उर्लँदै आएका छालहरूजस्तै अशान्त र कोलाहलपूर्ण। जीवनको किनारामा उभिएर जब म आफ्ना सम्बन्धहरूतर्फ फर्केर हेर्छु। मलाई लाग्छ- यी सबै अनुभूतिहरू कुनै अदृश्य ज्वारभाटाको तालमा चलेका रहेछन्।

जसरी चन्द्रमाको आकर्षणले समुद्रका छालहरूलाई तानेर उचाल्छ र फेरि शान्त बनाउँछ, त्यसरी नै समय, परिस्थिति र भावनाले मानिसबीचका सम्बन्धहरूलाई कहिले नजिक त कहिले टाढा बनाउँछन्।

बाल्यकालका सम्बन्धहरू बिहानको शीतजस्तै निर्मल थिए। साथीहरूका हाँसोमा कुनै स्वार्थ थिएन, आमाबाबुको माया आकाशजस्तै विशाल थियो। त्यो बेला सम्बन्धहरू बुझ्नु पर्दैनथ्यो, महसुस मात्र गर्नुपथ्र्यो।

तर उमेरसँगै सम्बन्धहरू पनि ऋतु फेरिएझैँ बदलिँदै गए। वसन्तको हरियालीजस्तै केही सम्बन्ध फक्रिए, ग्रीष्मको तापझैँ केही तातिए, वर्षाको भेलझैँ केही बगाएर लगे, अनि शरदझैँ केही मौन र उज्याला भएर बाँकी रहे।

जीवन यात्रामा भेटिएका मानिसहरू खोलामा मिसिने साना ठूला धाराहरूजस्तै रहे। कसैले मलाई शीतलता दिए, कसैले गति, कसैले गहिराइ। तर सबैसँगको भेट स्थायी रहेन। कतिपय सम्बन्धहरू क्षणिक यात्रु बने- एक छिनसँगै बगे, अनि आ-आफ्नै दिशामा हराए। सुरुमा छुट्टिनु पीडादायी लाग्थ्यो, तर समयले सिकायो- सबै धाराहरू एउटै समुद्रमा पुग्नै पर्छ भन्ने छैन।

सम्बन्धको ज्वार आउँदा मन आनन्दले भरिन्छ। कसैको उपस्थितिले जीवन उज्यालो हुन्छ, संवादले आत्मालाई न्यानो दिन्छ। त्यो बेला संसार सरल र सुन्दर देखिन्छ। तर भाटा लाग्दा- असमझदारी, दूरी र मौनता फैलिन्छ। जसलाई आफ्नै ठानेको हुन्छ, ऊ पराया जस्तो लाग्न थाल्छ। त्यो क्षण समुद्र सुक्दै गएको किनाराझैँ मन सुनसान हुन्छ।

तर प्रकृतिले एउटा ठूलो पाठ सिकाउँछ- ज्वारभाटा स्थायी हुँदैन। कुनै पनि छाल सधैँ उचालिँदैन, कुनै पनि भाटा सधैँ रहँदैन। अन्धकारपछि उज्यालो आउँछ, सुक्खापछि वर्षा पर्छ। सम्बन्धहरूमा पनि यही नियम लागू हुन्छ। धैर्य राखे, बुझाइ बढाए र माया जोगाए भने धेरै भाटापछि फेरि ज्वार आउन सक्छ।

म सोच्दछु- यदि समुद्रले छाल आउँदा किनार भत्किन्छ भनेर ज्वार रोकिदिएको भए, सायद समुद्र समुद्र नै रहँदैनथ्यो। त्यसरी नै यदि हामीले सम्बन्धमा आउने उतारचढावबाट डराएर दूरी बनाइदियौँ भने, जीवनको गहिराइ अनुभूत गर्न पाउँदैनौँ। पीडाले नै सहनशील बनाउँछ, बिछोडले नै मूल्य बुझाउँछ, र मिलनले नै जीवनलाई अर्थ दिन्छ।

केही सम्बन्धहरू चट्टानजस्तै बलिया हुन्छन्- छालले ठोक्किए पनि अडिग। केही बालुवाजस्तै हुन्छन्– हल्का छालमै बगेर जान्छन्। तर दुवैको आफ्नो महत्व छ। चट्टानले समुद्रलाई सीमा दिन्छ, बालुवाले किनारलाई सौन्दर्य। जीवनमा बलिया सम्बन्धले आधार दिन्छन् भने क्षणिक सम्बन्धले सम्झनाको रङ भर्छन्।

आज जब म विगतका सम्बन्धहरू सम्झन्छु, कुनैमा मुस्कान आउँछ, कुनैमा आँखाभरि आँसु रसाउन थाल्छ। तर कुनैप्रति गुनासो छैन। किनकि सबैले मलाई केही न केही सिकाएर गए– मायाको अर्थ, क्षमाको शक्ति, र एक्लोपनको गहिरो बोध।

सम्बन्धहरूको ज्वारभाटा स्वीकार्नु नै जीवनको यौटा भिन्न दर्शन हो। यसले उतार–चढावलाई स्वाभाविक ठान्छ, ऊ नै शान्त रहन्छ। स्थायित्व खोज्दै परिवर्तनसँग लड्ने मान्छे सधैँ थाक्छ। तर परिवर्तनलाई अँगाल्ने मान्छे जीवनसँग बग्छ- नदीझैँ, समुद्रतर्फ निरन्तर।

अन्ततः सम्बन्धहरू हाम्रो जीवनको ऐना हुन्। ज्वारमा हामी खुशी देख्छौँ, भाटामा आफ्ना कमजोरी महसुस गर्छौँ। तर यी दुवै आवश्यक छन्। बिना ज्वार समुद्र नीरस हुन्छ, बिना भाटा किनार देखिँदैन। त्यसरी नै बिना मिलन जीवन अधुरो हुन्छ, बिना बिछोड जीवन गहिरो हुँदैन।

सम्बन्धहरूको यो अनन्त लयमा बग्दै जाँदा म अब डराउँदिन। किनकि मलाई थाहा छ- हरेक भाटापछि कहीँ न कहीँ नयाँ ज्वार अवश्य आउँछ। हरेक ज्वारसँग जीवन फेरि एकपटक सुन्दर भएर फर्किन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.