‘प्रेमिकाको तीर्थ मानों, प्यारको भी स्वर्ग जानों…’

हृषीकेश
२४ माघ २०८२ ७:२८
132
Shares

प्रेमार्पण…

आफ्ना लागि प्रेमले युक्त भएकाले नै प्रेमिका हुन्छ।

अब प्रेमको व्याख्या कसले नै गर्न सक्यो र ? अव्याख्येय ! बोल्न नसक्ने मान्छेको स्वाद झैँ; अमूक- अनिर्वचनीय ! स्वाद लियो, तृप्त भयो ! यस्तो प्रेम। एक अद्भुत अनुभूति ! विचित्र। विचित्राद्भुत एक दिव्य अनुभूति !!! प्रेम।

पायल राठौड, प्रेममा झलमल्ल फुलेकी एक प्रेमकवयित्री हुन्। बडा सुन्दर-सुन्दर प्रेमकविताहरू भएर प्रेमका सप्ताश्वरङ्गमा रङ्गिईन्छिन् यिनी अक्सर आफ्ना हृदयका चित्रपटमा;

“प्रेम और पूजा” शीर्षकमा उनी प्रेमको इन्द्रेणी रङ्ग छर्छिन् आफ्नो दिलको आकाशमा, सप्तरङ्ग इन्द्रेणीको प्रेममा भर्छिन्, अनि हामी पनि उनले रङ्गेका प्रेमकै रङ्गमा रङ्गिइन्छौं:

“नि:सन्देह
ये संसार तुम्हें
ईश्वरको पूजना सिखाएगा

किन्तु ये तुम्हें ये नहीं बताएगा
कि तुम्हारा ईश्वर
प्रेमको पूजता है।

दार्शनिक गीतकार पि.के.मिश्रा प्रेमको धार्मिकतामा उठ्तछन्;

“प्रेमिका ने प्यार से जो भी दे दिया
तेरे वास्ते है नीलम जैसा

भाव ठुलो हो। भावमा प्रेम हुन्छन् ! उपहारको मूल्य ठुलो होइन। मूल्य ठुलो हुने भा भए महँगा उपहारहरूसँग दिल पनि त्यसै उठे भनी सुनिन्नथे होलान् ! सुरुमा के के न सोचिएको बहुमूल्य उपहार पनि पछि मूल्यहीन ठहरेको सुनिँदैनथे, सस्ता ठानिँदैनथे ! भौतिकताको चरम ऐश्वर्य बिच मन अझै पनि उराठ हुँदैनथे।

भाव सँगै आउँदा उपहारहरू प्रेमोपहार भइदिन्छन्,
‘सस्ता’ नै भए नि ती अमूल्य भैदिन्छन्।
अनि, अनि त अनि उसबेला प्राप्त फूल पनि
आज पनि किताबमा त्यसै भेटिँदैनथे…

अब त अब सुकेका फूल पनि हररर पिरतीको सुवासमा मगमग-मगमग-मगमग गम्कँदै उठेर दिल प्रीतको गीतमा नृत्यङ्गत हुन्छन् !

बहुमूल्य ती ‘सुकेका फूल’ नीलम भैदिन्छन् !
प्रेम सजीव हो, जीवन्त हो।
सुकेका फूल पनि तब जीवन्त भैदिन्छन्-अमूल्य !
अमूल्य भैदिन्छन्।
किनभने त्यो प्यारले दिईएको थियो।
च्यापिएर कागज बिच बसेको
प्रेमको खतमा
प्रेमका आँसु
तपक्क झर्दा
गुलाब तब त्यसै त्यसै ताजा भैदिन्छन्,
भरिएर वातावरणमा गुलाबी प्रेमको बास्ना तब हररर…
मगमग मगमग मगमग…
अनि हल्का स्पर्शले फूलको त्यो छाप लतपतिदिन्छ,
अनि ताजा भै उठिदिन्छ
मायाँ पनि; भर्खर हिजो झैँ…
नीलम झैँ बहुमूल्य,
सँगालिईरहने सँधैँ प्रेम अमूल्य…

“प्रेमिका ने प्यार से जो भी लिख दिया
तेरे वास्ते है सोने जैसा…

अत: प्रेमिकाले लेखेको व्यक्ति मात्रले लेखिएको होओइनन् ! त्यो प्रेमले लेखेको हो। प्रेमको लेखाई हो। धड्किरहेको धड्कनबाट प्रेमले काँपिरहेका हातहरू… ओह्हो ! त्यो प्रेमको लेखाई हो। ढाई आखर प्रेमको हो त्यो सुन झैँ बहुमूल्य ! प्रेमपत्रहरू प्यारले जे जस्तो पनि लेखिएको थियो, त्यो सँगालिईन्छन् !

हर लेखाई अद्वितीय नहोलान्; भाव अद्वितीय हुन्। अत: ती जे हुन्-जस्ता हुन् प्रेमपत्र हुन्, अत: सुन जस्ता हुन्। लेख्नेवालाले केही त लेख्यो, प्रयास त गर्यो, सागर झैँ विराट मुटुभरिको प्रेमको अभिव्यक्ति त गर्‍याे,
छाल पनि समुद्र नै त हो-मुटु त अभिव्यक्त गर्‍याे !

प्रेमले जो लेखियो त्यो सुन जस्तो, जेजस्तो लेखियो त्यो नै काफी – ज्यादै अचाक्ली महँगो सुन जस्तो।

प्रेम सबैसँग हुन्न प्रेम कोही एक खाससँग हुन्छ। र, त्यहाँ सर्वस्व हुन्छ। त्यसैले उनले लेखिदिएको वा जे उनले लेखिदिन्छन्, एक अक्षर नै किन नहोस्, त्यहाँ सर्वस्व हुन्छ, मुटु हुन्छ, धड्किरहेको अक्षर हुन्छ धक्धक् हुन्छ, मुटुको सर्वस्व – धक्धक हुन्छ। त्यो बहुमूल्य हुन्छ; त्यो भाव हो, अमूल्य हुन्छ ! हो ! त्यो अक्षर धड्किरहेको हुन्छ। धक्धक्! धक्धक् ! धक्धक् ! प्रेम हो। यहाँ प्रेमले प्रेम लेखेको छ – त्यो बहुमूल्य हुन्छ। त्यै भएर प्रेमपत्रहरू सँगालिन्छन्,
फितला नै किन नहुन् शब्दहरू,
फर्किएर अतीतका ‘नोस्टाल्जिया’हरू अँगालिन्छन्…
र बग्छन् प्रेमका बलिन्द्र धारा फुटेर भक्कानाहरू,
अश्रुधारा प्रेमका-प्रेममा प्रेमाश्रुहरू…
एक बुँद जब पानीको जब तिनमा खस्तछन्,
तब ती अमूल्य मोती दाना-प्रेमाश्रु भईदिन्छन्
प्रेमिकाले प्रेमले जो लेख्दिन्छिन्…
त्यो सुन हो…

“प्रेमिका को तीर्थ मानों
प्यार को भी स्वर्ग जानों

“प्रेमिका यस्तै हुन्छन्; यिनलाई तीर्थ झैँ मान्नु !”, प्रेममा पाकेका सायर-गीतकार पि. के. मिश्रा प्रेमिकाको महत्त्व बुझाउँछन्। प्रेमको महत्त्व औँल्याउँछन्।
प्रेम दिव्य अनुभूति हो। यस्तो दिव्यानुभूति दिलाउन सफल प्रेमिकालाई तीर्थ झैँ मान्नु !

तीर्थमा प्रेम हुन्छ, दिव्यता हुन्छ।
भव्यता हुन्छ। विराटता हुन्छ।

हृदयको सघनता हुन्छ। प्रेमको केन्द्रीकरण हुन्छ।
सारा सकारात्मकता तीर्थमा हुन्छ। तीर्थमा सघन उर्लेको हुन्छ।

सकारात्मक उर्जा तीर्थमा हुन्छ – तीर्थ दिव्य हुन्छ।
सकारात्मकता नै सकारात्मकताले भरिएको दिव्यता तीर्थमा हुन्छ।

तीर्थमा त्याग हुन्छ, समर्पण हुन्छ, भक्ति हुन्छ, निष्कामता हुन्छ, व्रत हुन्छ, उपवास हुन्छ,

नियम कडा प्रेममा हुन्छ, अटल-अचल निष्ठा तीर्थमा हुन्छ, प्रेममा हुन्छ। सकारात्मकताका यी यावत आयाम भरिँदा दिव्यता हुन्छ, पवित्रता हुन्छ।
तीर्थ त्यही हो, प्रेम त्यही हो।

दिव्य तीर्थ पवित्र हुन्छ, प्रेम पवित्र हुन्छ।
यस्तो दिव्यता अनुभूत गराईदिने,
दिव्यानुभूति बोध गराईदिने प्रेमिकालाई तीर्थ झैँ मान्नु !

तीर्थमा अहम् को आत्मनिवेदन हुन्छ, आफ्नो अहम् को आत्मनिवेदन प्रेमिकारूप तीर्थ सरहमा गरी फिर्तामा दिव्यानुभूतिको बोध दिलाईदिने परमानन्दी एहसास प्रेमको, “प्रेम यस्तै हुन्छ, यस्तो प्रेमलाई पनि स्वर्ग जान्नु।”, प्रेमले प्लावित – ओतप्रोत गीतकार मिश्राजी दिव्यानुभूति दिलाउने प्रेमको अमूल्य मूल्य बुझाउँछन्।

“प्यार के संगीत में
हम्म हम्म मोहिनी सुरागिनी
प्यार के संगीत में
हम्म हम्म मोहिनी सुरागिनी

यसरी जब प्रीतको सङ्गीतमा, प्रेमको गीतमा जब झुम्दछ कोही तब उनी मोहिनी देखिईन्छिन्, मोहिनी दर्शित भईदिईन्छिन्… यसै यसै प्रियदर्शना उनी प्यारको सङ्गीतमा अब त उनी त्यसै त्यसै अचाक्ली मोहिनी प्रियदर्शित भैदिन्छिन्। उनी प्रेम हुन्, प्रेम सङ्गीतले भरिपूर्ण हुन्छन्।

सङ्गीतले प्रोक्त उनी, सङ्गीतका परम सुन्दर रागहरूले युक्त सुरागिनी मदालसी उनी तब श्रव्यदृश्यमा प्रियदर्शित हुन्छिन्…प्रेमनृत्यको तब प्रियदर्शन हुन्छ। “सुरागिनी” – आह्हा कति सुन्दर शब्दबाट सम्बोधित ! कति सुन्दर नाम ! सुरागिनी !

कति सुन्दर नाम उनको !
सुरागिनी !
प्रेमभावले उनी प्रति यिनी कति अनन्य !

“प्रेमिका ने प्यार से जो भी लिख दिया
मेरे वास्ते है काव्य के समान

प्रेमका शब्दहरू आफैँमा कविता हुन्; सुन्दर प्रेमकविता किनभने प्रेम आफैँमा कविता हो। प्रेमको दिव्यताले युक्त भएकी यस्ती प्रेमिका छिन्, उनी आफैँमा एक सुन्दर कविता हुन्; प्रेमकविता।

उनले लेखिन् मात्र त प्रेमीलाई प्रेमकाव्य हुन्छ…
प्रेमले प्रेम नै लेख्तछ;
कोईलीले सुरिलो नै गाउने हुन्…

“दिलरुबा ने प्यार से जो भी दे दिया
मेरे वास्ते प्रसाद के सामान

‘रुबा’ फ़ारसी मूलको शब्द हो। जसको अर्थ हुन्छ छिनने वाला, हर्ने वाला, हर लिने वाला, हरेर आफूसँगै लैजाने वाला, प्रेमित चोराई-चोर्ने वाला अनि दिल मन हो ! अत: दिलरुबा – जसले हर्दछ ऊ दिलरुबा हो, उनी दिलरुबा हुन् – मनोहर के ! मनलाई नै हर्दिने वाला,
मनलाई नै हर्दिने वाली !

प्रेमीबाट मन हरिएकी अब प्रेमिका प्यारको विस्तीर्णतामा फैलिएर अभिव्यक्त हुन्छिन् :

“मनभावन दिलरुबाले प्यारले जे दिए पनि त्यो मलाई शिरोधार्य ! मनमा भाईसक्या छन् उनी, उनलाई देख्तै मन प्रफुल्लित हुन्छ ! अरू के चाहियो ? उनी आफैँमा मेरो ‘म’लाई न कहिले पाईएको, न कहिले फेरि पाइने वाला, अहिले-यहाँ-हालै-भख्खरै-तुरुन्तै वर्तमानमा उनी एक मलाई अति दुर्लभ ईश्वरको प्रसाद झैँ अमूल्य एक उपहार हुन् ! अब उनले जे दिउन्, त्यो प्रेमको दिलाई हो – अभिव्यक्ति हो। त्यो मलाई त्यसैत्यसै पवित्र,

जगेर्ना गरिरहुँ, जोगाईरहुँ, राखीरहुँ…
टुट्ला-फुट्ला-च्यातिएला-चुँडिजाला-हराउला… त्यसलाई नचलाउँ…राखिरहुँ…
त्यो प्रसाद झैँ… सर्वोच्च…

उच्चकोटीका यी सायर पि.के.मिश्राजी आफ्ना मुटु शब्दहरू हुँदै यी गानामा। गानाका यी शब्दहरू शाब्दिक अर्थ या केवल अनुवादमा साँघुरिएका छैनन्।
यी भावमा उठेका छन्।

प्रेम वस्तुको साँघुरो सीमामा छैन,
वस्तुको साँघुरो सिमिततामा पुरा भएको छैन।

यो त वस्तुको साँघुरो परिधीय विवशताबाट फुकेर विराटको विस्तीर्ण प्रसारणमा उठेर-जागेर फैलिएको छ, जहाँ पवित्रता भेटिईन्छ।
केवल साँघुरो अङ्कमालमा चित्त बुझाएन कहिल्यै प्रेमले,

यो त त्यो साँघुरो अँगालो फुकाएर फैलिँदा फैलिँदा विराट अनन्तलाई अँगाल्न पुगेको छ-विचार त्यहाँ उठेर प्रेममा पवित्र भएको छ।

“फूलमाला दो रुपैया
तेरी ज़ुल्फ़ में सजा फूल सौ रुपैया

अब प्रेमी अझ खुल्छन्, दिल खोलेर ‘इश्क’को रोमाञ्चमा:
“एक फूल फूल कै रूपमा मात्र विक्री भईरहेको हुन्छ।
बुलबुले बाबरी तिम्रा केशपाशमा सजिईन्छन् जब, सजाउँछु म जब,
तिम्रा सागरतरङ्गी प्रेमका उल्झनमा,
सुगन्धी ती केशपाशमा
सिउरिँदै सजाउँदा फूलमाला मनको सुल्झनमा,
तब तिनका मूल्य बढ्दछन्…
गुना अनगिनत !

“जो मिठाई एक रुपिया तुमने मुंह लगा के
मुझको दी तो लाख रुपैया

प्रेमिका अब सम्ममा त प्रेममा बेरोकटोक फैलिएर बग्छिन्:
प्रेमको साटफेरमा मायाँ बढ्छ रे ! सर्वसुलभ मिठाई आम न हो।
तिमीबाट साटिएर प्रेममा आयो मिठाई त लाखको !!!

जब जकडबाट फुकाएर प्रेमलाई अनन्तमा उड्न दिईन्छ तब प्रेम अनन्तमा घुल्दछ, विराटमा प्रेम एकाकार हुन्छ, अनन्त र प्रेम एकबद्ध हुन्छ, एउटै हुन्छ। तब प्रेमको मूल्य अमूल्य बोध हुन्छ,

तब उनले मुखै लाएर दिएको मिठाई एक मोहरको पनि विराटै मूल्यको,
प्रेमको यस्तो विनीत बोधमा मिठाई रू. एकको-त्यो पनि तब मूल्य लाखको ! वस्तुबाट विषय विराटमा-वस्तुबाट विराट तत्त्वमा…

प्रेमको हेराईले प्रेम दर्शित भए झैँ अति विलक्षण सङ्गितज्ञ ए.आर.रहमानका कार्य त्यस्तै विलक्षण – एउटै गीतमा अनेक प्रयोग; आफ्ना हरेक रचनामा अनेक अनेक गजबका प्रयोगहरू गरिरहने यिनी, आलेटाले गरेर काम सक्न सानुतिनु कुरासँग सम्झौता गर्दै नगर्ने यिनी, त्यस्तै यहाँ पनि अनेक वाद्ययन्त्रसँग यिनको वादन-लास्य छन् एउटै गीतमा ! शास्त्रीय, आधुनिक, रोमाञ्च, भावुक ‘मेलोडी’…ओह्होहोहो…के के हो के के…अनेक…अनेक जान्या छन् यिनले !
त्याँ माथि नृत्य र प्रस्तुतिका हस्ति प्रभु देवाको हरेक प्रस्तुतिमा सँधैको विचित्र विचित्रको प्रस्तुति !!!

‘क्लासिक’ या दार्शनिक मिजाजको प्रेममा बयाँ यस रचनालाई युवा पुस्ता माझ खुब मरिहत्ते-मन पराईएका र्यापर यो यो हनी सिंहले उनका उस्ताद रहमानलाई ठुलो श्रद्धा अर्पण गर्दै रहमानद्वारा नै सङ्गीतवद्ध यो रचनालाई आफ्नो शैलीमा आधुनिक प्रस्तुति दिँदा स्रोतालाई अझ खुब रोमाञ्चक आनन्द आएको छ,
आधुनिक यस समयमा ‘क्लासिक’-दार्शनिक प्रेमी-प्रेमिका बनाईदिएको छ।

“साजना ने प्यार से छू लिया जिन्हे
वो शूल है फूल जैसे

‘लङ्गिङ्ग’ र ‘यर्निङ्ग’ अपरिहार्य तत्त्व प्रेमको ! इन्तजारले प्रेमको महत्त्व चिनाउँछ भन्छन् प्रेमलाई गहिरो बलियो बनाउँछ। इन्तजार प्रेमपरीक्षा हो। फगत आकर्षण हो त्यो या प्रेम सही इन्तजारले जाँच्तछ।

धर्मराईजान्छन् आकर्षणहरू फगत,
प्रेम निर्विकल्प उसैलाई इन्तजार-कुरिरहन्छ।
आउन् त जतिसुकै मोहित तुल्याउने आउन्,
प्रेम त उसकै मोहमा मोहित छन्,
छन् आँखा बन्द,
बन्द आँखा उसैको दर्शन गर्छन् !

प्रेमको बेचैनीमा, प्रेम कै चैनको उत्कट चाहतमा चुरचुर हुन पुगेकी प्रियतमा अमनचैनको तृष्णाले काँडामा पनि प्रेम फुलेको दर्शन गर्छिन् : “प्रियतमले प्रीतले जे छुन्छन् मात्र पनि शूल जो छ ऊ पनि फुलिदिन्छ, काँडाहरू फुलिदिन्छन् ! नझुक्ने, गहिरो घोच्ने काँडाहरू नवनीत प्रेमको स्पर्शले, मुलायम-मासुम-नाजुक भैदिन्छन् सुकोमल, अररा-अरट्ठा-रुख्खा-सुख्खा सुईरो झैँ तिखो काँडो – फूलको रूपान्तरणमा ! वाह !
भैदिन्छन् काँडाहरू पनि विनीत !
प्रेममा।
प्रेमको सुस्त स्पर्शमा !
मन्द स्पर्शमा…

“साजना बिना बिछे जो
सूनी सेज पे
वो फूल है शूल जैसे

सुकून र शृङ्गारिक आरामको स्थल जो फूलै फूल बिछ्याईएको छ, बिना ‘बलम’जी ती फूलहरू पनि शूल झैँ-काँडा झैँ !
अह्हो !
प्रेमको महत्त्व पनि कस्तो ?!
प्रेमको प्रकृति पनि किन यस्तो ?!
प्रेमको निष्क्रमण हुँदा फूलको कोमलता पनि फूलबाट प्रेम साथै निस्किएर जाने,
छाडि जाने त पछाडि केवल फूल बिचै पनि विरानाहरू, बन्जारहरू…
बिना प्रेम फूलको तत्त्व असफल हुने,
फूलको अर्थै सकिने-काँडा झैँ तिखा फूलका घोचाईहरू हुने…

“प्रेमिका को तीर्थ मानों
प्यार को भी स्वर्ग जानों
प्यार के सगीत में
हम्म हम्म मोहिनी सुरागिनी
प्यार के संगीत में
हम्म हम्म मोहिनी सुरागिनी

“प्यार कभी वक़्त-फ़क़त देखता नहीं
हर एक वक़्त है ठीक प्यार में

प्यार आफैँमा एक मुहूर्त हो ! प्यार हुँदा समय आफैँ विशेष भैदिन्छन्, मुहूर्त स्वरूपमा समय उठिदिन्छ प्यारको ‘वक्त’ ! मानौँ समयको नदीमा प्यारको दुर्लभ घटन परम पावन तीर्थको दिव्य एक घाट झैँ भई कुरिरहेछन् ! यहाँ दुईको तयारीलाई समयलाई वास्ता हुन्न ! वक्त आफू तयार भए पछि सक्क्यो ! वक्त आफू तयार भएर आईदिन्छन्, बाँकी त मिल्दै जालान् कि !

मुहूर्तको घटन गराउन उनी नै आईदिन्छन् समय अकस्मात् र जुराईदिएर यिनी समय जान्छन् ! बाँकी त जिन्दगी हो…मिल्दै जाला कि !!!

“प्यार कभी रंग-रूप देखता नहीं
जैसा भी ठीक प्यार में

प्यार आफैँ रङ्गीन छ,
प्यार आफैँ रूपस्वी,
रूपस छ।
जसरी जस्तो रङ्गको चस्मा दृश्य त्यस्तै देखिन्छ त्यसरी आफैँमा रङ्गीन अस्तित्वको प्रेमले जे जस्तो छ त्यसैलाई प्रेमको सप्ताश्व वर्णपट – प्रेमको पूर्ण सप्तरङ्गी इन्द्रेणी देख्तछ।
स्वत: सिद्ध-स्वभावैले सिद्ध, स्वाभाविक रूपमा सबै रङ्गले युक्त दृष्टिगोचर हुने अदृश्य दृष्टिमा अवस्थिति छ प्यारको,
यो प्यारको नैसर्गिक प्रकृति नै हो,
प्राकृत प्रकृति।
रङ्गीचङ्गी।
प्रेमको नयनचक्षु चर्मचक्षु होइनन्, मुटुका अदृश्य आँखा हुन्,
बेतोडका अदृश्य धड्कनहरूले पूर्ण देख्तछन् प्रेममा !

“प्रेम-ज्योति ना भुझेगी आज हमदम
कुछ तो प्रेम कर ले

यी बाहिरी चर्मचक्षु बन्द हुँदा दर्शन हुने प्रेमज्योति हो। यो बालिएको ज्योति होइन। पैल्यै देखिको ज्योति ! थियो, छ र रहिनै रहनेछ। यही ज्योतिमा लययोग हुनु प्रेमको घटन हो ! बालिएका बत्ती त निभ्छन्, घटित ज्योति त कहिले निभे होलान् र खै ?!

चर्मचक्षु बन्द हुँदा दर्शित पराभौतिक ज्योति भौतिक उथलपुथलले पनि कहाँ निभाउन सक्ला र ?! त्यहाँ भौतिक वाधाअड्चन पुग्न पनि त सक्दैन ! त्यसैले अन्त्य सम्म साथ दिने -ए मेरी ‘हमदम’ आजैबाट केही प्रेम त गरौँ, थोरै नै सही प्रेमको केही सुरुवात त गरौँ, त्यसपछि त प्रेमको प्रकृति नै हो-स्वभावै हो, विस्तारै आफैँ बढिहाल्छ नि ! हर प्रहर प्रेमका अत्युत्तम साइत हुन्-आउ आजैबाट, अहिल्यैबाट, यहीँबाट केही त प्रेमको सुरु गरौँ…

यो कहिल्यै ननिभ्ने प्रेमज्योति साथै बोकेर अन्त्य सम्म आउ साथै जाउँ !

“यहां मान अपमान तो कुछ भी नहीं
ये हक़ीक़त दुनिया समझती नहीं

प्रेमज्योतिमा उपलब्ध हुनेलाई मान र अपमानसँग सम्बन्ध नै छुट्दछ। आफैँमा मग्नमस्त संसारसँग लेनादेना नै हट्तछ। सापेक्ष संसारी बोक्राहरूसँग नाता नै टुट्तछ। ऊ त सापेक्षताले जेलेको स्वार्थी अनित्य संसारसँग उदासीन निरपेक्ष निस्वार्थ प्रेमको गुदीमा हरपल उत्सुक-उत्साहित पलपल खुसी मग्नमस्त नित्य नवीन रहन्छ।

संसारका अनेक चटकहरू असत्य हुन्। मान-अपमान, देखावा अनि अरूका लागि सही देखिन आफू कृत्रिम रङ्गमा रङ्गिनु पर्ने असत्य हो, यो बुझेर आफ्नो प्रकृतिमा प्राकृतिक हुनु सत्य हो।

प्रेम यही हो।

र, यसैलाई स्विकार्नु प्रेम हो। यो सत्य दुनियाँ बुझ्दैन – बडा दार्शनिक यी गीतकार सुस्केरा छोड्छन् !

“बदले ये ज़मी-आसमान
पर चाहते नहीं बदले

यहाँ हरकुछ चलायमान छ। आसमान आफैँमा शून्यको एक मञ्च हो, यो बहुआयामिक मञ्च बहु आयाममा चलायमान छ, यहाँ जे पर्छ त्यो टिक्दैन-चलायमान आसमानको प्रकृतिमा परेर त्यो चल्दै परिवर्तित हुन पुग्छ ! यही चलायमान नियतिमा गाँजिएको जमिन पनि उही कहाँ रहिरहन सक्ला र !

बस – भौतिक छनक देखाउनेवाला रहन्न ! प्रेम त पराभौतिक हो। बदलिन्छन् जमिन र आसमान तर पराभौतिक प्रेम नित्य रहिरहन्छ ! यदि चाहत साँचो छ, प्रेमले युक्त छ त बस यो रह्यो।
बदलिन्न।

बदलिन्छन् जमिन-आसमान तर चाहत बदलिन्न !

“लैला-मजनूं प्यार की
वो दास्ताँ पूछे इन हवाओ में

प्रेमले युक्त हुँदा सर्वत्र प्रेमको दर्शन हुन्छ। प्रेम स्वरूप भएका युगलजोडीहरू प्रेमका आफ्नै गहिरा यी दार्शनिक कहानीहरू, अहम् मुक्त-प्रेमले युक्त प्रेम बुझेका युगलजोडीहरू यिनी हावाहरूलाई सोध्दछन्; “हर चिज बदलिन्छ, जमिन-आसमान पनि तर चाहत बदलिन्न”, सोधिएका हावाहरू यही बताउँछन् ! प्रेमको दर्शन गर्ने युगलजोडीहरू हावाहरूमा यी गहिरा दर्शन प्रेमका दर्शन गर्दछन्…सोध्छन् उनीहरू अमर प्रेम कहानीहरू…
यी हावाहरू जवाफमा सुनाउँछन्…
आफ्नै जस्ता लाग्ने कहानीहरू…
युगल जोडीहरू प्रेमको आफ्नै संसारमा यसरी नै हराउँछन्,
रमाउँछन्…
हराएर रमाउँछन्…

“साजन तेरी चाहतों में
दिल मेरा खो गया

“प्रेममा यति बिघ्न डुबेँछु म ! अह्हो ! प्रेममा यसरी डुबेकी म, म तिम्रो चाहतमा यस्तरी डुब्दा दिल मेरो त्यही डुबानमा गुम्यो…चाहतको बाढीमा बग्यो…तिमी प्रेमीकै चाहतमा…
प्रेम गर्नेवालाको चाहतमा आफू हराईन्छ,
स्वको विलय अनि स्वको प्रेमीमा लय हुनु प्रेम हो।
प्रेम गर्नेवालाको चाहतमा लययोग प्रेम हो।
चाहत प्रेमको प्रकृति हो सायद…

“तेरी चाहतों में खो गया
साजन तेरी चाहतों में
दिल मेरा खो गया

तिम्रो चाहतमा हरायो
‘बलमजी’ तिम्रै चाहतमा
हो ! दिल मेरो हरायो

“साजन ये दिल तुम्हारा हो गया

तिम्रो चाहतमा हराउनु तिमीमा घोलिनु हो किनभने तिम्रो चाहत प्रेमको गुरुत्व क्षेत्र हो।
अतः मेरो ‘एक’ तिम्रो ‘एक’ मा लय भयो,
मेरो ‘एक’ तिम्रो ‘एक’मा गएर विलय भयो।
प्रेममा दुई दिल एकै भयो,
एक र एक मिलेर एकै भयो,
प्रियतम यो दिल तिम्रै भयो…

प्रेम गरौँ…
हम्म हम्म मोहिनी… सुरागिनी…

[email protected]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.