परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन : जयन्ती राई

डिसी नेपाल
२३ माघ २०८२ १५:१३
12
Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्य जयन्ती राईले सरकार मुलुकप्रति गम्भीर नहुँदा ‘जेन–जी आन्दोलन’ जस्ता घटनाहरू उत्पन्न भएको बताएकी छन्।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको गैरजिम्मेवारीका कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै जेन–जी आन्दोलनको समिक्षा गर्न आवश्यक रहेको धारणा राखिन्। उनले युवाहरुलाई लक्षित गर्दै आन्दोलनको समिक्षा गर्ने कि नगर्ने भन्ने प्रश्न उठाइन्।

उनले भनिन्, ‘देशप्रति अलिकति पनि गम्भीर बनेन सरकार, त्यसकारण जेन–जी आन्दोलन जस्ता घटनाहरू भए। सिंहदरबार जलेको छ, यसले सारा जनताको आवाज जलेको छ। सर्वोच्च अदालत जल्दा भवन मात्र जलेन, सबै जनताको न्याय जलेको छ।’

राईले आन्दोलनमा को सही र को गलत भन्ने विषयमा छानबिन किन नगरेको भन्दै प्रश्न गरिन्। विदेशी हस्तक्षेप र घुसपैठको चर्चा मात्र गरेर समस्याको समाधान नहुने उनको भनाइ थियो।

उनले भनिन्, ‘समिक्षा गर्न युवाहरु तयार हुने की नहुने ? आन्दोलनमा को सही को गलत किन छानविन गर्नुहुन्न ? विदेशी हस्तक्षेप भनिरहेका छौं, घुसपैठ भयो भनिरहेका छौं। तर यति मात्र भनेर हाम्रो घर बन्नेवाला छैन। यो परिवर्तनलाई आत्मसात गरौं। अहिले बहस नयाँ र पूरानो पार्टीमा छ। पूरानो पार्टीलाई ध्वस्त गर्ने, पूरानो पार्टीले केही काम गरेको छैन, लोकतन्त्र, गणतन्त्र, जनअधिकार, संविधान यस्ता जनअधिकारहरु कसले स्थापित गर्यो ? ’

साथै, उनले देशमा आएको परिवर्तनलाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याइन्। अहिलेको बहस नयाँ र पुराना पार्टीबीच केन्द्रित भएको उल्लेख गर्दै उनले पूराना पार्टीहरूले केही काम नगरेको भन्ने आरोपप्रति असहमति जनाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.