विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौं। आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो। महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ।
संयुक्त राष्ट्रसंघले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।
विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैंगिक असमानता रहँदै आएको छ। महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ।
लैङ्गिक समानता संयुक्त राष्ट्रसंघको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ। महिला तथा बालिकाहरूको सशक्तीकरण र लैङ्गिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि २०३० कार्यसूचीअन्तर्गतका सबै लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने उक्त विश्व संस्थाले बताउँदै आएको छ।
महिलासम्बन्धी राष्ट्रसंघीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो पचपन्नौँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाहरूको पहुँच र सहभागिता विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवद्र्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो।
त्यसैगरी, सन् २०१३ डिसेम्बर २० मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको बताएको थियो।
विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा प्रत्येक बालिकाले आफ्नो भविष्यको कल्पना गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने तथा प्रत्येक महिलाले आफ्नो वैज्ञानिक करियरमा निरन्तर प्रगति गर्न सक्ने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य जारी गर्दै विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।







डिसी नेपाल







Facebook Comment