मधेश सवैभन्दा संवेदनशील, सुरक्षाका लागि ‘विशेष निगरानी मोडल’
काठमाडौं। फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशमा सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। निर्वाचनलाई लक्षित गर्दै प्रदेशका आठै जिल्लामा एसएसपीको अनुगमन रहनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ।
केही जिल्लालाई ‘उच्च जोखिम क्षेत्र’ घोषणा गर्दै सामान्य मात्र नभई संवेदनशील क्षेत्र उच्च प्राथमितामा राखेको छ। राजनीतिक प्रतिस्पर्धा, दल परिवर्तन, प्रभावशाली नेताहरूको उम्मेदवारी, धार्मिक संवेदनशीलता र अघिल्ला निर्वाचनका अनुभवका कारण मधेस अहिले चुनावी दृष्टिले सबैभन्दा चासोको केन्द्र बनेको छ।
प्रदेशभर ३६ लाख ३६ हजारभन्दा बढी मतदाता मतदानको तयारीमा रहँदा सुरक्षा निकायले ‘कुनै पनि मूल्यमा अवाञ्छित गतिविधि हुन नदिने’ रणनीति अघि सारेको छ।
यही सन्दर्भमा नेपाल प्रहरीले एआइजीलाई केनद्रमा राखेर तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई विशेष सुरक्षा अनुगमन तथा समन्वयको जिम्मेवारी दिएर पठाएको छ । यस कदमलाई सुरक्षा विश्लेषकहरूले ‘विशेष निगरानी मोडेल’ को रूपमा लिएका छन्।
तीन एसएसपी
प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल, संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइराला र एसएसपी कमल थापालाई निर्वाचनपूर्व सुरक्षा अवस्था मूल्यांकनदेखि योजना निर्माणसम्मको जिम्मेवारी दिइएको छ। दाहालले सिरहा र सप्तरी, कोइरालाले बारा, पर्सा र रौतहट तथा थापाले धनुषा, महोत्तरी र सर्लाही सम्हाल्नेछन्।
‘सुरक्षा रेड जोन’ को संकेत भएकाले एसएसपीहरुलाई हाइकमाण्डको जिम्मेवारी दिएको हो। विशेषगरी सिरहा, सर्लाही, रौतहट र पर्सालाई बढी चुनौतीपूर्ण जिल्ला मानिएको छ। विगतका चुनावमा यहाँ भएका झडप, बुथ कब्जा प्रयास, राजनीतिक कार्यकर्ताबीचको द्वन्द्व र सीमावर्ती गतिविधिका कारण यी क्षेत्र सुरक्षाका हिसाबले सधैं संवेदनशील सूचीमा पर्ने गरेका छन्।
मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र छन्। तर तीमध्ये १ हजार २३७ मतदानस्थल ‘अति संवेदनशील’ र ७६३ ‘संवेदनशील’ को सूचीमा छन्। अर्थात् झन्डै आधाभन्दा बढी मतदानस्थल उच्च जोखिम श्रेणीमा पर्नुले सुरक्षा चुनौती रहेको छ।
‘अति संवेदनशील’ क्षेत्रहरूमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको संयुक्त निगरानी रहनेछ। ड्रोन निगरानी, मोबाइल पेट्रोलिङ, सादा पोसाकका प्रहरी परिचालन र सीमावर्ती नाकामा विशेष चेकजाँचको तयारी गरिएको सुरक्षा स्रोत बताउँछन्।
४० हजारभन्दा बढी सुरक्षाकर्मी
निर्वाचन सुरक्षाका लागि १२ हजार ६९२ जना नेपाल प्रहरी र २८ हजार २९५ जना निर्वाचन प्रहरी परिचालन हुने जानकारी मधेस प्रदेश प्रहरी कार्यालयले दिएको छ। मधेस प्रदेश राजनीतिक रूपमा अत्यधिक प्रतिस्पर्धी क्षेत्र भएकाले पनि सुरक्षाकर्मीहरुको अधिक परिचालन गरिएको छ।
साना-ठूला दल, क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारबीच कडा टक्कर देखिएको छ। दल परिवर्तनको लहर, प्रभावशाली नेताहरूको एकै क्षेत्रमा भिडन्त, जातीय र धार्मिक संवेदनशीलता तथा सीमावर्ती खुला आवागमनले सुरक्षा जोखिम थप बढाएको छ।
अघिल्ला निर्वाचनहरूमा देखिएका बुथ कब्जा प्रयास, मतपेटिका तोडफोड, झडप र अवरोधका घटनाले पनि सुरक्षा निकायलाई सजग बनाएको प्रहरीले जनाएको छ।
भारतसँग जोडिएका खुला सीमाका कारण मधेस प्रदेशमा निर्वाचनका बेला बाह्य प्रभाव, अवाञ्छित व्यक्तिको आवतजावत र गैरकानुनी गतिविधिको जोखिम रहने आकलन गरिएको छ।
सीमावर्ती नाकाहरूमा कडाइ गरिएको छ भने शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ। संवेदनशील क्षेत्रमा हतियार ओसारपसार, अवैध रकमको प्रयोग र मतदातालाई प्रभाव पार्ने गतिविधिमाथि विशेष निगरानी गरिने प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment