एनआरएनए विवाद: श्रेष्ठ नेतृत्वको समूहद्वारा महाधिवेशन बहिष्कारको सङ्केत, भौतिक निर्वाचनको माग

डिसी नेपाल
५ फागुन २०८२ १७:१४
4
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को श्रेष्ठ नेतृत्वको कार्यसमितिले मार्च १४-१६ मा हुने भनिएको महाधिवेशनमा सहभागी नहुने संकेत गरेको छ।

संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको पदाधिकारी बैठकले संघको बृहत् एकताका लागि पारदर्शी, कानुनसम्मत र आत्मसम्मानजनक प्रक्रिया हुनुपर्ने निष्कर्ष निकालेको हो। अनलाइन माध्यमबाट बसेको उक्त बैठकले एकताको नाममा आत्मसमर्पण स्वीकार्य नहुने स्पष्ट पारेको महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए।

बैठकले निर्वाचन प्रक्रियालाई शतप्रतिशत भौतिक बनाउनुपर्ने स्पष्ट अडान राखेको पनि उनले बताए। विगतको हाइब्रिड वा अनलाइन मतदान प्रक्रियामा धाँधली भएको भन्दै निर्वाचनको स्वच्छताका लागि भौतिक उपस्थिति अनिवार्य हुनुपर्नेमा बैठकमा जोड दिइएको थियो । परराष्ट्र मन्त्रालय हाइब्रिड निर्वाचनतर्फ झुकेको भन्दै बैठकमा असन्तुष्टि समेत व्यक्त गरिएको थियो।

यसैगरी आफूहरु एकता प्रकृया विरोधी नभएको निष्कर्ष निकाल्दै डेलिगेटहरूको न्यायोचित बाँडफाँड र सबै पक्षको बराबरी एवं सम्मानजनक सहभागिता हुनुपर्ने, सदस्यता शुल्कका आधारमा कसैलाई पनि वञ्चित गर्न नहुने र प्रक्रिया पारदर्शी हुनुपर्ने पनि महासचिव लामाले बताए।

गत मंसिर १४ मा सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको १० बुँदे सहमति अनुसार अहिलेसम्म पनि एमआइएस प्रणालीमा पहुँच नदिएकोमा बैठकमा आपत्ति जनाइएको थियो ।

यसैगरी बैठकले आफूहरुले गरेका माग सम्बोधन नभए, सहमति उल्लंघन भए वा एकलौटी निर्णय गर्ने क्रम जारी रहेमा स्टेयरिङ कमिटीमा पठाइएका प्रतिनिधिहरूलाई फिर्ता बोलाउने चेतावनी समेत दिएको छ।

अध्यक्ष श्रेष्ठले संघ अहिले ऐतिहासिक तर जटिल मोडमा रहेको बताउँदै बलियो र एकीकृत संस्थाले मात्र प्रवासी नेपालीको मताधिकार र समृद्ध नेपालका लागि योगदान पुर्‍याउन सक्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.