अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष
रौतहट। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन्। बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको बताएका हुन्।
नेता नेपालले यो पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारेका छन्। उनले आफ्नो अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए।
चुनाव नलड्ने घोषणासँगै उनले आफ्नो भविष्यका रुचिका बारेमा पनि जानकारी दिएका छन्। उनले अबको समय अध्ययन (पढ्ने), लेखन (लेख्ने), देश–विदेशको भ्रमण गर्ने र सामाजिक सेवाका कार्यहरूमा व्यतीत गर्ने योजना बनाएका छन्।
सोही अवसरमा उनले आफू विरुद्ध लगाइएको पतञ्जली जग्गा प्रकरणको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरे। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सिँध्याउने नियतले यस्तो षड्यन्त्र बुनेको आरोप लगाए। ओलीले आफूलाई मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत आफ्नो विरोध गर्ने अन्य दलहरूलाई पनि नछाडेको र संकुचित राजनीति गरिरहेको उनले टिप्पणी गरे।
माधव नेपाल हाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनी विरुद्ध विशेष अदालतमा पतञ्जली योगपीठको जग्गा सम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ।







डिसी नेपाल







Facebook Comment