भिडतन्त्रको खरानीबाट उठ्दै लोकतन्त्र

जितेन्द्र जिसी
१७ फागुन २०८२ १०:४९
300
Shares

प्रसिद्ध अङ्ग्रेजी उपन्यासकार चार्ल्स डिकेन्सले फ्रान्सेली राज्यक्रान्तिको पृष्ठभूमिमा लेखेको कालजयी उपन्यास ‘अ टेल अफ टु सिटिज’ (A Tale of Two Cities) को सुरुवात एउटा शक्तिशाली भनाइबाट हुन्छ-“त्यो सबैभन्दा उज्यालो समय थियो, त्यो सबैभन्दा अँध्यारो समय पनि थियो, त्यो बुद्धिको युग थियो, त्यो मूर्खताको युग पनि थियो।”

आज नेपालको राजनीतिक र सामाजिक परिदृश्य ठ्याक्कै डिकेन्सले चित्रण गरेको त्यही विरोधाभासपूर्ण चौबाटोमा उभिएको छ। एकातिर सामाजिक सञ्जालमा छताछुल्ल भएको आक्रोश र भिडतन्त्रको ‘मूर्खतापूर्ण युग’ छ भने, अर्कोतिर विधिको शासन, रूपान्तरित राजनीतिक दल र सुसंस्कृत नेतृत्वले डोहोर्‍याउन खोजेको ‘बुद्धिको युग’ छ।

जब समाजमा निराशा चुलिन्छ, तब मानिसहरूले विवेक गुमाउँछन्। नेपाली गाउँघरमा एउटा उखान छ-‘सौताको रिसले पोइको काखमा पिसाब फेर्ने।’ विगतको राजनीतिक ढिलासुस्ती, असफलता र सुशासनको अभावमा नागरिकमा चरम असन्तुष्टि थियो।

त्यही असन्तुष्टिको जगमा उभिएर गत भदौ २३ गते एभरेस्ट होटल अगाडिसम्म गरिएको सांकेतिक विरोध प्रदर्शन एउटा लोकतान्त्रिक अभ्यास नै थियो। तर, जब त्यो युद्ध युवा/नागरिक आक्रोशलाई राजनीतिक अभीष्ट पूरा गर्ने हतियार बनाइयो, देशले अकल्पनीय मूल्य चुकाउनुपर्‍यो।

भदौ २३ को पानी बाँड्ने बहानामा जसरी प्रायोजित भिडको घुसपैठ गराइयो र देशको सार्वभौम संसद्‌माथि हमला भयो, त्यो केवल एउटा भवनमाथिको आक्रमण थिएन, त्यो ८० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्रको मुटुमाथिको प्रहार थियो। स्थितिलाई नियोजित रूपमा अनियन्त्रित बनाउँदै देशका प्रमुख प्रशासनिक अङ्गहरूलाई खरानी बनाइयो। राज्यका निकायहरू जलाउन लगाइयो।

खरानी भएको राज्य र ‘जंगली राज’ को उदयको खतरा

काठमाडौं महानगरका मेयर बालेन शाहले कुनै समय सामाजिक सञ्जालमा अत्यन्तै निकृष्ट र गैरजिम्मेवार शैलीमा ‘सिंहदरबार जलाइदिने’ धम्की दिएका थिए। भदौ २४ मा जब सिंहदरबार र संसद् भवनको परिसरमा आगो दन्कियो, जब अदालतभित्र रहेका न्याय र प्रमाणका ठेलीहरू (मुद्दाका मिसिलहरू) हेरी-हेरी,छानिछानी जलाइए, तब त्यो ‘सिंहदरबार जलाउने’ भाष्यले कसरी सडकमा काम गर्‍यो भन्ने छर्लङ भयो। अदालतका मिसिलहरू किन जलाइए? किनभने त्यहाँ भ्रष्टाचारी, ठग र अपराधीहरूलाई कारबाही गर्ने प्रमाणहरू थिए।

भ्रष्टाचार नै भएको थियो भने त्यसको अनुसन्धान र तहकिकात गर्ने राज्यका निकायहरू थिए, नयाँ आयोगहरू बनाउन सकिन्थ्यो। तर, व्यवस्थाप्रतिको रिसको आवरणमा देशको अस्मिता र अर्बौं/खर्बौंको सम्पत्ति खरानी बनाउने छुट कसैलाई थिएन। र, ती र उनका मतियार अहिले खुलम खुल्ला राजनितिको ब्यानर भित्र कुर्लिदैछन्। ती नेपालका दुस्मन, नेपाली नै हुन्।

त्यसपछिको दृश्य झनै भयानक छ। आफूलाई ‘कानुनी राज र अदालतप्रति भरोसा छ’ भन्नेहरू नै नक्कली पत्र बनाउँदै जेल तोडेर निस्किए। अन्य कैदीहरूलाई भगाइयो। आज हामी कस्तो समाज निर्माण गर्दैछौँ, जहाँ आम मानिसको पसिनाको कमाइ ठगी गर्नेहरू धरौटीमा निस्किँदा फूलमाला लगाएर हात हल्लाउँदै ‘हिरो’ बनेर निस्किन्छन्? जेलबाट भाग्ने, कैदी भगाउने र अदालतले थुनेका मानिसहरू छुट्दा निर्लज्ज जयजयकार गर्ने यो नाटकले समाजलाई कहाँ पुर्‍याउँछ?

यही घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा ‘तटस्थ’ भनिएको आयोग बन्यो। तर विडम्बना, त्यसको आयु थपेर आजसम्म पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन। राज्य संयन्त्र र अदालतका दस्तावेज जलाउने र जलाउन दुरुत्साहन गर्ने व्यक्तिहरूका भिडियो र तस्बिरहरू छ्यापछ्याप्ती सार्वजनिक छन्।

तर राज्य किन मौन छ? यदि राज्यद्रोह गर्ने र दुरुत्साहन गर्ने त्यस्ता व्यक्तिहरू भोलि सांसद चुनिएर आए भने, र अदालतले उनीहरूलाई दोषी ठहर गर्दा पद खारेज भएर पुनः चुनाव गर्नुपर्ने अवस्था आयो भने, त्यो चुनावको खर्च कसले तिर्छ? के त्यो दण्ड गौरीबहादुर कार्की आयोग र त्यस्ता व्यक्तिलाई उम्मेदवार बनाउने दलहरूले तिर्छन् कि फेरि आम नागरिककै करको दोहन हुन्छ?

यो परिस्थितिले प्रस्ट पार्छ-यदि मत गलत चिह्नमा गयो भने देशमा अराजकता, विसङ्गति र मानिसलाई ‘रुखमा बाँधेर’ वा ‘खोरमा जाकेर’ शासन चलाउने जंगली राजको उदय हुने निश्चित छ।

बदलिएको कांग्रेस र गगनको हस्तक्षेप

यो संकटपूर्ण घडीमा देशलाई एउटा त्यस्तो राजनीतिक शक्तिको आवश्यकता थियो, जसले आफ्ना कमजोरीहरूलाई स्वीकार गरोस् र आफूलाई निर्मम रूपमा रूपान्तरण गरोस्। नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यो ऐतिहासिक आवश्यकतालाई गहिरोसँग बुझे। उनीहरूले ठम्याए-विगतका असफल अनुहार, पुरानै ढर्रा र परिणामविहीन नीति बोकेर अब जनताको सामु जान सकिँदैन।

एउटा जीवन्त लोकतान्त्रिक पार्टी कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै उनीहरूले पार्टीभित्रै वैचारिक विद्रोह गरे। विशेष महाधिवेशनको मार्गचित्र कोरेर पार्टीको नीति र नेतृत्व नै फेर्ने साहस देखाए र आज नयाँ अनुहार तथा नयाँ संकल्पका साथ चुनावमा होमिएका छन्।

गगन थापाले नेपाली राजनीतिको इतिहासमै एउटा सर्वाधिक साहसिक र चर्चित भनाइ राखेका थिए-“नेपाली कांग्रेस दास र लासहरूको पार्टी होइन।” यो भनाइ केवल एउटा नारा थिएन, यो पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने सञ्जीवनी थियो।

एमालेको संकट: हराएका मौन तस्बिर

कांग्रेसभित्रको यो लोकतान्त्रिक अभ्यासलाई हेरेर नेकपा एमालेभित्रका केपी ओलीका ‘भक्त’ र ‘दास’ हरूले गगन थापाको निकै उडाए, विरोध गरे। तर आज समयले कस्तो चक्र पूरा गरेको छ? आज चुनावको मुखमा ती ओली-भक्तहरू कता छन्? खोज्नुपर्ने बेला आएको छ।

जुन पार्टीले प्रश्न गर्न छोड्छ, त्यो पार्टी कसरी पतन हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण आजको नेकपा एमाले बनेको छ। ढीट बनेर बसेका, आफ्ना कमजोरी कहिल्यै नस्विकार्ने र सधैँ अहंकारको भाषा बोल्ने केपी ओली आज चुनावको बेला काठमाडौँ उपत्यका र झापा छोडेर अन्य जिल्ला निस्किन सकेका छैनन्। उनीमाथि भिडको त्रास छ, नागरिकको विरोधको डर छ। नागरिकले सोध्ने प्रश्नको जवाफ उनीसँग छैन।

अवस्था यतिसम्म दयनीय बनेको छ कि, एमालेकै उम्मेदवारहरूले मतदाता भड्किने डरले आफ्ना चुनावी प्रचार सामग्री र पोस्टरहरूबाट पार्टी अध्यक्ष केपी ओलीको तस्बिर हटाउन थालेका छन्।

विश्व राजनीतिमा जब कुनै नेताको अनुहार देखाएर भोट माग्न नसकिने अवस्था आउँछ, तब त्यो नेतृत्वको वैधानिक र नैतिक अवसान भएको मानिन्छ। बेलायतमा कन्जरभेटिभ पार्टीले बोरिस जोन्सन र लिज ट्रसको अनुहार लुकाउन खोज्दा जसरी ऐतिहासिक पराजय भोग्नुपर्‍यो, आज एमाले त्यही बाटोमा छ। गल्ती स्वीकार्न नसक्ने अहङ्कारी नेतृत्व र दासहरूको तालीले मात्र देश र दल बन्दैन भन्ने यो गतिलो शास्त्रीय प्रमाण हो।

‘इनसाइड द बंकर’ को मिडिया ट्रायल र ‘राजनेता’ गगन

चुनावको मुखैमा कान्तिपुर टेलिभिजनले ‘इनसाइड द बंकर’ नामक कार्यक्रममार्फत गगन थापामाथि नियोजित ‘मिडिया अट्याक’ गर्ने प्रयास गर्‍यो। त्यो कार्यक्रमको स्वरूप र प्रश्नहरूको प्रकृति हेर्दा प्रस्ट हुन्थ्यो-त्यहाँ देश बनाउने गम्भीर विमर्शको खोजी थिएन, बरु गगन थापालाई कमजोर बनाउने, विवादमा तान्ने र अल्लारे दर्शकहरूको ताली बटुल्ने नियत थियो।

सामाजिक सञ्जालको सतही छालमा पौडिरहेका कतिपय मानिसहरूले त्यहाँ गगन थापाबाट बालेन शाह, रवि लामिछाने वा यदाकदा केपी ओलीले जस्तै उरण्ठेउलो, तत्तातो र पपुलिस्ट जवाफको अपेक्षा गरेका थिए। ‘सबैलाई जेल हाल्छु, सबैलाई सिध्याउँछु’ जस्ता सस्तो ताली पिटाउने संवाद त्यहाँ खोजिएको थियो।

तर, एउटा परिपक्व, जिम्मेवार र देशको भावी प्रधानमन्त्रीको उचाइ बनाएको नेताले टेलिभिजनको स्टुडियोमा बसेर सडकछाप र गैरजिम्मेवार भाषा बोल्न मिल्दैनथ्यो, र गगनले बोलेनन्। उनले अत्यन्तै सन्तुलित, विधिको शासनलाई सम्मान गर्ने र बचेर जवाफ दिए।

त्यो टेलिभिजन स्टुडियोमा हुटिङ गर्नेहरूको भ्रमलाई गगन थापाले लगत्तै चुनावी आमसभाको मञ्चबाट भाषणमार्फत प्रस्ट पारिदिए। उनले स्पष्ट शब्दमा घोषणा गरे— “२०४६ सालपछिका सबै उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन हुनेछ। यो घर सफा राख्ने अभियानमा पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री बनेको गगन थापा आफैँ पनि छानबिनको दायरामा पर्नेछन्।”

यो सामान्य घोषणा थिएन। आफ्नै पार्टीको पूर्वप्रधानमन्त्री र आफू स्वयम्‌लाई छानबिनको कठघरामा उभ्याउने हिम्मत विश्व राजनीतिमा विरलै नेताहरूले राख्छन्। जब उनले यो घोषणा गरे, तब सञ्जालमा रुवाबासी गर्नेहरू, मिडिया ट्रायल गरेर फसाउन खोज्नेहरू र राज्यको दोहन गरेर मैमत्त बनेका भ्रष्ट चाकरहरूको धरातल नराम्ररी हल्लियो। यही संकल्पलाई मूर्तरूप दिँदै नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमै स्पष्ट अक्षरमा लेखेको छ-“भ्रष्टाचारको अन्त्यः कांग्रेसको गन्तव्य।”

नेतृत्वको मानक: विश्वव्यापी दृष्टान्त र निर्विकल्प गगन

इतिहास साक्षी छ, जब देश संकटमा पर्छ, तब सस्तो लोकप्रियता र उत्तेजनाले होइन, सुझबुझपूर्ण निर्णय र रचनात्मक रणनीतिले मात्र देशको उद्धार गर्छ। दोस्रो विश्वयुद्धपछिको बेलायतलाई हेरौँ। विन्स्टन चर्चिल जस्ता युद्ध जिताउने ‘हिरो’ लाई बेलायती जनताले चुनाव हराइदिए र क्लेमेन्ट एट्ली जस्ता शान्त, सन्तुलित र नीति-निर्माणमा अब्बल नेतालाई सत्ता सुम्पे। किनभने, युद्ध लड्न र भत्काउन काम लाग्ने ‘आवेग’ देश निर्माण गर्न काम लाग्दैनथ्यो। देश बनाउन एट्लीको जस्तै ‘सिस्टम’ र ‘स्ट्राटेजी’ (Strategy) चाहिन्थ्यो।

ल्याटिन अमेरिकी देशहरू (जस्तै: भेनेजुएला र अर्जेन्टिना) ले भिडको ताली र सामाजिक सञ्जालको लाइकलाई हेरेर पपुलिस्ट नेताहरूलाई सत्ता सुम्पिँदा आज ती देशहरू दशकौँ पछाडि धकेलिएका छन्। भिडले जहिले पनि तत्कालको ‘रियाक्सन’ खोज्छ, तर एउटा राजनेताले आगामी पुस्ताको ‘भिजन’,र गन्तब्य हेर्छ।

आज नेपालमा गगन थापा त्यही ‘भिजन’ भएका निर्विकल्प नेताको रूपमा उदाएका छन्। उनीसँग केवल मीठो बोल्ने कला मात्र छैन, उनीसँग तथ्यांक, धरातलीय यथार्थ र देशलाई ‘राइट ट्र्याक’मा ल्याउने स्पष्ट नीति र विधि छ। उनी भिडको तालीका लागि गलतलाई सही भन्ने कायरता देखाउँदैनन्। जो गलतलाई गलत र सहीलाई सही भन्ने हिम्मत राख्छ, असल नेता त्यही हो। बाँकी सबै या त भिडका दास हुन्, या शक्तिका चाकर।

फैसलाको ऐतिहासिक घडी

लोकतन्त्र भनेको केवल भोट हाल्ने अधिकार मात्र होइन, यो सही र गलत छुट्याउने विवेकको परीक्षण पनि हो। आज हामीसँग दुईवटा स्पष्ट बाटाहरू छन्।

एउटा बाटो हो-ठगी गरेर हिरो बन्ने, अदालत र संसद् जलाउनेलाई माला लगाउने, मानिसलाई रुखमा बाँधेर मध्ययुगीन बर्बरता लाद्ने र देशलाई प्रयोगको प्रयोगशाला बनाएर अनन्त अस्थिरतातर्फ धकेल्ने बाटो।

अर्को बाटो हो-नीति, थिति र विधिको बाटो। आफ्नै पार्टीभित्र विद्रोह गरेर रूपान्तरणको जग बसाल्ने, कानुनहरू संशोधन गरेर देशको पूर्वाधार र अर्थतन्त्रलाई गति दिने, र “हामी राजनीति होइन, समाधान गर्छौं” भन्ने ‘टिम नेपाल’ को बाटो।

अब सामाजिक सञ्जालका ‘लाइक’ र ‘भ्युज’ हेरेर होइन, समाजका मुद्दा र आम नागरिकको अनुहारमा देखिएको पीडालाई सम्बोधन गर्न सक्ने गगन थापा जस्ता भिजनरी  नेतालाई देशको नेतृत्व सुम्पिनुबाट नागरिक चुक्नु हुँदैन। देशको समृद्धि र स्थायित्व खोज्ने हो भने, यो ‘बदलिएको कांग्रेस’ र गगन थापालाई रोज्ने अन्तिम र सबैभन्दा सही समय हो। अन्यथा, गलत बाटो हिँडेका, अराजकताको आगो ताप्ने र गलत मनसुबा राखेका मानिसहरूको हातमा देश गयो भने, हाम्रा भावी पुस्ताले हामीलाई कहिल्यै माफ गर्ने छैनन्।

देशलाई खरानी हुनबाट जोगाउने कि भिडतन्त्रको आगोमा होम्ने? फैसला तपाईंको हातमा छ। मतदानको यो पवित्र अधिकारले गगन थापाको नेतृत्वमा एउटा सभ्य, भव्य र समुन्नत नेपालको ढोका खोल्न सकोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.