यस वर्षको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्रा.डा.आचार्यलाई प्रदान गरिने

डिसी नेपाल
३ चैत २०८२ १८:४७
16
Shares

काठमाडाैं। २०८२ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति, परराष्ट्र, अन्तर्राष्ट्रिय मामलाविज्ञ तथा दीर्घ शिक्षासेवी प्रा. डा. जयराज आचार्यलाई अर्पण गरिने भएको छ। फागुन ३० गते बसेको दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल रहेको प्रतिभा चयन उपसमितिको सिफारिसका आधारमा सो निर्णय गरिएको हो।

वि.सं. २०६२ सालमा स्थापित यस दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले आफनो स्थापना कालदेखि बिभिन्न सामाजिक काम गर्नुका साथै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुऱ्याउने इतिहासज्ञ ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य, ज्योतिषज्ञ तथा इतिहासकार दिनेशराज पन्त, साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा .सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा. सुरेन्द्र केसीलगायतका डेढ दर्जनभन्दा बढी विद्वत् प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ। पुरस्कारको राशि पचास हजार रुपैयाँ र अभिनन्दन पत्रका साथ आगामी चैत्र १३ गते काठमाडौंमा उक्त पुरस्कार आचार्यलाई अर्पण गरिने छ।

गोरखामा वि.सं १९६३ मा जन्मिएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए भने नन्दकुमारी उनकी धर्मपत्नी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.