लघुकथा : पुस्ता
“आमा आमा! बुवाले किन जनैमा साँचो राख्नुहुन्छ।” खेलिरहेको छोराले अचानक सोध्यो।
उनले, “आफ्नो चिज मदुसमा सुरक्षित अनि गोप्य रहोस् भनेर हो रे क्या!” छोराको मुहारमा दृष्टि घुमाउँदै उसको उत्सुकता मेटाइन्।
“के छ र त्यस्तो, हामीले हेर्नु हुँदैन? मैले त अहिलेसम्म देखेको छैन?” उसले अनभिज्ञता जनायो।
“किन धेरै चाँसो लिनु परेको होला? आफैं सोधे भैगो नि!” उनले झिझिएको स्वरले थपिन्।
“आज मकै छर्ने भनेको खोई, मेसो मिल्ला जस्तो छैन? म बेँसी झरेर बिउ, मलको जोहो गर्छु अनि दिउँसोतिर मिलाउँनु पर्ला।” उनले बुढीलाई समस्या बताए।
उनले, “हुन्छ तर छिट्टै आउनुहोस् है!” भन्दै सहमति दिइन्।
छोराले बुवाको छेउमा आएर भन्यो, “हजुरको सन्दुक खोलेर हेरौँ न। के-के रहेछ, त्यसको साँचो हो, जनैमा राखेको?” उसले जिज्ञासा राख्यो।
“त्यसमा पुर्खैली चिज छन्, हजुरबा, जिजुबाजेका पालादेखिको नासो छ। मेरो बालापनका यादहरू समेटिएका छन्।” उनले कोमल भावले सुम्सुम्याउँदै सम्झाए।
उसले, ” साँचो हराउला, मलाई पनि दिनु मनि जनैमा राखूँला। जतन गर्नुपर्छ के?” उसले जिम्मेवारी देखायो।
आमा मुसुक्क हाँस्दै छनक कसिन्, “पुस्ता हस्तान्तरण भनेको यहीं होला,बाउको बिँडो छोराले थाम्नु, पारा उहीँ तर शैली फरक!”
लघुकथा : ताजा खबर
“ताजा खबर! ताजा खबर!” साइकलको घन्टी बजाउँदै पत्रिका बेच्ने युवकले बिहानै बिहानै आवाज गर्याे।
उसले टेबलमा पत्रिका छोड्यो अनि कराउँदै बाटो लाग्यो। फेरि भन्दै थियो, ” पढ्नुहोस्, ताजा खबर! ताजा खबर!! आजको ताजा खबर!!!”
बुढाले कौसीमा बसेर अखबारमा नजर डुलाउँदै थिए। उनी भन्दै थिए “कहाँ कहाँ, के-के भएछ? केछ आजको ताजा खबर?”
बुढीले चिया लिएर गइन् र उनको नजिकै बसेर भन्दै थिइन्, “आजको ताजा खबर सुनाउनुहोस् त! के-के रहेछ?” उनी गहन भएर सुनिन्।
उनले पहिला सरसर्ती हेंडिङ पढे। कहीँ थियो, ” बलात्कारका घटना, बेवारिसे शवको घटना त कहीँ नेताका कुरा, पर्यापर्यटन लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय घटना, खेलकुदका खबरले भरिएको हेडलाईन पढेर सुनाए।”
उनी चाखलाग्दा शीर्षकभित्र छिरे। खल्तीबाट चस्मा झिके, पुछेर लगाए अनि पढ्न थाले। एउटा घटनाले ध्यान खिँच्यो, लगातार केही दिनदेखि मुख्य शीर्षकमा आएको थियो। “अब के होला देशमा अनि भावी प्रधानमन्त्री को बन्ला?” उनी पढ्दै थिए।
त्यतिकैमा बुढीले दुर्बोध भावले बोलिन्, “बासी खबर तर आज ताजा भन्दै फेरि छापिएछ, देशको काँचुली फेर्न सक्ने नेतृत्व आए खबर साँच्चै ताजा हुने थियो।” उनी दृढताले बोलिन्।
लघुकथा : प्रयोग
“सामाजिल सञ्जाल चलाउँनु को उद्देश्य के?” ऊ झर्किएर बोल्यो।
फेरि तातो न छारो काम छैन। मान्छेले आफ्नो आक्रोश, निन्दा अनि टिकाटिप्पणी पोख्ने ठाउँ बनेको छ। नाता सम्बन्ध साँगुरियो, भाइचारा हरायो, अपनत्वको भाव खोई? ऊ फेरि जङ्गियो।
मैले भनेँ, ” होइन, सुविधा पनि त भएको छ। देश विदेशका घटनाको जानकारी, खबरको आदानप्रदान, मान्छे भौतिक रूपमा नभेटेनि सञ्जालले नजिक बनाएको छ।” मैले नम्रता देखाउँदै भनें।
ऊ शान्त रहन सकेन। उसले छेड कस्यो, ” यो पनि एउटा नशा नै रहेछ क्यार! मान्छे यसैमा झुन्डिएका छन्, कसैको अत्तोपत्तो छैन, संसार नै यसैमा छ जस्तो, कस्तो अचम्म?” ऊ उदेक स्वरमा बोल्यो।
फेरि गनगन गर्याे, “सञ्जाल, प्रविधि हुनु भन्दा अगाडिको दुनियाँ छुट्टै थियो। मान्छे काममा भुल्थे, अल्लोघर पल्लोघर, मेलापात, ऐँचोपैँचो, बोलीचाली अनि त्यो आत्मियता, आहा! कस्तो अनौठो?” उसले विगत सम्झँदै खिन्नता देखायो।
मैले शब्दले सम्झाउने हरतरहले प्रयास गरेँ, “प्रविधि अहिलेको पुस्ताको आवश्यकता हो। पुरातन विचार आत्मसात् गर्दै नयाँपन दिनु, सही तरिकाले चलाउँदा जीवन परिवर्तन पनि त भएको छ।” उसको मुहार पुलुक्क हेरेँ।
उसले जिव्रो लोप्राउँदै मान्न तयार भएन, “मान्छेले आफ्नो कान नछामी कागका पछाडि दैडिएका छन् । विवेक हराएको छ, मिथ्याको झुन्ड बनेको छ।” उसले तर्क राख्यो।
म विचारशील हुँदै बोले,” नाँच्न नजान्ने आँगन टेढो प्रविधिको सही प्रयोगले विश्वले इतिहास रचिसक्यो, हामी चाहिँ विचार भुँईमान्छेको राखेर परिवर्तन खोज्ने, के सम्भव होला?” म बनाबटी मुस्कान देखाउँदै कुरा बिट मारेँ।















Facebook Comment