नवनियुक्त पर्यटनमन्त्री पौडेलद्वारा पदबहालीः ‘समृद्धिको खाका मन्त्रालयबाट सुरु हुन्छ’
काठमाडौँ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज पदबहाली गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले कार्यभार सम्हालेका हुन्।
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए।
पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुक समृद्धिको खाका यहीँ मन्त्रालयबाट सुरु हुने बताए । उनले भने, “पर्यटन मन्त्रालय मेरो रुचिको तर चुनौतीपूर्ण मन्त्रालय हो । म आफैँ लेखक र पदयात्री (ट्रेकर) भएकाले यस क्षेत्रका समस्यासँग परिचित छु । अब हामीले जनहितलार्ए केन्द्रमा राखेर मुलुकको समृद्धिका क्षेत्रमा गति बढाउनुपर्छ ।”
उनले मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्दै नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस)पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारे । साथै, हरेक धर्मसँग जोडिएका पदमार्गको विकास गर्ने योजना आफूसँग रहेको उनले जानकारी दिए ।
मन्त्री पौडेलले आगामी पाँच वर्ष देशका लागि सहकार्य र समन्वयमार्फत काम गर्न कर्मचारीलाई आग्रह गरे । “म कुनै प्रलोभनमा पर्ने छैन, सबै निर्णय सामूहिक र एकताबद्ध हुनेछन्”, उनले स्पष्ट पारे, “कामको मूल्याङ्कन योग्यता ९मेरिटोक्रेसी०का आधारमा हुनेछ । हामीले कर्मचारीजस्तो मात्र भएर होइन, देश निर्माणको अभियन्ता बनेर काम गर्नुपर्छ ।”
मन्त्री पौडेलका मुख्य प्राथमिकताका क्षेत्र
मन्त्री पौडेलले पदबहालीका क्रममा आफ्ना मुख्य प्राथमिकताका क्षेका बारेमा कर्मचारीलाई जानकारी दिए । “एयर कनेक्टिभिटीअन्तर्गत हवाई सम्पर्कको विस्तार र नेपाल वायुसेवा निगमको जहाज थप्ने कार्यलाई तीव्रता दिइने छ । नीतिगत सुधारतर्फ पर्यटन बोर्डको पुनर्संरचना र निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनेछ”, उनले भने ।
पूर्वाधार विकासका क्षेत्रमा पर्यटन पूर्वाधारमा लगानी बढाउने र सम्पदाहरूको महत्वलाई दृश्य माध्यमबाट प्रवर्द्धन गर्ने तथा मन्त्रालय र मातहतका निकायको काममा पारदर्शिता कायम गर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयको वर्तमान अवस्था, नीतिगत संरचना र आगामी योजनाबारे संक्षिप्त जानकारी गराएका थिए।







डिसी नेपाल







Facebook Comment