कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको १०० बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन्।
आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य कार्यव्यस्तताका कारण उक्त कार्यसूची अध्ययन गर्न नभ्याएको उल्लेख गरे।
उनले भने, ‘अरु कार्यव्यस्तताले गर्दा सरकारको १०० बुँदे कार्यहरु हेर्नै पाएको छैन। हेरेपछि भनौंला।’
साथै उनले सम्पत्ति छानबिनको विषय आफूहरूले पहिल्यै उठाएको स्मरण गराउँदै प्रतिनिधिसभाको बैठकमै सबैको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेको बताए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले कुनै पनि विषयमा राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘सम्पत्ति छानविनको कुरा हामीले भनेकै कुरा हो। पहिले नै प्रतिनिधिसभाको बैठकमा भनेको थिए सबैको सम्पत्ति छानबिन होस् भनेर। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा कहिँकतै राजनीतिक पूर्वाग्रह नहोस्, निष्पक्षता कामय होस् र स्वतन्त्र ढंगले होस् भन्ने कुरा भनिसकेका छौं।’







डिसी नेपाल







Facebook Comment